कर्मचारी संघमा कांग्रेसले जितेपछि… « Arthapath.com
३ चैत्र २०७६, सोमबार

कर्मचारी संघमा कांग्रेसले जितेपछि…



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिभित्र कर्मचारी राजनीति सुरु भएको छ । केहीअघि भएको कर्मचारी संघको निर्वाचनमा केही भोटले मात्रै कांग्रेस समर्थित कर्मचारी समूहले जितेपछि त्यहाँ पनि बाहिरको घृणित राजनीति छिरेको हो ।

थोरै कर्मचारी रहेको र यसअघि सबै कर्मचारीको एकमात्र संघ भएको अवस्थामा अहिले कर्मचारीबीच नै फुट ल्याउने काम भएको छ । कर्मचारी युनियनबाजीको घृणित खेल हुने सस्थाको नाम लिनुपर्दा कृषि विकास बैंक र नेपाल राष्ट बैंकको कर्मचारी राजनीतिलाई उदाहरण दिने गरिन्छ । राष्ट्र बैंकको कर्मचारी राजनीतिमा निकै चलखेल गरेको चिरन्जीवी चापागाईं अहिले बीमा समितिको अध्यक्ष छन् । उनै चापागाईंले आफनो समर्थन युनियनमा जित्न नसकेको रिस फेर्नका लागि कर्मचारीबीच नै फाटो ल्याएर अर्को कर्मचारी संगठन जन्माएको आरोप लागेको छ ।

यसअघि बीमा समितिमा हालसम्म कुनैपनि राजनीतिक पार्टी निकट कर्मचारी संगठन थिएन । अहिले समितिमा रहेको कर्मचारी युनियनको अध्यक्षमा गत मंसिर ११ गतेबाट पूर्णबहादुर थापा निर्वाचित भएका थिए । थापा कांग्रेस समर्थक कर्मचारीको रुपमा चिनिन्छन् । उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको केही समय नबित्दै कार्यसमितिका उपाध्यक्ष, सचिवलगायत ५ जनाले कार्यसमितिबाट नै राजीनामा दिए । यसरी राजीनामा दिने पदाधिकारीहरूमा नेकपा समर्थित सबै थिए । आफ्नो समर्थकले अध्यक्ष पद नजितेपछि अर्को युनियन खोल्ने तयारीस्वरुप उनीहरूलाई राजीनामा दिन लगाएको हो ।

ती व्यक्तिहरूको राजीनामा पनि व्यवस्थापन समितिको दवाबमा नै भएको बताइएको छ । यसमा बीमा समितिको अध्यक्ष चापागाईंको नै मुख्य भूमिका रहेको बताइएको छ ।

नेकपा समर्थक कर्मचारीहरूले नयाँ कर्मचारी संगठन दर्ता गरिन लागिएको छ । खासमा पूर्वमाओवादी समर्थक कर्मचारीहरूलाई अध्यक्ष चापागाईंको निर्देशनमा योसब तयारी भएको आरोप अन्य कर्मचारीहरूको छ ।

केहीअघि भएको युनियनको निर्वाचनमा जितेका पदाधिकारीलाई राजीनामा दिन अध्यक्ष चापागाईंले अप्रत्यक्ष दवाब दिएको बताइएको छ । निर्वाचित अध्यक्ष थापालाईं राजीनामाको दवाब दिइए पनि उनले नमानेपछि राजनीतिक चलखेल गरेर माओवादी निकट कर्मचारीले संगठन गठन गरी दर्तासमेत गरिएको कर्मचारीहरूले बताए ।

बीमा समितिका अध्यक्ष चापागाईं र कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्मचारीबीच फाटो ल्याएर आपूmअनुकूल काम गर्न सहज बनाउन खोजेको उनीहरूको आरोप छ । भएका कर्मचारी युनियनहरू खारेज गरी एउटा संस्थामा एउटामात्र युनियन बनाउने सरकारको योजना भए पनि सरकारी प्रतिनिधिहरूले नै आफ्नो मनोमानीका लागि कर्मचारी युनियन फुटाउन लाग्नु घातक भएको उनीहरूको भनाई छ ।

हाल गठन हुन लागेको कर्मचारी संगठनको अध्यक्षमा पदमप्रसाद शोडारी, उपाध्यक्ष विनोद पोखरेल, महासचिव दीपक ज्ञवाली, टेकराज पाण्डे कोषाध्यक्ष हुने भएका छन् ।

समितिमा नयाँ संगठन कर्मचारीको हक, हितका लागि काम गर्न गठन गर्न लागिएको संगठनका हुनेवाला अध्यक्ष शोडारीले बताए ।

बीमा समितिमा हाल कुल ७३ जना कर्मचारी कार्यरत छन् । जसमा ५ जना करारमा नियुक्त कर्मचारी कार्यरत छन् । यसबाहेक समितिले थप कर्मचारी भर्ना गर्ने प्रक्रिया चलाइरहेको छ ।

बीमा प्राधिकरणकोरुपमा शक्तिशाली नियामकको रुप दिन कानुन संशोधनको तयारी भैरहेको बेला अध्यक्ष चापागाईंले नै ‘कर्मचारीलाई फुटाउ र आपूm राज गर’को नीति अख्तियार गरेपछि बीमा समितिको नियमित कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्