रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल

काठमाडौं । दक्षिण कोरीया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्वन्धिको छलफललाई संवोधन गरेका छन् ।
मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गरेका हुन् ।
मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधी मण्डलसँग त्यहाँका उच्च अधिकारीहरुले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए ।
यसअघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी वोर्डका अधिकारीहरु विच समेत नेपालमा रेल सेवाको विकास र अध्यननका बारेमा छलफल भएको थियो ।
उक्त छलफल पश्चात भएका समझदारीहरुका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिए ।
यस्तै भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरुसँग भेटमा आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।
यस्तै मन्त्री दाहालसँग त्यहाँ रहेको नेपाली समुदायका प्रतिनिधीहरुले पनि छलफल गरेका छन् ।