यी पाँच बीमा कम्पनी, जो ‘राइट सेयर’ मार्फत चुक्तापुँजी बढाउँदै छन्

काठमाडौं । थुप्रै बीमा कम्पनीहरु मर्जरमा गईरहँदा ५ बीमा कम्पनी भने संस्थापक सेयर तथा राइट सेयर जारी गरेर चुक्तापुुँजी बढाउने योजनामा देखिएका छन् ।
चार जीवन बीमा कम्पनी र १ निर्जीवन बीमा कम्पनीले संस्थापक सेयर नै थप गरेर चुक्तापुँजी बढाउन लागेका हुन् ।
जीवन बीमा तर्फ सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफले संस्थापक सेयर चुक्तापुँजी बढाउने योजना बीमा प्राधिकरणमा पेश गरेका छन् । निर्जीवनतर्फ भने एनएलजी इन्स्योरेन्सले संस्थापक सेयर थप गरेर पुँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ ।
बीमा प्राधिकरणले भन्यो,–‘अधिकांश बीमा कम्पनीहरुले चुक्ता पुँजी वृद्धिका लागि मर्जरमा जाने सहमति गरे । तर, सिटिजन लाइफ, सन नेपाल, आइएमई लाईफ, रिलायवल र एनएलजी इन्स्योरेन्स कम्पनीले भने संस्थापकले थप गर्ने योजना पेश गरेका छन् ।’
त्योअुनसार अब उक्त कम्पनीहरुको संस्थापक सेयरधनीहरुले आवश्यकअनुसार पुँजी थप गर्नेछन् । साथै, सर्वसाधारणले पनि सोही अनुपातमा हकपद सेयर खरिद गर्न पाउने छन् ।
हाल जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ । तर, आगामी चैत मसान्त भित्र जीवन कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने बीमा प्राधिकरणको निर्देशन छ ।
प्राधिकरणले गत चैत महिनामै परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको थियो । त्यसपछि अधिकांश बीमा कम्पनीहरुले मर्जर मार्फत चुक्तापुँजी पुर्याउँदै छन् । तर, यी ५ कम्पनीले भने संस्थापक सेयर थप गर्ने निर्णयमा पुगेका हुन् ।
प्राधिकरणका अनुसार हालसम्म १९ बीमा कम्पनी मर्जर प्रक्रियामा गइसकेका छन् । यी बाहेक नेपाल लाइफ, नेशनल लाइफ र नेको इन्स्योरेन्सको पहिलानै तोकिएको चुक्तापुँजी कायम गरिसकेका छन् । यसका अलावा प्रुडेन्सियल, नेपाल, आइएमई जनरल इन्स्योरेन्स भने मर्जरको लागि पाटर्नर खोजी रहेका छन् । तर, एशियन लाइफ र प्रभु इन्स्योरेन्सको भने चुक्तापुँजी बढाउने योजना अन्योलमा छ ।
प्रभुले अजोड इन्स्योरेन्ससँग मर्जर सहमती गरेको थियो । गत पुस २९ गते उक्त मर्जर सहमती तोडिएको छ । त्यसपछि अजोडले युनाइटेडसँग मर्जर सहमति गरिसकेको छ । तर, प्रभुले यस सम्बन्धी अन्य प्रक्रिया अघि बढाएको छैन ।