बीमा कम्पनीको पुँजी वृद्धिका लागि तोकिएको समय घर्किदै: शिखर र नेपाल लाइफलाई छैन फिक्री, अन्यले कसरी जुटाउँदैछन् ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाइृ पुँजी वृद्धि गर्न दिएको अन्तिम समय नजिकिएको छ । प्राधिकरणले तोकेको समय अब तीन महिना मात्र बाँकी रहेको छ ।
तत्कालिन बीमा समिति (हाल बीमा प्राधिकरण)ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । प्राधिकरण जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।
प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजी आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुवीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसंग सामञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरेको हो ।
प्राधिकरणले आगामी चैत मसान्तसम्म चुक्ता पुँजी वृछि गर्न समयावधि तोकेको हो । प्राधिकरण तोकेको सो अवधिमा पुँजी वृद्धि गर्न नसकेको खण्डमा कम्पनीहरुलाई मर्जरमा जाने व्यवस्था रहेको छ । प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्वन्धी निर्देशिका, २०७६’ बमोजिम पुँजी पुर्याउनु पर्नेछ ।
सोही अनुुसार नै जीवन तथा निर्जीबन बीमा कम्पनीहरुले पनि पुँजी वृद्धि गर्न अन्य कम्पनीसंग मर्जर सम्झौता गरे । पुँजी वृद्धिका लागि १९ वटा बीमा कम्पनीहरुले एक आपसमा गाभिनका लागि मर्जर सम्झौता गरेका हुन् । सोमध्ये १० वटा निर्जीबन बीमा र ९ वटा जीवन बीमा कम्पनीरहेका छन् । ति कम्पनीहरुलाई प्राधिकरणले पनि मर्जरमा जानका लागि सैद्धान्तिक सहमति पनि दिएको थियो ।
मर्जर सहमति पाएका कम्पनीहरुमध्ये हालसम्म आधा दर्जन बीमा कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् । हालसम्म हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार गरिसकेका छन् । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले गत साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार थालेका हुन् । सानिमा र जनरल इन्स्योरेन्सले पनि गत कात्तिक ७ गतेदेखि सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । यस्तै, सूर्या लाइफ र ज्योति लाइफले पनि पुस ७ गतेदेखि नै सूर्या ज्योति लाइफको नामबाट संयुक्त कारोबार थालनी गरेका हुन् ।
मर्जर प्रक्रियामा दर्जन कम्पनी
हालस ७ जीवन बीमा र ६ वटा निर्जीबन बीमा कम्पनीको मर्जर प्रक्रियामा छन् । पुँजी वृद्धिका लागि यी कम्पनीहरुले अन्य कम्पनीसंग एक आपसमा मर्जरमा जाने निर्णय गरेका हुन् ।
हालसम्म गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ, रिलायन्स र सानिमा, महालक्ष्मी लाइफ र प्रभ लाइफ, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रिमियर र सिद्धार्थ इन्स्योस , अजोड र युनाईटेड इन्स्योरेन्स मर्जर सम्झौता गरेका छन् ।
मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जर भाँडिएको छ । कम्पनीहरुबीच स्वाप रेसियो तथा नयाँ बन्ने कम्पनीको नाम लगायतका अन्य विषयहरुमा सहमति नजुट्दा मर्जर तोेडिएको हो । प्रभु इन्स्योरेन्ससँग मर्जर तोडिए लगत्तै अजोडले यूनाइटेडसँग मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । अजोड र युनाईटेड इन्स्योरेन्स बाहेकका अन्य कम्पनीहरुले भने मर्जरमा जान प्राधिकरणबाट सैद्धान्तिक सहमति पाईसकेका छन् ।
नेपाल लाइफ बाहेकका जीवन बीमा कम्पनी पुँजी वृद्धिको विल्कप कुन ?
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी पुर्याएको छ । बीमा प्राधिकरण तोकेको अनुसार नै कम्पनीको पुँजी पुगेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यो प्राधिकरणले तोकेको चुक्ता पूँजी भन्दा ३ अर्ब ३० करोड रुपैयाँले बढी हो । यसकारण पनि नेपाल लाइफलाई पूँजी बढाउन कुनै दबाब छैन् ।
नेशनल लाइफ इन्स्योरेन्सको भने चुक्ता पुँजी पुर्याउन ३५ करोड ९५ लाख रुपैयाँ बाँकी छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । प्राधिकरणले तोकेको पुँजी वृद्धिका लागि कम्पनीले बोनस वा हकप्रद सेयर जारी गरि पुर्याउन सक्नेछ ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले भने वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । कम्पनीले ८८ प्रतिशत हकप्रद सेयर निष्काशन गरि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन लागेको हो । हकप्रद सेयर निष्काशनका लागि कम्पनीलाई प्राधिकरणले पनि सैद्धान्तिक सहमति दिईसकेको छ । हकप्रद सेयर निष्काशनको प्रस्तावसहित कम्पनी माघ ३ गते साधारण सभा समेत बोलाएको छ ।
यता, एशियन लाइफको पनि प्राधिकरण तोकेको अनुसार चुक्ता पुँजी पुर्याउन २ अर्ब ४६ करोड रुपैयाँ थप गर्नुपर्ने देखिएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।
गत पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका सूर्या ज्योति लाइफको मर्जपछिको चुक्ता पुँजी भने ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कम्पनीलाई प्राधिकरणले तोकेको अनुसार पुँजी पुर्याउन ४६ करोड रुपैयाँ थप गर्नुपर्ने देखिएको छ । अब कम्पनीले बोनस सेयर अथवा हकप्रद सेयर जारी गरि पुँजी पुर्याउनेछ ।
यस्तै, मर्जर प्रक्रियामै रहेका गुराँस, युनियन र प्राइम लाइफको चुक्ता पुँजी भने मर्जपछि ७ अर्ब बढी पुग्नेछ । यो प्राधिकरणले तोकेको अनुसार बढी नै हो । यता, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रक्रियामा छन् । यी चारै वटा कम्पनी एक आपसमा मर्जपछि पुँजी ४ अर्ब १० करोड पुग्नेछ । यो प्राधिकरणले तोकेको भन्दा ९० करोड रुपैयाँ कम हो ।
यस्तै, आइएमई लाइफको हालको चुक्ता पुँजी २ अर्ब ८० करोड, सिटिजन लाइफको १ अर्ब ७७ करोड, सन नेपाल लाइफको २ अर्ब २४ करोड र रिलायबलको २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यी चारै वटा कम्पनीहरुले सर्वसाधारणका लागि सेयर निष्काशन गरि पुँजी वृद्धि गर्ने योजनामा रहेका छन् ।
शिखर बाहेक निर्जीवन बीमा कम्पनीले कसरी जुटाउँदैछन् पुँजी ?
अधिकांश निर्जीवन बीमा कम्पनीहरुले पुँजी वृद्धिका लागि मर्जरको बाटो रोजेका छन् । हालसम्म १० वटा अन्य कम्पनीसंग एक आपसमा मर्जरमा जाने सहमति गरेका हुन् । यीमध्ये हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार गरिसकेका छन् । हिमालयन एभरेष्ट(साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स) को चुक्ता पुँजी दुई अर्ब २३ करोड रुपैयाँ र सानिमा जिआईसीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुगेको छ । अब हिमालयन एभरेष्टले २६ करोड रुपैयाँ र सानिमा जिआईसीले ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।
निजीवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सको चुक्ता पुँजी भने पुगेको छ । कम्पनीको पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ, प्राधिकरणले तोकेभन्दा बढी हो ।
मर्जर सम्झौता गरेका सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी भने क्रमशः १ अर्ब ५० करोड, १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड पुग्नेछ । यता, मर्जर सम्झौता गरेका प्रिमियर र सिद्धार्थ इन्स्योसको मर्जपछि २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
यस्तै, प्रभुसंग मर्जर भाँडेको अजोड इन्स्योरेन्सले युनाईटेड इन्स्योरेन्स मर्जर सम्झौता गरेको छ । अजोडले प्रभुसँग मर्जर तोडिएपछि यूनाइटेडसँग मर्जरमा जाने सम्झौता गरेको छ ।हाल अजोडको पुँजी १ अर्ब र यूनाइटेडको १ अर्ब ७ करोड रुपैयाँ छ । मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब बढी हुनेछ।
प्राधिकरणले तोकेअनुसार आइएमई जनरल, एनएलजी इन्स्योरेन्स, नेको र प्रभु इन्स्योरेन्सलाई क्रमशः ६८ करोड, १ अर्ब ४ करोड, ४८ करोड र १ अर्ब २१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिएको छ । हाल आइएमई जनरलको चुक्ता पुँजी चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ, एनएलजी १ अर्ब ४५ करोड, नेकोको २ अर्ब १ करोड र प्रभु इन्स्योरेन्सको १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
त्यसैगरि राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड मात्रै रुपैयाँ छ । प्राधिकरणले तोके बमोजिम पुँजी वृछिका लागि कम्पनीलाई २ अर्ब २३ करोड रुपैयाँ रकम थप गर्नुपर्ने देखिएको छ । मेट लाइफ, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स विदेशी बीमा कम्पनीका शाखा कम्पनी हुन् । विदेशी बीमा कम्पनीको हकमा भने तोकिएको न्यूनतम चूक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । निर्धारित पूँजी कायम गर्न नसकेसम्म मेट लाइफ इन्स्योरेन्सले नाफा लैजान पाउने छैन् ।
विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेका बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी (असाइन क्यापिटल) कायम गर्नुपर्नेछ ।