नाम मात्रैका लघुबीमा, प्रतिस्पर्धा भने ठूला कम्पनीसँग, व्यवसाय विस्तार निकै चुनौतिपूर्ण

काठमाडौं । लघुबीमा कम्पनीहरुलाई अन्ततः वर्षौंदेखि नेपाली बजारमा राज गर्दै आएका ठूला बीमा कम्पनीसँग नै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ, जुन उत्तिकै चुनौतीपूर्ण पनि हुने देखिन्छ । विशेषगरी न्यून आय भएका तथा सिमान्तकृत समुदायमा बीमाको पहुँच पुर्याउने भनेर नियामक निकाय नेपाल बीमा प्राधिकरणले सातै प्रदेशमा १–१ वटा लघुबीमा कम्पनी स्थापना गर्न ७ कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।
यस अनुसार कोशी प्रदेशमा गार्डियन माइक्रो लाइफ, मधेशमा स्टार माइक्रो इन्स्योरेन्स, बागमतीमा नेपाल माइक्रो इन्स्योरेन्सले व्यवसाय गर्ने अनुमति पाएका छन् । गण्डकीमा लिवर्टी माइक्रो लाइफ, लुम्बिनीमा ट्रस्ट माइक्रो, कर्णालीमा क्रेस्ट माइक्रो लाइफ र सुदुपश्चिममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् । त्यसमा प्राधिकरणले गार्डियन र नेपाल माइक्रो इन्स्योरेन्सलाई अन्तीम स्वीकृति दिइसकेको छ । अन्य कम्पनी भने पूँजी जुटाउने लगायतका तयारीमा छन् ।
यसबैबीच प्राधिकरणले गत सोमबारमात्रै लघुबीमा कम्पनीहरुले गर्ने बीमाको सीमा एवम् दायरा तोकिदिएको छ । निर्जीवन लघुबीमा कम्पनीहरुले अधिकतम ५० लाख रुपैयाँ र जीवन लघुबीमा कम्पनीले बढीमा ५ लाख रुपैयाँसम्मको बीमा गर्न सक्ने सीमा निर्धारण भएको छ ।
निर्जीवन तर्फ घर, सम्पत्ति तथा व्यवसाय लघुबीमाका हकमा ५० लाख रुपैयाँको सीमा तोकिएको छ । इञ्जिनियरिङ बीमामा पनि ५० लाख रुपैयाँकै सिमा तोकिएको छ । दायित्व तथा मौद्रिक क्षति र अन्य प्रकारका लघुबीमाको हकमा ५ लाख रुपैयाँको सीमा तोकिएको छ ।
मोटर लघुबीमा अन्तरगत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटरजस्ता कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पो, रिक्सा र ठेलागाडाको मात्रै बीमा गर्ने अधिकार लघुबीमा कम्पनीले पाएका छन् । उनीहरुको मूल्यअनुसार बीमांक राखेर बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
यस्तै, जीवन लघुबीमा कम्पनीले ५ लाख रुपैयाँसम्मको बीमांक भएका बीमा गर्न पाउने छन् । जीवनतर्फ आजीवन, सावधिक, म्यादी र अन्य लघुजीवन बीमा गर्न सकिने भनिएको छ ।
लघुबीमा कम्पनीलाई यो सिमा तोकिनु आफैंमा सकरात्मक छ । लघुबीमा कम्पनी भएकाले यसमार्फत गरिने बीमाको सीमा सानो नै हुन्छ । यो चुनौतीको विषय होइन । चुनौतीको विषय यो हो कि, लघुबीमाका लागि तोकिएको उक्त सीमाभित्रका बीमा योजनाहरु ठूला बीमा कम्पनीले पनि सँगसँगै सञ्चालन गर्न पाउछन् । यसले भर्खरै खुलेका लघुबीमा कम्पनीहरुलाई वर्षौंदेखि संगठन बनाएका र बजारमा आफ्नो शाख तयार पारेका ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ, जुन निकै चुनौतीपूर्ण हुनसक्छ ।
वर्षाैदेखि बजारमा राज गर्दै आएका ठुला कम्पनीसँग पर्याप्त अभिकर्ता, अनुभव तथा व्यावसायिक शाखा सञ्जाल छन् । पहिला उनीहरुले लघुबीमालाई प्राथमिकता राखेका थिएनन् । तर, अहिले व्यवसाय बढाउने ठूला बीमा कम्पनीले पनि होडबाजीमा सानो आकारको बीमा गर्दै आएका छन् । त्यो अवस्थामा अब आउन लागेका नयाँ लघुबीमा कम्पनीहरुलाई ठूला बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको हो ।
प्राधिकरणले लिएको पछिल्लो चुक्ता पुँजी वृद्धिको नीतिले बीमा कम्पनीहरु मर्जरमा जान प्रेरित भएका छन् । मर्जपछि ठूला कम्पनीहरु झनै बलिया बनेका छन् । लघुबीमा कम्पनी आएसँगै ठूला कम्पनीलाई न्यून बीमांकका बीमा गर्न रोक लगाउँदा पनि हुने हो । तर, ठूला बीमा कम्पनीलाई साना आकारको बीमा व्यवसाय गर्न रोक लगाइएको छैन । त्यसो गर्दा ठूला कम्पनीको हातबाट बीमाको विशाल बजार नै खोसिनसक्ने अवस्था बन्छ भनेर नियामक जोगिन खोजेको छ ।
यद्यपि, यो सही हो कि गलत, त्यो बहस तथा छलफलको विषय हो । तर, यसैका कारण लघुबीमा कम्पनीहरुलाई बजारमा निकै चुनौती हुने भएको छ । यसैपनि नेपालमा लघुबीमा नौलो अभ्यास हो । त्यस अनुसार यस सम्बन्धी अनुभवी कर्मचारी नै पाइँदैन । तर, ठूला कम्पनीको अनुभवले पनि यसमा काम गर्न सकिन्छ भन्ने धेरैको विस्वास छ । सोही अनुसार लघुबीमा कम्पनीमा ठूला बीमा कम्पनीहरुबाट नै कर्मचारी तान्नुपर्ने हुन्छ । यसरी कर्मचारी तान्नखोज्दा उनीहरुलाई खाईपाई आएको तलव भन्दा बढी नै दिनुपर्ने हुन सक्छ । तर, भर्खर स्थापना भएका कम्पनीसँग बढी तलव सुविधा दिन सक्ने क्षमता हुँदैन ।
दुर दराजमा गएर काम गर्नुपर्ने हुँदा उनीहरुको लागत पनि ठूला कम्पनीको तुलनामा बढी नै हुन्छ । यस्ता थुप्रै चुनौतीका माझ लघुबीमा कम्पनीले नविन व्यवसाय सुरु गर्न खोजिरहेका छन् । यसले बैंकिङ क्षेत्रमा उस्तै काम गर्ने गरी ठूला बैंकसँग प्रतिस्पर्धा गर्न फाइनान्स कम्पनीहरुलाई उतारेजस्तै अवस्था आउने हो की भन्ने देखिएको छ ।
साना संस्थाहरुलाई अलग्गै क्षेत्राधिकार दिएर उनीहरुको प्रभावकारी नियमन हुन सकेन भने यसले लघुवित्त र फाइनान्स कम्पनीमा जस्तै अनेक समस्या खडा गर्न सक्छ । भविष्यमा लघु बीमाको सोच नै गलत साबित हुनबाट रोक्न नियामकले अहिलेदेखि नै विशेष ख्याल गर्नुपर्ने जानकारहरु बताउँछन् ।