अर्थ मन्त्रालयले पैसा नदिँदा जनताले पाएनन् १० अर्ब बीमाको भुक्तानी, संसदीय समितिले देखायो चासो « Arthapath.com
२० भाद्र २०७८, आईतवार

अर्थ मन्त्रालयले पैसा नदिँदा जनताले पाएनन् १० अर्ब बीमाको भुक्तानी, संसदीय समितिले देखायो चासो



काठमाडौं । यसअघिको सहमति अनुसार अर्थ मन्त्रालयले पैसा निकासी नदिँदा कोरोना बीमा गराएका नागरिकले १० अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । हालसम्म कोरोना बीमाअन्तरगत १३ अर्ब १४ करोड रुपैयाँ बराबरको दावी परेको बीमक संघले जनाएको छ ।

तर बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले आफ्नो दायित्वमा पर्ने ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिए पनि अर्थ मन्त्रालयले थप रकम नदिएपछि भुक्तानीमा समस्या भएको हो । कोरोना बीमा गरेर एक वर्षअघि नै दाबी गरेका नागरिकले समेत अहिलेसम्म बीमाबापतको रकम पाउन सकेका छैनन् ।

पूर्वसहमतिका अनुसार बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले आफ्दो भागको दायित्व भुक्तानी गरिसकेपछि बाँकी पैसा सरकारी कोषबाट दिनु पर्ने थियो । तर यसअघिको केपी ओली नेतृत्वको सरकारकै पालादेखि उक्त रकम भुक्तानी गर्न पटक पटक आग्रह गरिए पनि हालसम्म पैसा निकासा नभएको बीमा पुलसम्बद्ध अधिकारीले जनाएका छन् ।

बीमा पुलमा अब बाँकी ९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दावी भुक्तानीका लागि अर्थ मन्त्रालयले पैसा दिनु पर्ने छ । तर अघिल्लो र वर्तमान दुबै सरकारका अर्थ मन्त्रालयले यसबारेमा कुनै छलफल समेत नगरेको बीमा व्यवसायी बताउँछन् । बीमा कम्पनीहरुले पहिले बीमा गरे पनि त्यसको प्रिमियमले नधान्ने गरी दाबी पर्न थालेपछि सरकारले बाँकी रकमको व्यवस्था आफू गरिदिने प्रतिबद्धता जनाएको थियो ।

तर भनेअनुसार अर्थ मन्त्रालयले पैसा नदिँदा संक्रमित नेपालीले बीमा दाबीको भुक्तानी नपाएको विषयलाई संसदीय समितिले चासो दिन थालेको छ । प्रतिनिधी सभाअन्तरगतको अर्थ समितिले यसै साता उक्त विषयमा छलफल थाल्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्