संस्थागत सुशासन विरूद्ध लागेका कामु सीईओबारे बीमा समिति किन मौन ? महर्जनलाई अनुकुल हुनेगरी ताकेता « Arthapath.com
७ चैत्र २०७८, सोमबार

संस्थागत सुशासन विरूद्ध लागेका कामु सीईओबारे बीमा समिति किन मौन ? महर्जनलाई अनुकुल हुनेगरी ताकेता



काठमाडौं । बीमा समितिले नेपाल इन्स्योरेन्समा कार्यरत अवैध कामु सीईओलाई अनुकुल हुनेगरी सोमबार एक निर्देशन जारी गरेको छ । गत कात्तिक ७ गते बीमाको संस्थागत सुशासन लत्याउँदै सीईओ बनेका बिरकृष्ण (विके) महर्जनलाई सहज हुनेगरी फेरी निर्देशन जारी गरेको हो ।

गत पुष २४ गतेपनि बीमा समितिले सीईओ खाली रहेका कम्पनीलाई सीईओ नियुक्त गर्न दबाब दिएको थियो । प्रुडेन्सियल इन्स्योरेन्समा गत कात्तिक ५ गतेसम्म काम गरेर ७ गते नै नेपाल इन्स्योरेन्सको सिनियर डेपुटी सीईओमा नियुक्त भएका महर्जनले कम्पनी छाडेकाे ६ महिनासम्म कुलिङ बस्नुपर्ने ऐनलाई नै लत्याउँदै चाेर बाटाेबाट सीईओ बन्न लागेका हुन् ।

उनलाई कारबाहीको साटो नियमनकारी निकाय प्रलाेभनमा परेर सीईओ नियुक्त गर्ने तयारीमा रहेकाे बुझिएकाे छ । बीमा समितिले महर्जनलाई अनुकुल हुनेगरी साेमबार पुन: सीईओ खाली रहेका कम्पनीलाई तत्काल नियुक्त गर्न निर्देशन जारी गरेको छ ।

बीमाको संस्थागत सुशासनले महर्जन कामु सीईओ बन्न नमिल्ने बीमा समितिका एक कर्मचारी बताउँछन् ।

समितिले तीन बीमा कम्पनीलाई पत्र काटेर तत्काल प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न निर्देशन दिएको छ । महर्जनकाे ५ महिना अवधी पुरा भएकै दिन समितीले निर्देशन दिएकाे हाे । महर्जन यसअघि प्रुडेन्सियल इन्स्याेरेन्समा पनि बीमाकाे संस्थागत सुशासनलाई धज्जी उडाउँदै ३ कार्यकाल बिताएका थिए ।

नेपाल इन्याेरेन्समा साउन ८ गतेदेखी सीईओबिहिन रहेकाे छ । महर्जन सीइओ बन्न अझै १ महिना कुर्नुपर्ने छ । हाल बीमा बजारमा नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीमा सीइओ खाली छ । समितिले निर्देशन दिएपनि २ निजी कम्पनी र एक सरकारी कम्पनीले बीमा समितिलाई अटेर गर्दै आएका छन् ।

समितिले संस्थागत सुशासन निर्देशिका अनुसार तीन महिना भन्दा धेरै प्रमुख कार्यकारी अधिकृत विहिन बनाउन नपाउने भन्दै तत्काल प्रमुख कार्यकारी नियुक्ति गर्न भन्दै पत्राचार गरेको छ । संस्थागत सुशासनको निर्देशिका संसोधन गर्ने क्रममा बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

नेपाल लाइफबाट सन्तोष प्रसाईले गत कार्तिकमा राजिनामा दिएर बाहिरिएका थिए । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद गत भदौदेखि खाली छ ।


प्रतिक्रिया दिनुहोस्