जीवन बीमा कम्पनीको लाभांश अन्यौल, २ बर्षदेखी घोषणा हुन सकेन « Arthapath.com
३ चैत्र २०७६, सोमबार

जीवन बीमा कम्पनीको लाभांश अन्यौल, २ बर्षदेखी घोषणा हुन सकेन



काठमाडौं । गत साता प्राइम लाइफ इन्स्योरेन्सले २ वर्षअघिको लाभांश घोषणा गर्यो । प्राइमजस्तै २ वर्षअघिको लाभांश घोषणा गर्न एशियन लाइफ इन्स्योरेन्सले अझै सकेको छैन । गत आर्थिक वर्षको लाभांश घोषणा गर्न कुनै पनि जीवन बीमा कम्पनीहरूले अझै सकेका छैनन् । निर्जीवन बीमा कम्पनीहरूले लाभांश वितरण गर्न थाले पनि जीवन बीमा कम्पनीहरू लाभांशको विषयमा भने अन्यौलमा छन् । जीवन बीमा कम्पनीहरूले हालसम्म पनि एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण तयार पार्न नसक्दा लाभांश प्रस्तावमा अन्यौल सिर्जना भएको हो । कुनै पनि कम्पनीले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छैनन् ।

बीमा समिति स्रोतकाअनुसार फागुन महिनासम्म कुनै पनि जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण तयार पार्न सकेका छैनन् । एक्चुरीको अभाव रहेकोले जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न नसकेको बीमा समिति स्रोतको भनाई छ । त्यसअनुसार जीवन बीमा कम्पनीहरूले लाभांश वितरण गर्न अझै समय लाग्ने देखिन्छ ।

समयमै एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न नसक्दा कम्पनीहरूले लाभांश घोषणा गरी साधारणसभा बोलाउनसमेत ढिलाइ भइरहेको छ ।

यता सरकारी स्वामित्व भएका बीमा कम्पनीहरूको संस्थागत सुशासन कमजोर बन्दा लामो समयदेखि लेखा–परीक्षण हुनसकेको छैन । अन्य कम्पनीहरूमा पनि बीमा समितिको निर्देशनअनुसार लेखा–परीक्षणस्वरूप फेरिदा नयाँ प्रणालीमा वित्तीय विवरण तयार गर्न कठिनाई भइरहेको छ । सोही कारण पनि जीवन बीमा कम्पनीहरूको लाभांश आउन थप समय लाग्ने देखिएको हो ।

यसअघि परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दैआइरहेका कम्पनीहरूलाई समितिले आर्थिक वर्ष २०७४÷०७५ देखि अनिवार्यरूपमा एनएफआरएस प्रणाली लागू गर्दै सोहीअनुरूप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो ।

नियमन निकायको हैसियतमा समितिले बीमा कम्पनीहरूको गतिविधि तथा कार्य योजनामा सहजीकरणको भूमिका निभाउनु पर्ने हुन्छ । सोही कारण समितिले नै एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न एक्चुरीको अभावले साधारण सभा बोलाउन ढिलाई भएपछि साधारण सभा समयमै नगरिए पनि समितिले कडिकडाउ भने गरेको छैन ।

विभिन्न फोरमहरू माबीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले एक्चुरीको अभावमा जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयारी गरी साधारणसभा बोलाउन नसकेको स्वीकार्दै आएका छन् ।सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्