कृषि बीमा अब नि:शुल्क, तर बेखबर छन् किसान

काठमाडौं । निर्जीवन बीमा कम्पनीले गर्दै आएको कृषि बीमामा कुनै पनि रकम भुक्तानी गर्नुपर्ने छैन । कृषकहरुले शतप्रति अनुदानमा कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्न पाउँने भएका छन् ।
कृषि बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिएको छ । यसका साथै स्थानिय सरकारले २० प्रतिशतसम्म अनुदान दिने थालेका छन् । तर, पनि लक्षित कृषक भने यस्तो सुविधाबाट बेखबर छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा आर्थिक बर्ष २०७०/७१ देखि कृषि बिमाको शुरुवात भएको हो । बिमा कम्पनी तथा कृषकलाई बिमामा आकर्षित गर्न सरकारले अनुदान समेत व्यवस्था गरेको हो ।
सरकारले न्यून बर्गीय कृषकले पनि बिमाको सुविधा लिन सकोस भनी अनुदानको व्यवस्था गरेको हो, तर, लक्षित बर्गले यसको सुविधा लिन नसकेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।
लक्षित कृषकसम्म बिमाको सुचना पुग्न नसकेको नेको इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल बिमक संघका महासचिव अशोक खड्को भर्ना छ । कम्पनीहरु बढी व्यवसायिक हुँदा लक्षित वर्गसम्म पुग्न नसकेको उनको अनुभव छ ।
कृषि बीमामा छुटै-छुट
सरकारले आव २०७०/७१ साउन १ गते देखि बिमा प्रिमियममा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको हो । तर, सो आवमा कृषि बिमाले आशातित रुपमा सफलता हासिल गर्न नसकेपछि कृषकहरुलाई थप आकर्षित गर्न आव २०७१/७२ साउन १ गते देखि बिमा प्रिमियममा ७५ प्रतिशत अनुदानको व्यवस्था गरियो ।
साथै, यसअघि एक करोड रुपैयाँसम्मको बिमांक रकममा मात्रै अनुदान पाउने व्यवस्था थियो । २०७१ साउन १ गते देखि त्यो व्यवस्थालाई खारेज गरी बिमांक रकमको सीमा नै खुला गरियो । यसैगरी आव २०७२/७३ देखि मूल्य अभिवृद्धि करमा कृषकलाई छुट गरीयो ।
२०७५ साल बैशाख १ गते देखि कृषि बीमा गर्ने कृषकहरुको दुई लाख रुपैयाँको बिमांकको दुर्घटना बिमा अनिवार्य गरियो । जसअनुसार बिमा पोलिसी अवधि भित्र बिमित (कृषक) को दुर्घटनाको कारणबाट मृत्यु भएमा बिमांक रकम भुक्तानीको व्यवस्था गरियो । सो वापत कृषकले एक वर्ष वा सो भन्दा बढी अवधीको लागी रकम १०० सय प्रिमियस भुक्तानी गर्नुपर्नेछ भने सो भन्दा कम अवधिको लागि भने ५० रुपैयाँ प्रिमियम तोकियो ।
त्यस्तै, आव २०७७/७८ देखि सरकारले कृषि बिमामा ८० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । तर, ड्रागनफुड र किबी खेतीमा भने अनुदान नरहेको समितिका प्रवक्ता राजु रमण पौडेलले बताए ।
पाँच प्रतिशत कृषि बिमा पोलिसी अनिवार्य जारी गर्नुपर्ने
बिमा कम्पनीहरुले बार्षिक रुपमा जारी गरेको कुल बिमा पोलिसीमध्ये पाँच प्रतिशत अनिवार्य रुपमा कृषि बिमा जारी गरेको हुनुपर्नेछ ।
बिमा समितिले कृषि पशुपन्छी तथा जडीबुटी निर्देशिका परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । अन्य बिमाको तुलनामा कृषि बिमाको सञ्चालन खर्च अधिक छ । तसर्थ कम्पनीहरुले कृषि बिमालाई प्राथमिकतामा राख्दैनन् । त्यसैले पनि समितिले समय समयमा यस्ता अनिवार्य प्रावधानहरु राख्दै आएको छ ।
कृषिजन्य बस्तुहरु, पशुपन्छी, बाली, माछा लगायत बिभिन्न प्रकारका बालीहरुको हानी नोक्सानी भएमा त्यसको आर्थिक क्षतिपूर्तिका लागि गरिने बिमालाई कृषि बीमा भनिन्छ ।
कहिले सुख्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोगव्याधि जस्ता जोखिमकोे कारणबाट बाली नालीको क्षति हुने गर्दछ । यस्ता जोखिमबाट बचाउन बिमाको शुरुवात गरिएको हो ।
कृषि बिमा भित्र अन्नबाली, दलहन, तेलहन, तरकारी, च्याउ, फलफूल, सुख्खा फल, कन्दमूल, चिनीजन्य बाली, पेय, मसाल, फूल, घाँसेबाली, किरा (वनस्पति वर्गमा राखिने किरा वर्ग), खाद्यन्न, अन्य वनस्पतिको बिमा गरिन्छ ।
पशुपन्छीमा गाईभैसी, भेडाब्राख्रा, घोडा वर्ग, सुँगुर वर्ग, घरपालुवा जनावर, पन्छी, माछा, किरा, अन्य पशुपन्छीको बिमा गरिन्छ भने जडिबुटी अन्तर्गत रुख वर्ग, झाडी वुट्यान वर्ग र झार वर्ग पर्छन् ।
गत आव २०७८/७९ मा ३६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कृषि तथा पशु बिमा भएको छ । जसबाट कम्पनीहरुले एक अर्ब ५९ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ भने एक लाख ३४ हजार ५८७ वटा पोलिसी जारी भएको छ । जसमध्ये दुई अर्ब ४६ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको छ । जसबाट बिमा कम्पनीहरुरले १३ करोड ८२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । चार हजार १२९ बिमा पोलिसी जारी भएको ।
त्यस्तै, ३४ अर्ब २१ करोड रुपैयाँ बराबरको पशुबिमा भएको छ । जसबाट कम्पनीहरुले एक अर्ब ४५ करोड रुपैयाँ संकलन गरेका छन् भने एक लाख ३० हजार ४५८ पोलिसी जारी भएको छ ।
कुन-कुन बस्तुको बीमा गर्दा कति लाग्छ बीमाशुल्क ?
उत्पादनमा आधारित तरकारी खेतीको बीमा गर्दा प्रति बाली बीमाङ्क रकमको ७ प्रतिशत बीमाशुल्क लाग्छ । लागतमा आधारित तरकारीको प्रतिबाली ५ प्रतिशत बीमाशुल्क तोकिएको छ ।
अन्नबाली अन्तर्गत चैते धान, बीज वृद्धि र घाँसे बालीको प्रति बाली बीमाङक रकमको ५ प्रतिशत बीमाशुल्क लाग्छ । मसाल अन्तर्गत अदुवाको बीमा गर्दा प्रति बाली बीमाङ्क रकमको ७ प्रतिशत बीमाशुल्क लाग्छ भने बेसार र अलैँचीको बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तोकिएको छ ।
फलफूल अन्तर्गत मौसममा आधारित स्याउनको बीमा गर्दा प्रति बाली बीमाङ्क रकमको ८ प्रतिशत बीमाशुल्क तोकिएको छ । केरा, उखु, सुन्तला, कागती र जुनारको बीमा गर्दा भने बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।
त्यस्तै, मौरी, चिया र कफिको बीमा गर्दा पनि ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । पशुबीमा तर्फ भने पशु र बाख्राको बीमा गर्दा बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । पन्छीमा अष्ट्रिचको २ प्रतिशत, कुखुराको १.२५ प्रतिशत, लेयर्स, प्यारेन्ट र हाँसको भने ५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । कालिज बीमा भने १.२५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्छ । माछाको बीमा गर्दा २ र पोखरीको बीमा गर्दा १ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।
सो बीमाशुल्क रकममा सरकारले ८० प्रतिशत अनुदान दिएको छ भने स्थानिय सरकारले २० प्रतिशत अनुदान दिन थालेका छन् ।