फ्लाईओभर र नागढुंगा सुरुङ दुबै अन्तिम चरणमा, ठुला योजना सम्पन्न गराउन ताकेता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललले मन्त्रालय मार्फत शुरु भएको काठमाडौका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाएका छन् ।
संघीय राजधानी भित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उनले छिटो सम्पन्न गर्न निर्देशन समेत दिए ।
मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्व सहित मन्त्री दहालले आईतबार विभिन्न पूर्वाधार योजनाहरुको निरीक्षण गरेका हुन् ।
उनले सहित मन्त्रालयको टोलीले ग्वार्को तथा थानकोटमा निर्माणाधिन फ्लाईओभर र नागढुंगा सुरुङ निरीक्षण गरेको हो ।

मन्त्री दाहालको निरीक्षण क्रम बिहान ग्वार्को फ्लाईओभरबाट शुरु भई नागढुंगा सुरुङ सम्म पुगेको थियो । ग्वार्को फ्लाईओभर निरीक्षणका क्रममा मन्त्री दाहालले सो योजना जेठ महिना भित्रमा निर्माण पूरा हुने बताए ।
निर्माण पूरा भए लगत्तै त्यहिबाट सवारी साधन सञ्चालन शुरु हुने समेत उनले जानकारी गराए । सो योजना पूरा हुन निर्धारित समय भन्दा ढिला भई सकेको उल्लेख गर्दै यसै महिना भित्र पूरा गरि सवारी साधन सञ्चालन हुने अवस्थामा पु¥याउन निर्देशन दिए ।
ग्वार्को फ्लाईओभरको निरीक्षण पछि मन्त्री दाहालले काठमाडौ प्रवेश गर्ने प्रमुखद्वार मध्येको थानकोट पुगेका थिए । फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौ भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने विश्वास गरे ।
हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भईरहेको छ ।
त्यस लगत्तै मन्त्री दाहालले नागढुंगा सुरुङ मार्गको समेत निरीक्षण गरे । निरीक्षणका क्रममा मन्त्री दाहालले सो सुरुङ मार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङ्युगमा प्रवेश गर्ने बताए ।
सुरुङको मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भईरहेको छ । मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गरिने बताए ।