बीमा किन गर्ने ? यस्ता छन् बीमाका फाइदा !

दिपक बिष्ट
काठमाडौं । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पनि विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् । नेपाल बैंक लिमिटेडले वि.सं. २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ ।
बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ ।
पछिल्लो समय नेपाली समाजमा बीमा प्रति जनमानको चासो बढ्दै गइरहेको पाइएको छ । नेपाल २०७२ बैशाख १२ गते आएको भुकम्पले त अझै बीमा गर्ने प्रेरणीत गरेको पाइन्छ । तर कोरोना बीमा रकम नपाएउँदा यसको विश्वनियता माथि कतै न कतै भने खोट लागेको पाईको छ । जीवनमा कुन अबस्था कस्तो समस्या सिर्जना हुन्छ हामी कसैलाई समेत थाहा हुदैन भोलिका दिनहरुमा हुनसक्ने जोखिमको न्यूनीरण गर्ने तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाउने कानूनी विधि वा बीमा कम्पनीहरुसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।
जसरी हामी एउटा बिन्दुमा पुगेपछि आफ्नो जीवनको योजना बनाउछौं। त्यसमा वित्तीय योजना हुन्छ। अर्थात् व्यक्तिगत वित्तीय योजना। दैनिक खर्च, आम्दानी र बचतका रुपमा त्यस्तो योजना बन्छ । यो योजनामा बीमालाई पनि राख्नुपर्छ ।
यसो किन गर्नुपर्छ भन्ने केही आधारहरु छन्। जिन्दगीमा आउने आर्थिक जोखिमलाई टार्नुपर्यो। आर्थिक जोखिम कसरी थाहा पाउने? जस्तै एउटा व्यक्तिले आफ्नो परिवारका लागि काम गर्ने उमेरसम्म जुन कूल पैसा कमाएर घर चलाउँछ त्यो उसको आर्थिक मूल्य हो। कसैले महिनामा १ लाख कमाउँछ भने उसको भ्यालु १ लाख भयो । यदी त्यो ब्यक्तिको जीवन तलमाथि भयो भने पारिवारिक जोखिम बढ्छ । बचतभन्दा पहिला जोखिम न्यूनीकरण गर्नुपर्छ। त्यो भनेको बीमा हो।
बीमा भनेको क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनिले नोक्सानीको क्षतिपूर्ति दिन्छ । बीमा भनेको बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बीमा दुई प्रकारका हुन्छन् । जीवन र निर्जीवन बीमा ।
बीमा दुई प्रकारका हुन्छन् :
१. जीवन बीमा
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।
क) आजीवन जीवन बीमा : आजीवन जीवन बीमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बीमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन ।
ख) सावधिक जीवन बीमा : निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति (बिमित) आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ ।
ग) म्यादी जीवन बीमा : सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।
२. निर्जीवन बीमा
निर्जीवन बीमा मानीसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ ।
बीमाका फाइदा
१. आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ । त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा एउटा भ्याकुम सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बिमा गर्नुपर्ने हुन्छ । अरू सबै सामानको मूल्य निर्माण गर्दा नै तोक्न सकिन्छ । तर, मान्छेको मूल्य भने उसले आफैँ तोक्ने हो । कसरी, कस्तो परिवेशमा के काम गरिरहेको छ, त्यो अनुसार उसको आफ्नो जीवनको मूल्य हुन्छ ।
२. व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बिमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।
३. भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसंग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बिमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
४. दीर्घकालीन पुँजी निर्माण
तपाईँ हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, संगै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । एउटा अनुशासित जीवन बाँच्नु धेरै गाह्रो कुरा हो । जीवन बिमामा अनुशासित बचत गर्ने प्रक्रिया हुन्छ । जीवन बिमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पुँजी निर्माण गर्छ । जब बिमा परिपक्व हुन्छ, त्यसवेला त्यो रकमले दैनिक जीवनयापनभन्दा फरक आवश्यकता पूरा गर्छाैं ।
५. मुलुकको विकासमा भूमिका
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बिमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बिमा उपयुक्त माध्यम हो ।
६. छोराछोरीको शिक्षा
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बिमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।
७. ऋणको समस्याबाट मुक्ति
हाम्रो मुलुकमा सबैभन्दा ज्यादा नेपाली ऋणको समस्याबाट गुज्रिएको पाइन्छ । कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । कसैले घर बनाउनुपर्यो भने ऋण लिने र मासिक किस्ता (इएमआई) तिरी ढुक्कले बसेको हुन्छ । उसले आफ्नो कमाइसँग जोडेर यतिसम्म तिर्न सक्छु भनेर काम गरेको हुन्छ । मैले १० वर्षको ऋण लिएको छु, सजिलै तिरिहाल्छु । यहाँ ९० प्रतिशत परिवारमा एकजना मात्र कमाउनेछन् । आज किनेको घर भोलि परिवारका लागि ठूलो तनाव हुन सक्छ । यो तनावबाट बाँच्न जति ऋण लिएको छ, सोहीबराबरको जीवन बीमा गर्ने हो भने उसलाई केही भइहालेमा पनि उसको परिवार घरबाट निकालिनुपर्ने अवस्था आउँदैन । बैंकले घरको बिमा गरेको हुन्छ । केही भए उसले बिमा पाइहाल्छ ।
८. करमा छुट
बिमा गरेको व्यक्तिले बीमा शुल्कमा कर छुट पाउँछ । यसले एकातिर कर छुट हुन्छ भने अर्को्तितर बचत पनि भइरहेको हुन्छ ।
बीमा कम्पनीहरुको नियामक निकायका रुपमा ‘बीमा समिति’ रहेको छ । उक्त नियामक निकायले सबै बीमा कम्पनिको रेखदेख गर्ने हुँदा र समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने हुँदा बीमा कम्पनिहरुले आफूखुसी काम गर्न सक्दैनन् ।