मर्जरको लागी सगरमाथा–लुम्बिनीको एमओयू, नेपाल इन्स्योरेन्स–पुडेन्सियलको नाममा विवाद

काठमाडौं । अहिले बीमा कम्पनीहरूलाई मर्जरको चटारो छ । असार मसान्त सकिन २ दिन बाँकी हुँदा बीमा कम्पनीहरू धमाधम एमओयूमा व्यस्त छन् । दिनदिनै फरक कम्पनीसँग छलफल र मर्जर सम्झौता भइरहेका छन् ।
यसै सन्दर्भमा बुधवार मर्जरमा गएर देशकै ठुलो निर्जीवन बीमा कम्पनी बन्ने तयारी गरेका सगरमाथा र शिखर इन्स्योरेन्सको वार्ता भङ्ग भएको छ । बुधवार रातिदेखि लुम्बिनी र सगरमाथाको मर्जर हुने सहमति दुवै कम्पनीको मर्जर कमिटीमा सहमति जुटेको हो ।
बुधवार १७ औँ साधारण सभाबाट मर्जरमा जाने अख्तियारी पाएको लुम्बिनीले बुधवार दिनभर शिखरसँग कुरा चलायो । बुधवार रातिदेखि सगरमाथासँग अघि बढेको मर्जरले सार्थकता पाउन लागेको छ । बिहीबार यी दुई कम्पनीको मर्जर संबन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार मर्जसम्बन्धी सम्झौतापत्रमा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर कमिटीका संयोजक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर कमिटीका संयोजक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हामी मर्जरको लागी तयार भएका हौँ सबै कुरा मिलिसकेको सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले अर्थपथलाई बताए । अहिले लुम्बिनी भन्दा सगरमाथा तुलनात्मक रूपमा बलियो छ । डिडिए प्रश्चात स्वाप रेस्यो तय हुने बताइएको छ । आजै ११ बजे सेयर कारोबार रोक्ने गरी एमओयूको तयारी भएको हो ।
अहिले सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रहेको छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रहेको छ । दुई कम्पनी १ः१ बराबर स्वाप रेस्योमा मर्जर भएमा पुँजी २ अर्ब ६४ करोड पुग्नेछ । जुन बीमा समितिले तोकेको १ २ अर्ब ५० करोडभन्दा माथि हुनेछ ।
नेपाल इन्स्योरेन्स र पुडेन्सियलमा नामको लफडा
नेपालकै सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स र पुडेन्सियल इन्स्योरेन्स मर्जर गर्ने चर्चा चलेको १ सातामा पनि एमओयू भएको छैन । दुई कम्पनीबिच धेरै कुरा मिले पनि नाममा लफडा सुरु भएको छ । सबैभन्दा पुरानो नेपालको राष्ट्रियता झल्कने नेपाल इन्स्योरेन्समा पुडेन्सियल पनि घुसाउन खोजेपछि नेपाल बैङ्कले असहमति जनाएको छ । नेपाल इन्स्योरेन्समा नेपाल बैङ्कको १५ प्रतिशत लगानी रहेको छ । सोही कारणले पुडेन्सियल र नेपाल इन्स्योरेन्सको मर्जरमा अलमल सुरु भएको छ ।