दुई वर्षको मन्दीपछि उद्योग र निर्माण क्षेत्र फेरि उठ्दैछन् ? « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

दुई वर्षको मन्दीपछि उद्योग र निर्माण क्षेत्र फेरि उठ्दैछन् ?



काठमाडौं । लामो समयदेखि सुस्ताएको उद्योग तथा निर्माण क्षेत्रले पुनःउत्थानको संकेत देखाएको छ । उत्पादनमूलक उद्योगको वृद्धिदर सकारात्मक मोडमा फर्किएको छ ।

यता, निर्माण क्षेत्रमा पनि हराउँदै गएको लय फेरि फर्कन थालेको देखिन्छ । यी दुवै क्षेत्रको सुधारले चालु आर्थिक वर्षमा नेपालको समग्र आर्थिक गतिविधिमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ ।

अर्थमन्त्रालयले हालै प्रकाशन गरेको आर्थिक सर्वेक्षण २०८१–८२ ले यस्तो देखाएको हो । उद्योग र निर्माण क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहने गरेका छन् । उत्पादनले रोजगारी सिर्जना गर्छ भने निर्माणले पूर्वाधार विकासमार्फत दीर्घकालीन समृद्धिको आधार बनाउँछ ।

हाल देखिएको सुधारले साना तथा ठूला उद्योगहरूमा लगानीको वातावरण निर्माण गर्दैछ । साथै, निर्माणको पुनःउभारले निजी तथा सरकारी ठेक्का कार्यहरूमा पुनः गति ल्याउनेछ ।

विगत दुई आर्थिक वर्षमा निरन्तर ऋणात्मक वृद्धिदर भोग्दै आएको उत्पादनमूलक उद्योग क्षेत्र यस वर्ष ३.७८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । यो उल्लेखनीय पुनरागमन हो ।

वनस्पति तेल, प्लाईउड, प्लास्टिक पाइप फिटिङ्ग, पेय पदार्थ, साबुन जस्ता दैनिक उपभोग्य वस्तुको उत्पादनमा देखिएको उल्लेखनीय वृद्धिले उद्योग क्षेत्रमा सुधार ल्याएको हो ।

भटमासको कच्चा तेल, फलामे रड, जस्तापाता तथा कोइलाजस्ता कच्चा पदार्थको आयातमा वृद्धि हुनु र उत्पादित वस्तुको माग बढ्नु यस सुधारको मुख्य आधार बनेका छन् ।

गत वर्ष यो क्षेत्रको उत्पादन २.०२ प्रतिशत ऋणात्मक थियो । तर, चालु आवमा भने यसको योगदान समग्र जीडीपीमा ४.९८ प्रतिशत पुग्ने अनुमान छ, जुन गत वर्षको ४.९३ प्रतिशतभन्दा माथि हो । पछिल्लो दशकको औसत वृद्धिदर २.९४ प्रतिशत रहेको पृष्ठभूमिमा चालु वर्षको वृद्धि दर उत्साहजनक मानिन्छ ।

निर्माण क्षेत्र विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदरमा चलिरहेको थियो । तर, चालु आर्थिक वर्षमा २.२१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । यो अनुमान गरिरहँदा निर्माण क्षेत्र फेरि गति लिएको देखिन्छ ।

निर्माण सामग्रीको आयात तथा आन्तरिक उत्पादनमा वृद्धि हुनु, भौतिक पूर्वाधारमा केन्द्रित लगानीले यस क्षेत्रलाई गति दिएको हो । यद्यपि समग्र जीडीपीमा यस क्षेत्रको योगदान भने अलिकति घटेर ५.२४ प्रतिशत हुने अनुमान छ । गत वर्ष ५.४० प्रतिशत थियो । अहिले निर्माण क्षेत्रको पुनःस्थापनाको प्रक्रिया अघि बढेको छ ।


प्रतिक्रिया दिनुहोस्