जीवन बीमा कम्पनीको नयाँ व्यवसाय: विजनेश ग्रोथमा नेशनल र आइएमई लाइफ अगाडि, पच्छ्याउँदै सूर्यज्योति « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय: विजनेश ग्रोथमा नेशनल र आइएमई लाइफ अगाडि, पच्छ्याउँदै सूर्यज्योति



काठमाडौं । आर्थिक मन्दीको प्रभाव जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा पनि देखिएको छ । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) २८ दशमलव ३८ प्रतिशतले घटेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आवको फागुन मसान्तसम्ममा कम्पनीहरुले २५ अर्ब ९० करोड २९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । तर, यस वर्षको समिक्षा अवधिमा भने ७ अर्ब ३५ करोड १२ लाख रुपैयाँले कमी हो । चालु आवको फागुन मसान्तसम्ममा कम्पनीहरुले नयाँ व्यवसाय अर्थात प्रथम बीमा शुल्क १८ अर्ब ५५ करोड १६ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ ।

यद्यपि, गत माघ मसान्तसम्मको तुलनामा भने कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क आर्जन) २ अर्ब ९ करोड ४४ लाख रुपैयाँ अर्थात १२.७२ प्रतिशतले बढी हो । गत माघ मसान्तसम्ममा भने कम्पनीहरुले १६ अर्ब ४५ करोड ७१ लाख ६९ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो बर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ । त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ ।

विशेषरि अर्थतन्त्रमा देखिएको विभिन्न समस्याका कारण बीमा व्यवसाय प्रभावित भएको जानकारहरु बताउँछन् । पछिल्लो समय देखिएको बैंकिङ तरलता अभाव, महंगी लगायतका कारण बीमा व्यवसाय प्रभावित भएको उनीहरुको तर्क छ । बैंकबाट कर्जा लिएपछि सम्बन्धीत ऋणीले आफ्नो जीवन बीमा गर्नुपर्ने प्रावधान पनि छ । तर, तरलता अभावका कारण कर्जा प्रवाह प्रभावित हुदाँ बीमा व्यवसाय पनि प्रभावित भएको छ । साथै, बढ्दो महंगीका कारण आम सर्वसाधारणको बीमा गर्ने क्षमता घटेको छ । नयाँ बीमितहरु बढ्न सकेका छैनन् ।

चालु आवको आठ महिनामा कम्पनीहरुले नविकरण बीमा शुल्क भने ७५ अर्ब २० करोड २१ लाख २६ हजार रुपैयाँ आर्जन गरेका छन् । जुन गत आवको फागुन मसान्तसम्मको तुलनामा भने १३.४४ प्रतिशत अर्थात ८ अर्ब ९१ करोड ३५ लाख रुपैयाँले बढी हो । गत आवको समिक्षा अवधिमा ६६ अर्ब २८ करोड ८५ लाख ६३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका थिए । गत माघ मसान्तसम्ममा भने कम्पनीहरुले नवीकरण बीमा शुल्क मार्फत ६६ अर्ब ९३ करोड ४२ लाख ५५ हजार रुपैयाँ रकम संकलन गरेका थिए ।

नेपाल लाइफको प्रथम बीमा शुल्क सबैभन्दा धेरै, दोस्रो स्थानमा नेशनल लाइफ

चालु आवको फागुन मसान्तसम्ममा सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो अवधिमा कम्पनीले ३ अर्ब ४७ करोड ३५ लाख १६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जुन गत माघ महिनाको तुलनामा भने १४.५३ प्रतिशतले बढी हो । गत माघ महिनामा भने कम्पनीले ३ अर्ब ३ करोड २८ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफले प्रथम बीमा शुल्क आर्जन १६.३९ प्रतिशतले बढाएको छ । सो अवधिमा कम्पनीले २ अर्ब ३१ करोड ९ लाख ५२ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तर, गत माघ मसान्तसम्ममा भने कम्पनीले १ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थियो । प्रतिशतका आधारमा सबैभन्दा धेरे व्यवसाय बढाउनेमा नेशनल लाइफ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले देखिएका छन् ।

चार कम्पनी प्रथम बीमा शुल्क १ अर्ब माथि

चालु आवको आठ महिनामा चार कम्पनीको प्रथम बीमा शुल्क अर्ब माथि रहेको । सो अवधिमा सूर्यज्योति लाइफ, एलआईसी नेपाल, सन नेपाल र सिटिजन लाइफको प्रथम बीमा शुल्क १ अर्ब माथि रहेको छ ।

चालु आवको फागुन मसान्तसम्ममा सूर्यज्योति लाइफले १ अर्ब ६७ करोड १४ लाख ९० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जुन गत माघ महिनाको तुलनामा भने १३.०१ प्रतिशतले बढी हो ।

यस्तै, एलआईसी नेपालले १ अर्ब ४५ करोड ३८ लाख २२ हजार, सन नेपाल लाइफ १ अर्ब २० करोड २९ लाख ३० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यी दुवै कम्पनीको प्रथम बीमा शुल्क गत माघको तुलनामा भने क्रमशः १०.६७ प्रतिशत र ९.५४ प्रतिशतले बढी हो ।

यस्तै, सो अवधिमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क आर्जन भने १ अर्ब १५ करोड ८७ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत माघ मसान्तसम्मको तुलनामा भने कम्पनीको यो शुल्क १२.९४ प्रतिशतले बढी हो ।

अन्य कुन कम्पनीको कति ?

स्रोतः नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्