१९ बीमा कम्पनीले पाए मर्जर सहमति, कहिले हुँदैछ एकीकृत कारोबार ? « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

१९ बीमा कम्पनीले पाए मर्जर सहमति, कहिले हुँदैछ एकीकृत कारोबार ?



काठमाडौं । बीमा समितिबाट १९ वटा बीमा कम्पनीले मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् ।

सहमति पाएका कम्पनीमध्ये हालसम्म दुई कम्पनीले मात्रै एकीकृत कारोबार सुरु गरेका छन् । अन्य कम्पनीले एकीकृत कारोबारको लागि बीमा समितिमा अनुमानित मिति पठाएका छन् ।

मर्जरको सहमति पाएका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा पहिला एकीकृत कारोबार गरेका छन् । कम्पनीहरूले गत वैशाख २३ गते बीमा समितिबाट पहिलो पटक सैद्धान्तिक सहमति पाएका थिए ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत साउन १ गतेनै एकिकृत कारोबार गरेर पहिलो बीमा मर्जर गरेका थिए ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले गत साउन १ गते मर्जरको लागि समितिबाट सैद्धान्तिक सहमति पाएका थिए । तर, कम्पनीहरूले आगामी फागुन देखि मात्रै एकीकृत कारोबार गर्ने भएका छन् ।

त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले पनि मर्जरको लागि गत असार ३० गते समितिबाट पहिलो सैद्धान्तिक सहमति पाएका थिए । तर, कम्पनीहरूले आगामी मङ्सिर देखि एकीकृत कारोबार गर्ने भएका छन् ।

प्राइम लाइफ ईन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ ईन्स्योरेन्स कम्पनीले गत जेठ ३ गते मर्जरको लागि बीमा समितिबाट सैद्धान्तिक सहमति पाएका थिए । यी कम्पनीहरूले आगामी असोज देखि मात्रै एकीकृत कारोबार सुरु गर्ने समितिलाई सूचना दिएका छन् ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको लागि गत असार १३ गते पहिलो पटक सैद्धान्तिक सहमति पाएका हुन् । कम्पनीले पनि आगामी असोज देखि एकीकृत कारोबार सुरु गर्नेछन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी बिच पनि मर्जरको सहमति भएको छ । कम्पनीले बीमा समितिबाट गत असार २९ गते पहिलो पटक सैद्धान्तिक सहमति पाएका थिए । यी कम्पनीले पुस २९ गते देखि एकीकृत कारोबार सुरु गर्ने जनाएका छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले मर्जरको लागि गत साउन एक गते समितिबाट मर्जरको लागि सैद्धान्तिक सहमति पाएका हुन् । कम्पनीहरूले आगामी पुसबाट मात्रै एकीकृत कारोबार सुरु गर्ने जनाएका छन् ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनी बिच गत साउन २८ गते बीमा समितिबाट मर्जरको लागि सैद्धान्तिक सहमति पाएका थिए । कम्पनीहरूले आगामी माघ १६ एकीकृत कारोबार सुरु गर्ने बताएका छन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीहरूले पनि समितिबाट गत असार ३० गते सैद्धान्तिक सहमति लिएका थिए । तर, एकीकृत कारोबार भने माघ देखि मात्रै सुरु गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्