विकास आयोजना संख्यामा व्यापक कटौती, ३ करोड भन्दा साना आयोजना बजेटबाट हटाइयो

काठमाडौं । सरकारले विकास आयोजनाको संख्या व्यापाक रुपमा घटाएको छ । गत वर्षको तुलनामा यस्ता आयोजनाको संख्या साढे ४ हजार घटाइएको हो ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विकास आयोजनाको संख्या गत वर्षको भन्दा ४ हजार ६५४ वटाले घटाइएको हो । आयोजना व्यवस्थापनलाई छरितो बनाइएको उनले बताए ।
सरकारले यस वर्ष ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने भएको छ । सोही अनुसार आयोजनाका संख्या घटाइएको अर्थमन्त्री पौडेलले बताए ।
उनले भने, विकास आयोजनाको संख्या ४ हजार ६५४ ले घटाइएको छ । सरकारले कार्यान्वयन गर्ने पूर्वाधारका नयाँ आयोजनामा ३ करोड भन्दा कम विनियोजन नगर्ने मापदण्ड कार्यान्वयन गरेको छु ।’
यसबाट राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाई छ । आयोजना कार्यान्वयन प्रभावकारी हुने मन्त्री पौडेलको अपेक्षा छ । बजेट कार्यान्वयन क्षमतामा सुधारगरि पुँजीगत खर्च बढाउन विषयगत मन्त्रालयलाई थप जिम्मेवार बनाईने उनको भनाई छ ।