सूर्या लाइफ इन्स्योरेन्स साधारण सभा सम्पन्न, शेयरधनीले पाए १३.३६८४ प्रतिशत लाभांस

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा पौष १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।
सभाले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई २ अर्ब ५५ करोड २ लाख ८२ हजार १ सय रुपैयाँ कायम हुनेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।
संस्थापक शेयरधनी समुह “क” बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल र विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल र बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका हुन् ।
कम्पनीले चालु आ.व. २०७८–७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा ४९ हजार ७१७ अभिकर्ताहरु मार्फत १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब १ करोड ८५ लाख ७१ हजार ३१८ रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी २९ करोड १८ लाख ६७ हजार ३१० रुपैयाँ गरेको जनाएको छ ।