प्राइम लाइफबाट सीईओ भट्टराई र डीसीईओ भण्डारी एकै साथ बाहिरिँदै « Arthapath.com
५ असार २०७९, आईतवार

प्राइम लाइफबाट सीईओ भट्टराई र डीसीईओ भण्डारी एकै साथ बाहिरिँदै



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र नायव पमुख कार्यकारी अधिकृत एकै साथ कम्पनीबाट बाहिरिने भएका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराई र नायव  प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) चिरायु भण्डारीको कार्यकाल सकिने भएपछि एकै साथ कम्पनीबाट बाहिरिने भएका हुन् । 

सीईओ भट्टराई र डीसीईओ भण्डारीको कार्यकाल असार मसान्तमा सकिनेछ । असार मसान्तमा कार्यकाल सकिने भएपछि दुवै जना एकैसाथ कम्पनीबाट बाहिरिने भएका हुन् । 
 
सीईओ मनोज भट्टराई 
प्राइम लाइफमा सीईओ भट्टराईको दोस्रो कार्यकाल हो । उनले पहिलो कार्यकालको ४ वर्ष सफलतापूर्वक निर्वाह गरेपछि कम्पनीले दोस्रो पटक पनि भट्टराईलाई नै सीईओमा दोहर्याएका थियो । भट्टराई २०७१ सालदेखि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । 

उनै सीईओ भट्टराई २ कार्यकाल सकेर प्राइम लाइफबाट विदाई हुने भएका छन् । सीईओ भट्टराईको कार्यकालमा कम्पनीले ठूलो प्रगति गरेको जानकारहरू बताउँछन् । प्राइम, गुराँस र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी मर्ज हुँदैछन् । भट्टराईलाई मर्जरपश्चात् बन्ने कम्पनीको सीईओको रुपमा भित्र्याउने तयारी रहेको स्रोतले बताएको छ । अन्य कम्पनीको सीईओभन्दा उनी सबैभन्दा अब्बल रहेकाले भट्टराईलाई नै सीईओ बनाइने स्रोतले अर्थपथलाई बताएको छ । 

सीईओ भट्टराई जीवन बीमामा अनुभवी तथा खारिएका व्यक्ति हुन् । उनीसँग जीवन बिमासँगै बैंकिङ, फाइनान्सको क्षेत्रमा समेत काम गरेको अनुभव छ । प्राइम लाइफमा सीईओ बन्नु अघि भट्टराईले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सीईओको जिम्मेवारी सम्हालि सकेका थिए । सीईओ भट्टराईसँग बीमा क्षेत्रको मात्रै करिब अढाई दशक अनुभव छ । उनले विभिन्न देशका संस्थाहरूमा बैंकिङ बीमा र वित्तीय सम्बन्धित विषयमा धेरै तालिम तथा सेमिनार कार्यक्रममा भाग लिएका छन् । भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाइफ इन्स्योरेन्सले गति लिएको कम्पनीले जनाएको छ ।

चिरायु भण्डारी, डीसीईओ 
नेपाली बीमा क्षेत्रका अनुभवी चिरायु भण्डारी प्राइम लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कार्यरत छन् । डीसीईओ भण्डारी फाल्गुन २०७६ मा प्राइम लाइफमा आवद्ध भएका थिए । तर डीसीईओ भण्डारी साढे २ वर्षमा नै कम्पनीबाट बाहिरिने भएका हुन् । भण्डारी कम्पनीको सीईओ बन्ने गरी प्राइम लाइफमा आएका थिए । तर कम्पनीले सिनियर डीसीईओमा निर्मल दाहाललाई नियुक्त गरेपछि भण्डारीको सीईओ बन्ने सपना बन्द भएको हो । 

नेपाल पुनर्बीमा कम्पनीको सीईओ समेत भएका भण्डारीलाई प्राइम लाइफले फाल्गुन २०७६ मा महाप्रबन्धकमा नियुक्त गरेको थियो । डीसीईओ भण्डारी २०३५ सालमा राष्ट्रिय बीमा संस्थानबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । डीसीईओ भण्डारीसँग नेशनल लाइफमा समेत काम गरेको अनुभव रहेको छ । झण्डै ४ दशकदेखि बीमा क्षेत्रमा कार्यरत भण्डारी २०३४ सालमा राष्ट्रिय बीमा संस्थानमा प्रवेश गरेका थिए । भण्डारीले संस्थानमा ९ वर्ष जागिर खाएपछि नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा २६ वर्षसम्म काम गरेका थिए ।

एकै साथ सीईओ र डीसीईओ कम्पनीबाट बाहिरिने भएपछि सिनियर डीसीईओ रहेका निर्मल दाहाललाई कामु सीईओको जिम्मेवारी दिईनेछ । मर्जरपश्चात् भट्टराईलाई नै सीईओमा ल्याईने छ ।


प्रतिक्रिया दिनुहोस्