कीर्तिपुर अस्पतालमा ’डेडिकेटेड बर्न अस्पताल’ निर्माणमा चौधरी ग्रुपको सहयोग « Arthapath.com
१८ माघ २०८१, शुक्रबार

कीर्तिपुर अस्पतालमा ’डेडिकेटेड बर्न अस्पताल’ निर्माणमा चौधरी ग्रुपको सहयोग



काठमाडौं । कीर्तिपुर अस्पतालमा रहेको बर्न सेन्टरलाई देशकै जलन उपचारको प्रमुख अस्पतालका रुपमा विस्तार गर्ने सरकारको योजनामा चौधरी ग्रुपले सहकार्य गर्ने भएको छ । 

बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी, सांसद चन्द्र भण्डारी, कीर्तिपुर अस्पतालका प्रतिनिधि, वर्न सेन्टरका चिकित्सकसहित सरोकारवालासँगको बैठक बसिएको थियो । बैठकमा जलन उपचारको डेडिकेटेड अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तर्गत चौधरी ग्रुपसँगको सहकार्यमा पहिलो चरणको काम अगाडि बढाउने समझदारी भएको हो ।

कीर्तिपुर नगरपालिका र फेक्ट नेपालद्वारा संयुक्त रुपमा सञ्चालित कीर्तिपुर अस्पतालमा चौधरी ग्रुपको सहयोगमा बर्न अस्पताल निर्माण कार्य अगाडि बढ्ने भएको हो ।

मन्त्री पौडेलले मुलुकमा विशिष्टिकृत सेवासहितको जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा चौधरी ग्रुपसँगको सहकार्य महत्वपूर्ण हुने बताए । उनले भने, ‘माननीय विनोद चौधरीज्यूले जसरी डेडिकेटेड बर्न सेन्टर निर्माणका लागि चासो राख्नुभयो र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो, यसले सरकारको लक्ष्य प्राप्तिमा ठूलो सहयोग पुगेको छ ।’

उनले चौधरी ग्रुपसँगको सहकार्यमा कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको जलन अस्पताल निर्माण हुने विश्वास व्यक्त गरे । कीर्तिपुरलाई जलन उपचारमा देशकै विशिष्टिकृत अस्पताल बनाउने र बाँकी ६ वटा प्रदेशमा रहेका जलन वार्ड विस्तार कार्य पनि सँगैसंगै भइरहेको मन्त्री पौडेलले जनाए ।

सांसद चौधरीले नेपालमा सुविधासम्पन्न जलन उपचार केन्द्रको अभाव भएकाले आफूले यसलाई प्राथमिकतामा राखेको बताए । कांग्रेस नेता चन्द्र भण्डारीसँगको कुराकानीपछि नेपालमा विशिष्टकृत सुविधासहितको जलन अस्पताल स्थापना गर्ने लक्ष्य लिएको सांसद चौधरीले बताए ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगलागी हुँदा कांग्रेस सांसद भण्डारी गम्भीर घाइते भएका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनको भारतमा उपचार भएको थियो । सांसद भण्डारीले नेपालमा डेडिकेटेड जलन अस्पताल निर्माणका लागि सरकारसँग माग गर्दै आएका छन् ।

अघिल्लो वर्ष सरकारले कीर्तिपुरको बर्न अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्रका रुपमा विस्तार गर्ने घोषणा गरेपनि काम अगाडि बढ्न सकेको थिएन ।

स्वास्थ्यमन्त्रालयसँगको समन्वयमा चौधरी ग्रुपले राष्ट्रिय जलन उपचार केन्द्र निर्माणका लागि सहयोग गर्न लागेको हो ।

सांसद चौधरीले सरकारसँगको समन्वयनमा केन्द्रको भवन निर्माणका लागि छिट्टै काम सुरु गरिने जानकारी दिए । फेक्ट नेपालका अध्यक्ष डा भरत प्रधानसहित उपस्थित छलफलमा चौधरी फाउण्डेसनले बर्न अस्पताल निर्माणबारे आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्