अन्ततः बीमा कम्पनीलाई थपियो पुँजी बढाउने म्याद, असारभित्र पुर्याउनुपर्ने « Arthapath.com
४ बैशाख २०८०, सोमबार

अन्ततः बीमा कम्पनीलाई थपियो पुँजी बढाउने म्याद, असारभित्र पुर्याउनुपर्ने



काठमाडौं । बीमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउन तीन महिना म्याद थप गरिएको छ । नेपाल बीमा प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

बीमा कम्पनीहरुलाई चुक्तापुँजी बढाउन दिइएको समय गत चैत मसान्तमै सकिएको थियो । तर, अधिकांश कम्पनीले अझै चुक्तापुँजी पुर्याएका छैनन् । सोही अवस्थालाई दृष्टिगत गर्दैै कम्पनीहरुलाई आगामी असार मसान्तसम्मको समय दिईएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । प्राधिकरणले २०७८ चैतमा यस सम्बन्धी निर्देशन जारी गरेको थियो । तोकिएको पुँजी वृद्धिका लागि पहिलो पटक गत चैत मसान्तको म्याद दिइएको थियो । तोकिएको समयमा पुँजी नपुर्याए म्याद थप नहुने र कम्पनीहरुलाई कारवाही गरिने बताउँदै आएको थियो । तर, आगामी असार मसान्तसम्मलाई म्याद थप गरेको हो ।

पुँजी वृद्धिका लागि चार कम्पनीले उठाएनन् ठोस् कदम

हाल चार वटा बीमा कम्पनीले पुँजी वृद्धिका लागि ठोस कदम अघि बढाएका छैनन् । विशेषगरि प्रभु, नेपाल, एशियन लाइफ र राष्ट्रिय बीमा कम्पनीले पुँजीबृद्धिको लागि अहिलेसम्म ठोस कदम नउठाएका हन् । बिशेषगरि यिनै कम्पनीहरुले थपिएको म्यादमा चुक्तपुँजी बढाउने प्रक्रिया अगाडि बढाउनुपर्नेछ । त्यसमा मर्जरलाई नै जोड दिनुपर्नेछ । किनकी, चुक्तापुँजी बढाउनकै लागि राइट सेयर जारी गर्न नदिने प्राधिकरणको नीति छ । यदि, थपिएको म्यादमा पनि कम्पनीहरुले पुँजी बढाउने प्रक्रिया अघि नबढाए कारवाही गरिने प्राधिकरणले जनाएको छ । बिशेषगरि कारोबारमा सिमा तोकिने प्राधिकरणको योजना छ ।

यसअघि पनि थियो पुँजीवृद्धिको नीति, म्याद थपपछि नै पुर्याएका थिए पुँजी

बीमा प्राधिकरणले यसअघि पनि बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने नीति ल्याएको थियो । पहिला जीवन बीमा कम्पनीको ५० करोड र निर्जीवन बीमा कम्पनीको २५ करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो ।

पछि २०७४ माघ १३ गते तत्कालिन बीमा समिति (हालको प्राधिकरण)ले जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । त्यसका लागि पहिलोपटक २०७५ असार मसान्तसम्मको म्याद दिइएको थियो । त्यस अवधिमा कम्पनीहरूले चुक्तापूँजी पुर्याउन नसकेपछि दोस्रोपटक २०७५ पुस मसान्त र तेस्रोपटक २०७६ असार मसान्तसम्मको म्याद दिएको थियो । त्यसपछि बल्ल बीमा कम्पनीहरुले चुक्तापुँजी बढाएका थिए ।


प्रतिक्रिया दिनुहोस्