बीमा व्यवसायमा छैन चमक: झण्डै डेढ अर्बले घट्यो अभिकर्ता कमिशन, कुन कम्पनीले कति खर्चिए ? « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

बीमा व्यवसायमा छैन चमक: झण्डै डेढ अर्बले घट्यो अभिकर्ता कमिशन, कुन कम्पनीले कति खर्चिए ?



काठमाडौं । बीमा व्यवसायमा सुस्ताएपछि बीमा अभिकर्ताहरुले पाउने कमीशनमा पनि गिरावट आएको छ । चालु आर्थिक बर्ष २०७९/८० को पुस मसान्तसम्म जीवन तथा निर्जीवन बीमा अभिकर्ताले पाउने कमशिन झण्डै १८ प्रतिशतले घटेको हो ।

बीमा कम्पनीहरुले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई ६ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ खर्चिएका हुन् । जुन, गत आवको सोही अवधिको तुलनामा भने १७.८९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीहरुले ७ अर्ब ९ करोड १ लाख रुपैयाँ खर्चिएका छन् ।

पछिल्लो समय देखिएको तरलता अभाव, मंहगी, आर्थिक मन्दी लगायतका कारण बीमा व्यवसाय उत्साहजनक रुपमा बढ्न सकेको छैन । बीमा व्यवसायमा सामान्य अर्थात १/२ प्रतिशतको मात्रै बृद्धि छ । जवरजस्त बीमा व्यवसाय बढेपनि पुराना बीमितले पोलिसी नविकण गर्न सकेको छैनन् । साथै, नयाँ बीमा व्यवसायमा पनि बढ्न सकेको छैन । यसरी बीमा व्यवसाय नै प्रभावित भएपछि अभिकर्ता कमिशन पनि घटेको बताइएको छ । बीमा अभिकर्ताहरुलाई नयाँ व्यवसायबाट नै बढी कमिशन आउछ । तर, पछिल्लो समय नयाँ बीमा व्यवसाय बढेको छैन । बीमा व्यवासय ल्याए बापत बीमा कम्पनीहरुले अभिकर्तालाई बीमाशुल्कबाट तोकिएको मात्रामा कमिशन दिनुपर्ने कानुनी व्यवस्था छ । तर, बीमाशुल्क संकलन न्यून भएपछि कमिशन पनि घटेको बताइएको छ ।

पेशागत अभिकर्ता संघका नन्द प्रसाद तिवारीका अनुसार पछिल्लो समयमा बीमा व्यवसाय नै घटेकाले पनि अभिकर्ता कमिशनमा गिरावट आएको बताए । उनले भने,–‘अहिले कम्पनीहरुको व्यवसाय नै कम छ । व्यवसाय कम भएपछि आउने कमिशन पनि घट्छ । आर्थिक मन्दीका कारण बीमितहरुले बीमा कन्टिन्यू गर्न सकिरहेका छैन ।’ उनले अभिकर्ता प्रोत्साहनका लागि दिइने इन्सेन्टिभ पहिले जस्तो नभएको बताए । उनले भने,–‘अभिकर्ताहरुका लागि प्रोत्साहनका लागि दिईने इन्सेन्टिभ पनि पहिलेको जस्तो छैन, यो अलि कन्ट्रोल भएको छ, यस्ता कारणले पनि कमिशन खर्च घटेको छ ।’

बीमा अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिशन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन दिने गरिन्छ । अभिकर्ताले पाउने कमिसन बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुने गर्दछ । जीवन बीमा अन्तर्गत अभिकर्ताका लागि अनुमतिपत्र लिनेको संख्या ७ लाखको हाराहरीमा रहेका छन् । यता, निर्जीवन बीमा कम्पनीहरुको कमिशनको दर भने बीमा प्राधिकरणले नै नै तोक्ने व्यवस्था छ । साथै कमिशनको रकमको अतिरिक्त बिमकले बीमा अभिकर्तालाई इन्सेन्टिभ बोनस समेत दिन सक्ने भन्ने व्यवस्था गरेको छ ।

जीवन बीमा अभिकर्ता कमिशन १८.४९ प्रतिशतले घट्यो

संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन १८.४९ प्रतिशतले घटेर ६ अर्ब २० करोड २९ लाख रुपैयाँ कायम भएको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा कम्पनीहरुले अभिकर्ताका लागि ७ अर्ब ६१ करोड ८ लाख रुपैयाँ खर्चिएका थिए ।

चालु आवको ६ महिनामा प्रभु लाइफ इन्स्योरेन्सबाहेकका अन्य कम्पनीहरुको अभिकर्ता कमिशनमा गिरावट आएको छ । प्रभु लाइफले अभिकर्ताका लागि खर्चिने रकम १८.७५ प्रतिशतले वृद्धि भई १४ करोड ७० लाख ८० हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीले १७ करेड ६६ लाख रुपैयाँ खर्चिएको छ ।

चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै अभिकर्ता कमिशन खर्च नेपाल लाइफको इन्स्योरेन्सको देखिएको छ । सो अवधिमा कम्पनीले अभिकर्ता कमिशनका लागि १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ खर्चिएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीको यस्तो खर्च १६.६२ प्रतिशतले कमी हो । दोस्रो स्थानमा रहेको नेशनल लाइफले भने अभिकर्ता कमिशनका लागि ७३ लाख ९३ हजार र तेस्रो स्थानमा रहेको लाइफ नेपाल कर्पोरशेन (एलआईसी) ले ७१ करोड १८ लाख रुपैयाँ खर्चिएका छन् । सो अवधिमा सबैभन्दा धेरै अभिकर्ता कमिशन खर्च युनियन लाइफको घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा ६४ करोड ८८ लाख रुपैयाँ खर्चिएको कम्पनीले यस वर्षको सोही अवधिमा भने ३८.६६ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनका लागि साढे २७ करोड खर्चिए

चालु आवको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशनमा सामान्य गिरावट आएको छ ।

सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन १.४७ प्रतिशतले घटेर २७ करोड ६८ लाख ३० हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको सोही अवधिमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि २८ करोड ९ लाख रुपैयाँ खर्चिएका थिए ।

निर्जीवन बीमा तर्फ आधा दर्जन कम्पनीहरुको बीमा कमिशन खर्च बढेका छ । तर, अधिकांशको घटेको देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा अभिकर्ता कमिशनका लागि सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले खर्चिएको छ । सो अवधिमा कम्पनीको कमिशन खर्च ११४.४२ प्रतिशतले बढेर २ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले भने २ करोड ८४ लाख रुपैयाँ खर्चिएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १९.८३ प्रतिशतले कमी हो ।

यस्तै, सो अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीले भने अभिकर्ता कमिशनका लागि २ करोड ५७ लाख, हिमालयन एभरेष्टले २ करोड ५ लाख, अजोडले २ करोड ५ लाख रुपैयाँ खर्चिएका छन् ।

यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम अभिकर्ता खर्च गरेको छ । सो अवधिमा कम्पनीले ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ । जुन गत वर्षको समिक्षा अवधिको तुलनामा भने ५.३५ प्रतिशतले कमी हो ।


प्रतिक्रिया दिनुहोस्