बीमा कम्पनीले ‘कोर एप्लिकेसन सफ्टवेयर’ अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

बीमा कम्पनीले ‘कोर एप्लिकेसन सफ्टवेयर’ अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने



काठमाडौं । पुरानो मिति राखेर बीमा कम्पनीले पोलिसी जारी गर्ने प्रवृत्तिमा कडाइ गर्दै बीमा समितिले ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी गरेको छ । बीमा कम्पनीले आफ्नो ठूलो कारोबार देखाउन र बिमितलाई छिटो कर्जा प्रदान गर्न पुरानो मिति राखेर पोलिसी जारी गर्ने चलनले विकराल रूप लिन थालेपछि समितिले कडाई गरेको छ ।

जारी मार्गदर्शनअनुसार बीमा कम्पनीले अबदेखि ‘कोर एप्लिकेसन सफ्टवेयर’ अनिवार्यरूपमा प्रयोग गर्नुपर्नेछ । सफ्टवेयरमा सोही दिन बन्द (डे इन्ड) हुनेखालको कारोबार मात्र प्रविष्टि हुनेछ । वास्तविक समयभन्दा अगाडिका कारोबारको प्रविष्टि, विवरण संशोधन वा परिमार्जन गर्न नसकिने हुनेछ । भूलवश कुनै प्रविष्टि गलत हुन गएमा त्यसमा अर्को भौचरले मात्र सच्याउन सकिनेछ । त्यस्तै, सफ्टवेयरबाट वित्तीय विवरण र कम्पनीको बीमांकी मूल्यांकन प्रतिवेदन निकाल्न सक्नेखालको हुनुपर्नेछ । कम्पनीहरूले औपचारिक मेल र अवरुद्ध नहुने गरी इन्टरनेटको व्यवस्था गर्नुपर्नेछ ।

बीमा समितिले यसअघि ‘बीमकको वेबसाइटसम्बन्धी व्यवस्था २०६५’ जारी गरेको थियो । तर, समयसापेक्ष बीमकले प्रयोग गर्ने सूचना प्रविधि नीति तथा उपयोगबाट बीमितको रक्षा गर्नुपर्ने भएकाले नयाँ मार्गदर्शन जारी गरिएको समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए । समितिले बिमकको सूचना प्रविधि मार्गदर्शन जारी गर्दै कम्पनीहरूलाई आफ्नो वेबसाइटमा खारेज भएका वा प्रचलनमा नरहेका बीमालेखहरूको विवरण राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वेबसाइटमा जालसाजी गरी बीमा दाबी लिएको प्रमाणित भएको व्यक्ति वा संस्थाको विवरण पनि राख्नुपर्नेछ ।

अनलाइन भुक्तानीलाई खुला
समितिले पोलिसी खरिद गर्दा अनलाइन भुक्तानी पनि गर्न सकिने व्यवस्था गरेको छ । बीमालाई प्रविधिमैत्री बनाउन समितिले बिमकले नयाँ बीमालेख जारी गर्दा, नवीकरण गर्दा, भुक्तानी गर्दा वा प्राप्त गर्दा इजाजत– पत्र प्राप्त विद्युतीय भुक्तानीका माध्यमहरूसमेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो ।
तर, बिमकले सूचना प्रविधिसम्बन्धी परीक्षकबाट वार्षिकरूपमा आफ्नो सूचना प्रविधि प्रणालीको परीक्षण गर्नुपर्नेछ । सूचना प्रविधि प्रणाली परीक्षणको प्रतिवेदन आर्थिक वर्ष सकिएको ६ महिनाभित्र समितिमा पेस गर्नुपर्नेछ । बीमकले प्रणालीमा प्रयोग हुने सबै हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी सक्कली उत्पादनमात्र प्रयोग गर्नुपर्नेछ । त्यस्ता उत्पादनहरूको सक्कली इजाजत–पत्र लाइसेन्स राख्नुपर्नेछ ।

बीमा कम्पनीले सूचना प्रविधि प्रणालीको सञ्चालन गर्नुपर्ने
बीमा कम्पनीहरूले सूचना प्रविधि प्रणालीको सञ्चालन तथा डेटा सेन्टर प्रयोगमा ल्याउनुपर्नेछ । यस्तो प्रणाली कम्पनीको केन्द्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय तथा सम्पर्क कार्यालयहरूमा समेत प्रयोगमा ल्याउनुपर्नेछ । प्रणाली उच्च अधिकारी, कर्मचारी तथा आवश्यकताअनुसार बीमा मध्यस्थकर्तासम्मले प्रयोगमा ल्याउन सक्ने व्यवस्था गर्नुपर्नेछ ।

त्यस्तै, समितिले जारी गरेको नयाँ मार्गदर्शनअनुसार बिमकले फिजिकल डेटा सेन्टरको स्थापना गर्नुपर्नेछ । क्लाउड डेटा सेन्टरको पनि स्थापना गर्नुपर्नेछ भने डेटा सेन्टर विपद् व्यवस्थापनको व्यवस्था गर्नुपर्नेछ । बीमकले आफैँले वा दर्तावाल क्लाउड डेटा सेन्टरको सेवा लिनुपर्नेछ ।

जोखिममा आधारित सुपरीवेक्षणका लागि मार्गदर्शन जारी
समितिले बीमा कम्पनीका लागि जोखिम व्यवस्थापन २०७६ जारी गरेको छ । जोखिममा आधारित बीमा कम्पनीहरूको सुपरीवेक्षणका लागि समितिले मार्गदर्शन जारी गरेको होरु। मार्गदर्शनअनुसार समितिले बीमा कम्पनीहरूको ११ प्रकारका जोखिमको पहिचान गरेको छ । सोल्भेन्सी, वित्तीय प्रस्तुति, बीमा दाबी र जगेडा, बीमा मूल्य र अन्डरराइटिङ, पुनर्बीमा, कर्जा, तरलता, बजार, रणनीति, नीति–नियम र सञ्चालन जोखिमका आधारमा समितिले सुपरिवेक्षण गर्नेछ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्