जीवन बीमाको पूँजी बृद्धिमा नेपाल लाइफको ३९ प्रतिशत धेरै, संस्थानलाई २६६२ प्रतिशत आवश्यक, अन्य कुनलाई कति दवाव ?

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्न निर्देशन दिएको छ । बिहिबार बसेको समिति सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको पूँजी बढाउन निर्देशन दिएको हो । आगामी चैत मसान्तभित्र जीवन कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ पुर्याउन समितिले निर्देशन दिएको हो ।
“बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवथ बढ़ाई सोअनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजी आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुवीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूजीसंग सामञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको हो” समितिको पत्रमा भनिएको छ ।
हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । समितिले तोकिएको न्युनतम चुक्ता पूँजी आगामी २०७९ चैत मसान्त भित्र कायम गरिसक्नु पर्नेछ । तोकिएको समयमा न्युनतम पूँजी कायम गर्न नसकिए बीमा कम्पनीहरुले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका बमोजिम हुने गरी पूँजी पुर्याउने पर्नेछ ।
हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये राष्ट्रिय बीमा संस्थान र सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न बाँकी रहेका ५ जीवन बीमा कम्पनी बाहेक सबैले हालको न्युनतम चुक्ता पूँजी २ अर्ब पुर्याइसकेका छन् । मेट लाइफ इन्स्योरेन्सले भने अहिलेसम्म चुक्ता पूँजी खुलाएको छैन ।
नेपाल लाइफको हाल ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यो रकम समितिले तोकेको भन्दा ३ अर्ब २० करोड रुपैयाँ अर्थात ३९.०८ प्रतिशत बढी हो । त्यस अनुसार नेपाल लाइफलाई पूँजी बढाउन दबाब पर्ने छैन ।
नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । नेशनलले ५ अर्ब चुक्ता पूँजी पुर्याउन २४ प्रतिशत अर्थात ९६ करोड ४८ लाख रुपैयाँ बढाउनु पर्ने देखिन्छ । यस्तै, प्राइम लाइफले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन २ अर्ब २२ करोड रुपैयाँ अर्थात ८० प्रतिशतले बढाउनु पर्नेछ ।
सबैभन्दा कम चुक्ता पूँजी भने सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको रहेको छ । संस्थानको चुक्ता पूँजी १८ करोड रुपैयाँ मात्रै रहेको छ । संस्थानलाई ४ अर्ब ८१ करोड रुपैयाँ अर्थात २६६२ प्रतिशत बढी चुक्ता पूँजी आवश्यक देखिन्छ ।
