मोटर बीमा : ५३७ प्रतिशतले बढ्यो व्यवसाय, कम्पनीहरुले उठाए साढे ६ अर्ब बढी प्रिमियम « Arthapath.com
१९ माघ २०७९, बिहीबार

मोटर बीमा : ५३७ प्रतिशतले बढ्यो व्यवसाय, कम्पनीहरुले उठाए साढे ६ अर्ब बढी प्रिमियम



काठमाडौं । पछिल्लो समय मोटर बीमा व्यवसाय बढेको छ । निर्जीवन बीमा अन्तर्गत मोटर बीमा गर्नेहरुको संख्यामा उच्च बढोत्तरी देखिएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा नै मोटर बीमा व्यवसाय ५३७.८९ प्रतिशतले बढेको छ । नियमनकारी निकायम नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको पुस मसान्तसम्म आईपुग्दा मोटर बीमा मार्फत कम्पनीहरुले ६ अर्ब ५५ करोड १७ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, पहिलो महिना अर्थात साउनमा मोटर बीमाबाट कम्पनीहरुले १ अर्ब २ करोड ७० लाख ८४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । साउनमा कम्पनीहरुले १ लाख २७ हजार १०३ वटा मोटर बीमालेख जारी गरेका थिए । चालु आवको पुस मसान्तसम्ममा भने कम्पनीहरुले कुल ८ लाख ८४ हजार १२१ वटा मोटर बीमालेख बिक्री गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार चालु आवको भदौ महिनासम्ममा २ अर्ब ३ करोड ४४ लाख ५६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका कम्पनीहरुले असोज महिनासम्ममा भने ३ अर्ब ३९ करोड ९९ लाख ३६ हजार रुपैयाँ उठाएका थिए । यी दुवै महिनामा क्रमशः २ लाख ५२ हजार ३८५ र ४ लाख १७ हजार २७५ वटा मोटर बीमालेख बिक्री भएको हो ।

यस्तै, गत कात्तिक महिनासम्ममा भने मोटर बीमा मार्फत निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४४ करोड ७५ लाख ४३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनासम्ममा ५ लाख ७३ हजार ३५ वटा बीमालेख बिक्री भएको छ । कम्पनीहरुले पुस महिनासम्ममा भने ७ लाख २३ हजार ६४८ वटा बीमालेख बिक्रीबाट कुल ५ अर्ब ४८ करोड ११ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यसरी पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा मोटर बीमा मार्फत कम्पनीहरुले औषतमा मासिक १ अर्ब ९ करोड बराबरको बीमा शुल्क आर्जन गरेका छन् भने करिब डेढ लाखको हाराहारीमा बीमालेख बिक्री गरेको पाइन्छ । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्प लगायतका कारणले मोटरमा क्षति हुनेगर्दछन् । क्षतिबाट बच्न र सुरक्षाका लागि नै मानिसहरुले मोटर बीमा अपनाउछन् । सरकारले पनि मोटर बीमालाई अनिवार्य गरेको छ । सरकारले मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमालाई समेत अनिवार्य गरेको छ । जसको कारण नै अन्य बीमाको तुलनामा मोटर बीमा व्यवसाय बढ्दै गएको जानकारहरु बताउँछन् ।

कुनमा महिनामा कति प्रिमियम उठ्यो ?

बागमती प्रदेशबाटै उठ्यो साढे ३ अर्ब बीमा शुल्क, अन्यको कति ?

चालु आवको ६ महिनामा मोटर बीमाबाट सबैभन्दा धेरै बीमाशुल्क बागमती प्रदेशबाट संकलन भएको छ । पुस मसान्तसम्ममा बागमतीबाट सो व्यवसाय मार्फत ३ अर्ब ५३ करोड ६६ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा अन्तर्गत ४ लाख १६ हजार २८८ वटा बीमालेख बिक्री गरेका हुन् ।

दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट भने ९० करोड ८८ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । मोटर बीमाका लागि लुम्बिनी प्रदेशमा कम्पनीहरुले १ लाख ३६ हजार १४१ बीमालेख बिक्री गरेका छन् ।

सो अवधिमा सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन भएको छ । सो प्रदेशबाट मोटर बीमा मार्फत ९ करोड ८ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क उठेको हो । सो प्रदेशमा मोटर बीमा व्यवसाय गर्ने कम्पनीहरुले कुल १२ हजार ५६३ वटा बीमालेख बिक्री गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्