८० लाखमा बन्यो स्वास्थ्य केन्द्र, अब आफ्नै भवनबाट सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १७ को स्वास्थ्य प्रवर्धन केन्द्रका लागि निर्माण गरिएको भवनको आज उद्घाटन गरिएको छ ।
महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले आज एक कार्यक्रमबिच शिलापत्र अनावरण गरेर भवन उद्घाटन गर्नुभएको हो ।
भवन ‘स्वास्थ्य प्रवर्धन केन्द्र तथा भवन निर्माण तथा सामुदायिक पुस्तकालय उपभोक्ता समिति’ले निर्माण गरेको हो ।
त्यस अवसरमा प्रवक्ताको रोहवरमा समितिका अध्यक्ष उर्मिला कनौजिया (मगिया) ले भवनको साँचो वडा सदस्य जितेन्द्र खड्गीलाई हस्तान्तरण गर्नुभएको थियो । यस्तै खड्गीले प्रवर्धन केन्द्रका इञ्जार्ज सरस्वती पनेरुलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रवक्ता मानन्धरले, जनप्रतिनिधिको सेवाप्रति समान दृष्टि रहेको र स्थानीयबासीले अपनत्व ग्रहण गरेको बताए ।
साझेदारबिच नजिक समन्वय भएकोले भवन निर्माण सम्भव भएको उनले उल्लेख गरे । विकासमा स्थानीयबासीको सहभागिता अपरिहार्य हुने धारणा राखे ।
पछिल्लो समय मानव स्वास्थ्यमा देखिएका रोगहरुको उपचार पद्धतिको जटिलतामा कुरा गर्दै मानन्धरले भने,‘जीवनभर कमाएको पैसाले उपचार गर्दा पनि निको बनाउन नसकिने अवस्था आउन दिनु हुँदैन । यसका लागि आज स्वास्थ्यप्रति सचेत भएर निदानात्मक उपाय अबलम्बन गर्नु पर्छ । यो स्वास्थ्य शिक्षा क्षेत्रको कार्यक्रम हो । सावधानी अपनाउँदा अपनाउँदै उपचारमा जानु पर्ने अवस्थामा सहज, सरल र सुपथ सेवा प्राप्त गर्नुपर्छ । यी दुवै लक्ष्य प्राप्त गर्ने क्रियाकलाप केन्द्रबाट सञ्चालन हुनेछन् ।’
‘नागरिकले तिरेको राजस्वको उपयोग भएको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले बताए । उभनले भने,‘भाडाका भवनबाट सेवा सञ्चालन गर्नुपर्दा करदाताको पैसा वहालमा खर्च भएको थियो । अब आफ्नै भवन भयो । यसपछि वहाल तिर्ने रकम गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा वितरणमा खर्च हुनेछ ।’
अल्ट्रासाउण्ड र एक्स रे सेवा थप गर्न सके विशेषज्ञ स्वास्थ्य सेवाका लागि अन्यत्र जानु नपर्ने छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए ।
उपभोक्ता समितिका अध्यक्ष उर्मिला कनौजियाले वडाले योजना कार्यान्वयनमा स्थानीय सहभागितालाई प्राथमिकता दिएपछि स्थानीयबासीहरुमा उत्साह भएको उल्लेख गरे ।
सेवा प्रवाहमा स्थानीयबासीको पहुँच बढाउन उपभोक्ता समितिले योगदान गर्ने उनको भनाइ थियो ।
प्रवर्धन केन्द्रका इञ्चार्ज सरस्वती पनेरुका अनुसार भवनको भुइँ तलामा ओपीडी, फिजियोथेरापी, डट्स र खोप कार्यक्रम सञ्चालन हुनेछ । भवनको पहिलो तलामा प्रयोगशाला, औषधी वितरण कक्ष र कर्मचारी कक्ष हुनेछ । दोस्रो तलामा २ सय जना व्यक्ति अट्ने सभा कक्ष छ । यसलाई वहुउद्देश्यीय कक्षका रुपमा प्रयोगमा ल्याइनेछ ।
महानगरपालिकाको गौरव योजना ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ कार्यक्रमबाट भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि २०८१ माघ १० गते स्वास्थ्य विभाग र उपभोक्ता समितिबिच सम्झौता भएको थियो । २०८२ वैशाख मसान्तमा निर्माण सम्पन्न भएको भवनको लागत करिब ८० लाख रुपैयाँ हो ।