‘बीमा नियमावली २०७९’ को मस्यौदालाई अन्तिम रुप दिँदै प्राधिकरण, बीमा कम्पनीहरुलाई विदेशमा शाखा खोल्न दिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले विदेशमा पनि शाखा खोल्न दिने तयारी थालेको छ । प्राधिकरणले बीमा नियमावली, २०७९ मा सो व्यवस्था गर्न लागेको हो ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नियमावली, २०७९ को मस्यौदाका सम्वन्धमा आयोजित बीमा तथा निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुसंगको छलफल कार्यक्रममा यस्तो जानकारी गराएका हुन् ।
बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रुप दिने उदेश्यसहित आयोजना गरिएको कार्यक्रम अध्यक्ष सिलवालले बीमा कम्पनीलाई विदेशमा पनि शाखा खोल्न दिने व्यस्था गर्न लागेको बताए ।
उनले बीमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका बारेमा संस्थागत रूपमा सात दिनभित्र लिखित सुझाव दिन आग्रह गरे ।
उनले भने,–‘बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइनेछ ।’
उनका अनुसार प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता र बीमितका सम्बन्धमा नियमावलीमा आवश्यक व्यवस्थाका लागि सुझावको अपेक्षा गरेको छ ।
‘बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ नेपाली बीमा कम्पनीहरूको पूँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ।’- अध्यक्ष सिलवालले भने ।
धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बीमा कम्पनीले शाखा खोल्न सक्ने र विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्ने उनको भनाई थियो । वर्षौंदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
उनले खाइपाई आएको सुविधा घटाउन नपाइने कानूनी व्यवस्था रहेकाले पनि त्यसलाई ध्यान दिनुपर्ने बताए । सोही अवसरमा अध्इक्ष सिलवालले बीमा व्यवसाय विस्तारका लागि बीमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिएका थिए ।