जीवन बीमा कम्पनीले एक महिनामै १५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन

काठमाडौं । चालु आर्थिक बर्ष २०७९÷८० को साउन महिनामा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये दुई अर्ब २० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरिएको छ भने १२ अर्ब ८५ करोड रुपैयाँ नविकरणीय बापत बीमाशुल्क संकलन गरिएको छ । त्यस्तै कम्पनीहरुले साउन महिनामा मात्रै सात लाख १० हजार ३४ वटा बीमा पोलिसी जारी भएको छ ।
समिक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चार अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । लाइफ इन्स्योरेन्स कम्पनीले भने एक अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सक्षम भएको छ । जीवन बीमा कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
त्यस्तै, नयाँ जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३८ करोड २३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भने ८० करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
शहरमा नै केन्द्रित जीवन बीमा कम्पनी
जीवन बीमा कम्पनीहरु अझै पनि शहरी क्षेत्रमा नै केन्द्रित रहेको पाईएको छ । बीमा समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बाग्मती प्रदेशबाट मात्रै ६ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशबाट दुई अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । प्रदेश नम्बर एकबाट दुई अर्ब दुई करोड रुपैयाँ संकलन भएको छ । मधेश प्रदेशबाट एक अर्ब ३७ करोड रुपैयाँ संकलन भएको छ । गण्डकी प्रदेशबाट भने एक अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै कर्णाली प्रदेशबाट कम्पनीहरुले ६८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ भने सुदुरपश्चिम प्रदेशबाट ७५ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ ।
साथै जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा पोलिसी विक्री गरी पाँच अर्ब ४३ करोेड रुपैयाँ संकलन गरेका छन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमा बापत कम्पनीहरुले चार अर्ब ६ करोड रुपैयाँ संकलन गरेका छन् । रुपान्तरित सावधिक जीवन बीमा बापत दुई अर्ब २४ करोड रुपैयाँ संकलन भएको छ । बालबच्चा सावधिक जीवन बीमा बापतत दुई अर्ब २२ करोड रुपैयाँ संकलन भएको छ । बैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी विक्री बापत दुई अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, आजिवन जीवन बीमा पोलिसी विक्री गरी कम्पनीहरुले ५५ करोड ८५ लाख रुपैयाँ संकलन गरेका छन् । एकल बीमाशुल्क जीवन बीमा पोलिसी बापत पाँच करोड, म्यादी जीवन बीमा बापत आठ करोड ४४ लाख र लघु जीवन बीमा बापत कम्पनीहरुले १५ करोड २६ लाख रुपैया बीमाश शुल्क संकलन गरेका छन् ।
म्यादी जीवन बीमा कम्पनीहरुको आकर्षण
जीवन बीमा कम्पनीहरु म्यादी जीवन बीमामा आकर्षित भएको बीमा समितिको तथ्यांकले देखाएको छ । समितिको गत साउन महिनाको तथ्यांक अनुसार ४४ लाख ५३ हजार ४४६ वटा म्यादी जीवन बीमा पोलिसी सक्रिय छ । छोटो अवधिको लागि गरिने बीमालाई म्यादी जीवन बीमा भनिन्छ । ३६ लाख ४५ हजार २९५ लघु जीवन बीमा पोलिसी सक्रिय छन् । त्यस्तै, २० लाख ४१ हजार ७५२ वटा सावधिक जीवन बीमा पोलिसी सक्रिय रहेको समितिको तथ्यांकमा उल्लेख छ । यसका साथै चार लाख ४९ हजार ८८२ अग्रिम भुक्तानी सावधिक जीवन बीमा, पाँच लाख १७ हजार ५०० वटा रुपान्तरित सावधिक जीवन बीमा, नौ लाख २५ हजार ३८६ बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा पोलिसी सक्रिय छन् ।
त्यस्तै समिक्षा अवधिमा आठ लाख ७८ हजार ७७१ वटा आजिवन जीवन बीमा र २२ हजार १२६ एकल बीमा शुल्क जीवन बीमा पोलिसी सक्रिय छन् ।
