कोरोनाकै बीच किन चम्कियो जीवन बीमा, कुन कम्पनीले कति बढाए ? « Arthapath.com
६ श्रावण २०७८, बुधबार

कोरोनाकै बीच किन चम्कियो जीवन बीमा, कुन कम्पनीले कति बढाए ?



काठमाडौं । गत वर्ष मुलुक कोरोना महामारीको चपेटामा थियो । असोजबाटमात्रै खुलेको बजार वैशाखमा आएर पुनः निषेधाज्ञामा धकेलियो । वर्षमा जम्मा ७ महिनामात्रै कारोबार भयो । यसबीचमा धेरैको रोजगारी खोसियो । न्यून आय भएको ठूलो समुदाय गरिबीको रेखामुनि धकेलियो । साना तथा मझौला उद्योगधन्दा र बन्दब्यापार निकै प्रभावित भए ।

यस्तो बेलामा पनि जीवन बीमाप्रतिको आकर्षण भने निकै चम्केको देखिन्छ । बीमा समितिका अनुसार गत वर्षको साउनदेखि यताको एक वर्षमा बीमा कम्पनीहरुले जीवन बीमालेख बेचेरै ४१ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरे । जबकी वर्षैंदेखि चलिरहेका जीवन बीमालेखको नविकरणबाट कम्पनीहरुको ब्यापारमा ७८ अर्ब ३५ करोड रुपैयाँमात्रै सहयोग पुग्यो ।

यसको अर्थ वर्षैंको ब्यापारको आधाभन्दा बढी अर्थात् लगभग ५४ प्रतिशत व्यवसाय एकै वर्षमा विस्तार भएको छ । यसले बीमा कम्पनीहरुको उज्वल भविष्य देखाएको छ । समितिका अनुसार गत असार समान्तसम्म ७९ लाख २६ हजार २०३ वटा बीमालेख जारी भएका छन् । यसबाहेक ६ लाख ८६ हजार ६४७ जनाले वैदेशिक रोजगार बीमा गरेका छन् ।

यो वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो प्रधानता कायम राखेको छ । तर नयाँ बीमा बजार विस्तारमा नेशनल लाइफले लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)लाई उछिनेर दोस्रो स्थानमा आएको छ । कुल बीमाशुल्कका आधारमा भने एनआईसी नै दोस्रो बरियतामा छ ।

युनियन, रिलायबल नेपाल र सिटिजनजस्ता नयाँ कम्पनीले थुप्रै पुराना बीमा कम्पनीलाई ब्यापारिक प्रतिस्पर्धामा पछाडि पारिसकेका छन् । यसले पुराना कम्पनीलाई समस्यामा पारेको छ । यसको सबैभन्दा राम्रो उदाहरण चाहीँ सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान हो । गत आर्थिक वर्षमा साढे ६ अर्बभन्दा बढी नविकरण बीमा शुल्कबाट कमाएको यो कम्पनीको नयाँ बजार विस्तारमा भने प्रगति निकै निराशाजनक छ ।

राष्ट्रिय बीमा संस्थानले गत वर्ष जम्मा ७६ करोड रुपैयाँमात्रै नयाँ बीमितबाट उठाउन सक्यो । योभन्दा पनि खराब प्रदर्शन भने महालक्ष्मी लाइफको छ । पछिल्लो पटक जीवन बीमाको लाइसेन्स पाउन अदालतको सहारा लिएको यो कम्पनी देशकै सबैभन्दा कान्छो बीमा कम्पनी हो । तर यो कम्पनीले गत वर्ष ७५ करोड रुपैयाँमात्रै नयाँ बीमाशुल्क उठाउन सक्यो । जुन, १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम हो ।


प्रतिक्रिया दिनुहोस्