नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न पाँच जनाको आवेदन « Arthapath.com
१८ पुष २०७८, आईतवार

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न पाँच जनाको आवेदन



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा पौष २२ गते बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे हुँदैछ । कम्पनीको साधारणमा सभाले संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्नेछ । सोही बमोजिम सञ्चालक बन्नको लागि बीमा क्षेत्रबाट पाँच जनाले आवेदन दिएका छन् ।

कम्पनीको सञ्चालकको लागि वर्तमान सञ्चालक तथा शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्त, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीईओ बीरेन्द्र वैदवार क्षेत्री, युनाईटेड इन्स्योरेन्स कम्पनीकी सीईओ उपासना पौडेल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक हेमन्त नाहाटाले उम्मेदवारी दिएका छन् । तर उम्मेदवारी दिएकाहरु मध्येबाट २ जना मात्रै सञ्चालक बन्नेछन् ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशतका दरले बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश (करसहित) गरी कूल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।

साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ कम्पनीले पौष १४ गते बुकक्लोज गर्ने निर्णय गरिसकेको छ । त्यसैले, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्