निर्जीवन बीमा कम्पनीले २४.२४ अर्ब पूँजी थप्नुपर्ने, राष्ट्रिय बीमा कम्पनीलाई ७३८ प्रतिशत, अन्य कुनलाई कति दवाव ? « Arthapath.com
११ चैत्र २०७८, शुक्रबार

निर्जीवन बीमा कम्पनीले २४.२४ अर्ब पूँजी थप्नुपर्ने, राष्ट्रिय बीमा कम्पनीलाई ७३८ प्रतिशत, अन्य कुनलाई कति दवाव ?



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्न निर्देशन दिएको छ । बिहिबार बसेको समिति सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको पूँजी बढाउन निर्देशन दिएको हो । आगामी चैत मसान्तभित्र जीवन कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ पुर्याउन समितिले निर्देशन दिएको हो ।

“बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवथ बढ़ाई सोअनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजी आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुवीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूजीसंग सामञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको हो” समितिको पत्रमा भनिएको छ ।

हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीलाई १ बर्षभित्रै रकम खोज्न दौडधुप गर्नुपर्ने देखिएको छ । समितिको निर्देशनसँगै निर्जीवन बीमा कम्पनीलाई एक वर्षभित्रै कूल २४ अर्ब रुपैयाँ बढी पूँजी आवश्यक पर्ने देखिएको छ । नेशनल र दी ओरियन्टलबाहेक अन्य १८ वटा निर्जीवन बीमा कम्पनीले २०७९ चैत मसान्तभित्र हालको पूँजीमा २४ अर्ब २४ करोड ३९ लाख रुपैयाँ थप गर्नु पर्ने छ । यो रकम भनेको हालको चुक्ता पूँजीको तुलनामा ११६.८० प्रतिशत बढी हो ।

हाल १८ वटा निर्जीवन बीमा कम्पनीसँग कूल २० अर्ब ७५ करोड रुपैयाँ मात्रै पूँजी रहेको छ । बीमा समितिको निर्णयपश्चात १८ वटा कम्पनीहरुको न्यूनतम पूँजी कूल ४५ अर्ब रुपैयाँ हुनुपर्ने देखिन्छ ।

बीमा समितिको निर्देशन अनुसार राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै चुक्ता पूँजी आवश्कय छ ।कम्पनीसँग हाल हाल २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । पूँजी बृद्धिसँगै कम्पनीले १ वर्षभित्रै ८३७.७३ प्रतिशत अथार्त २ अर्ब २३ करोड रुपैयाँ पूँजी जुटाउनुपर्नेछ ।

त्यस्तै, यूनाईटेडले ३४३.१७ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सले ११३.०४, प्रुडेन्सियल इन्स्योरेन्सले ११०.७९ र प्रिमियर इन्स्योरेन्सले १०३.६५ प्रतिशत पूँजी जुटाउनुपर्ने छ ।

यता शिखर इन्स्योरेन्सको भने सबैभन्दा कम अर्थात ९.३६ प्रतिशत मात्रै आवश्यक देखिन्छ । इन्स्योरेन्स कम्पनीले हाल हकप्रद जारी गरिरहेको कम्पनीको चुक्ता पुँजी हकप्रदपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्ने छ । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीलाई २१ करोड ४० लाख रुपैयाँ मात्रै आवश्यक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्