वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर साउन भित्रै आह्वान गरिने « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर साउन भित्रै आह्वान गरिने



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताए ।

सोमबार खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गरिने बताए ।

उनले भने,‘एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ वटा आयोजनामध्ये, पहिलो चरणमा कम्तिमा छ वटा आयोजनाहरूको तत्काल सुरुवात गर्ने गरी काम अघि बढाउने छौँ । यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।’

खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिका लगायत सबै सरोकारवालाहरुकोे साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

छलफलले सकारात्मक परिणाम स्वरूप, आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिकामा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

आजको उक्त छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्