मर्जरमा प्रेसर गर्दै बीमा समिति, मर्ज गरेका कम्पनीको पूँजी नपुगे २५ प्रतिशत हकप्रद निष्काशन गर्न दिने

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले १० चैत्र २०७८ मा एक निर्णय गर्याे, चुक्ता पूँजी वृद्धि गर्नुपर्ने । बीमा समितिको उक्त निर्णयले बीमा कम्पनीलाई पूँजी वृद्धि गर्न ठूलै सकस नै परेको छ ।
जीवन कम्पनीहरुले चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पर्याउन समितिले निर्णय दिएपछि बीमा कम्पनीहरु मर्जर गर्न बाध्य भएका छन् । बीमा कम्पनीहरु मर्जरका लागि राजी खुसी त थिएनन्, तर बेला बेलामा बीमा समितिले दबाव दिँदै आएपछि मर्जरका लागि तयारी भइरहेका छन् ।
अधिकांश बीमा कम्पनीहरुले मर्जरका लागि एमओयू गरिसकेका छन् भने केही कम्पनीहरुले केही दिनमा नै मर्जरका लागि सम्झौता पत्रमा हस्तक्षर गर्ने तयारीमा रहेका छन् । बीमा कम्पनीहरु आफै मर्जरका लागि तयार नभएपनि बीमा समितिको फोर्स मर्जरका कारण मर्जरमा जान लागेको एक बीमा कम्पनीका सीईओले अर्थपथलाई बताए ।
दबावमा मर्ज भइरहेका कम्पनीको पूँजी मर्जरपश्चात् पनि तोकिएजति पुगेन भने हकप्रदको सहुलियत बीमा समितिले दिने भएको छ । बीमा समिति उच्च स्रोतका अनुसार यदि मर्जरपश्चात् पनि चुक्ता पूँजी तोकिए अनुसार पुगेन भने २५ प्रतिशत हकप्रद शेयर जारी गर्न दिने छ । तर यो सुविधा भने मर्जरमा नजाने कम्पनीले पाउने छैनन् ।
‘मर्जरमा जाने कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेजति पुगेन भने २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिइनेछ ।’ उच्च स्रोतले भन्यो, ‘यो सुविधा धने मर्जरमा नजाने कम्पनीले पाउने छैनन् ।’ बीमा समितिले आफुले मर्जरमा जान फोर्स नगरेको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल बताउँदै आएका छन् । उनले फोर्स मर्जरका लागि दबाव नदिएको बर्तापनि भित्रभित्रै दबाव दिँदै आएका छन् ।
चुक्ता पूँजी वृद्धि गर्न लगाएर बीमा कम्पनीको संख्या घटाउने बीमा समिति लागि रहेको छ भने अर्काे तर्फ लघुबीमाको लाइसेन्स दिने तयारीमा रहेको छ । बीमा दायरा बढाउनका लागि लघुबीमा संचालनमा ल्याउने तयारीमा बीमा समिति लागेको हो ।