साउन महिनामा निर्जीवन बीमा कम्पनीले गरे साँढे ४ अर्ब व्यवसाय

काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले १३ खर्ब ८९ अर्ब बीमांक रकम बराबरको व्यवसाय गरेका छन् । जसबापत कम्पनीहरुले चार अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुले दुई लाख २१ हजार ६४२ वटा निर्जीवन बीमा पोलिसी जारी गरेका छन् ।
समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसायमा राष्ट्रिय बीमा कम्पनीले अग्रता लिएको छ । कम्पनीले चालु आवको पहिलो महिनामा तीन खर्ब दुई अर्ब बिमांक रकम बराबरको बीमा व्यवसाय गरेको छ । जसवापत कम्पनीले ८४ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीले तीन हजार ११२ वटा पोलिसी जारी गरेको छ ।
बीमा समितिको तथ्याक अनुसार नेपालको पहिलो नेपाल इन्स्योरेन्स कम्पनीले ११ हजार ७६७ वटा पोलिसी जारी गरेको छ । सो अवधिमा कम्पनीले एक खर्ब ४९ अर्ब रुपैयाँ बिमांक बराबरको बीमा व्यवसाय गरेको छ भने १६ करोड ६४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
हवाई बीमाको ६ वटा पोलिसी विक्री
चालु आवको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ६ वटा हवाई बीमा पोलिसी विक्री गरेका छन् । बाग्मती प्रदेशमा जारी भएको हवाई बीमा बापत १० करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । नेपालमा हवाई क्षेत्रलाई जोखिम मानिन्छ । यसको बीमांक रकम पनि उच्च हुने भएकाले नेपाली बीमा कम्पनीहरुले हवाई पोलिसी खरिद गर्न चाहदैनन् । खरिद गरे हाले पनि न्यून प्रतिशत मात्रै आफुले राखी बाँकी पुर्नबिमा गर्ने गरेका छन् ।
त्यस्तै, प्रदेश नम्बर एकमा २५ हजार १२४ वटा पोलिसी जारी भएको समितिको तथ्यांकमा छ । मधेश प्रदेशमा १८ हजार ६२७, बाग्मती प्रदेशमा एक लाख आठ हजार ४९४ वटा पोलिसी जारी भएको छ । गण्डकी प्रदेशमा २३ हजार ११०, लुम्बिनी प्रदेशमा ३२ हजार ४७८, कर्णाली प्रदेशमा तीन हजार ५९५ र सुदुरपश्चिम प्रदेशमा १० हजार २१४ पोलिसी जारी भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले सम्पति बीमा बापत एक अर्ब ६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सामुन्द्रिक बीमा बापत ३२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । मोटर बीमा बापत १ अर्ब दुई करोड बीमाशुल्क संकलन भएको छ । इन्जिनियरिगं बीमा बापत एक अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । विविध बीमा बापत कम्पनीहरुले ४५ करोड ८७ लाख रुपैयाँ संकलन गरेका छन् भने कृषि बीमा बापत २१ करोड ११ लाख बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, कम्पनीहरुले लघु बीमा बापत ६३ लाख रुपैयाँ संकलन गरेका छन् ।
