पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई प्राधिकरणले माग्यो कारण, के गर्दैछन् मर्जरमा नगएका कम्पनीहरु ? « Arthapath.com
१९ बैशाख २०८०, मंगलवार

पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई प्राधिकरणले माग्यो कारण, के गर्दैछन् मर्जरमा नगएका कम्पनीहरु ?



काठमाडौं । गत चैत मसान्तसम्ममा तोकिएका चुक्ता पुँजी नपुर्‍याएका बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले कारण पेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले अघिल्लो वर्ष अर्थात २०७८ चैतमै एक निर्देशन जारी गर्दै २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्न भनेको थियो । तर, त्यो अवधिमा ४ बीमा कम्पनी बाहेक अन्यले तोकिएको चुक्तापुँजी पुर्याएका छैनन् । त्यसपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तपुँजी पुर्याउन नसक्नुको कारण पेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले बीमक दर्ता तथा व्यवसाय संचालन सम्वन्धी (दोस्रा संशोधन) निर्देशिका २०८० लागू गरेको छ । बीमा ऐन २०७९ को दफ १६६ को अधिकार प्रयोग गरि प्राधिकरणले बीमक दर्ता तथा व्यवसाय संचालन सम्वन्धी निर्देशिका २०७३ लाई संशोधन गरेको हो । सो निर्देशिका अनुसार बीमा कम्पनीहरुको चुक्ता पुँजी पुर्याउने समय थप गरेको छ । यद्यपि, तोकिएको म्यादमा पुजी पुर्याउन नसकेका बीमा कम्पनीहरुलाई प्राधिकरणले कारण मागेको हो । त्यस्तो कारण सहित निवेदन पेश गरेमा चुक्तापुँजी बढाउन तीन महिना अर्थात् आगामी असार मसान्तसम्म म्याद दिइने प्राधिकरणको भनाइ छ । अन्यथा म्याद थप नगरिने र अन्य कारवाही गर्न सकिने प्राधिकरणको भनाइ छ । यसअघि जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो ।

चार कम्पनीको मात्रै न्युनतम चुक्ता पुँजी कायम

हालसम्म आउँदा चार कम्पनीले मात्रै न्यूनतम चुक्तापुँजी कायम गरेका छन् । जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुगेको छ । उक्त कम्पनीको चुुक्तापुँजी पहिलादेखि नै ५ अर्ब रुपैयाँ थियो । हाल त्यसको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यता निर्जीवन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड रुपैयाँ, शिखरको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ र सगरमाथा इन्स्योरेन्सको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस बाहेक अन्य कम्पनीको चुक्तापुँजी तोकिएअनुसार पुगको छैन ।

यसबीच थुप्रै बीमा कम्पनी मर्ज भइ एकीकृत कारोबार सुरु गरेका छन् । तर, पनि उनीहरुको चुक्तापुँजी पुगेको छैन । कतिपय भने मर्जर प्रक्रियामा पनि छन् । त्यसपछि उनीहरुको चुक्तापुँजी बढ्न सक्नेछ । तर, कतिपयले भने अझै चुक्तापुँजी बढाउने पहल गरेका छैनन् ।

मर्जरमा नगएका कम्पनीको योजना के ?

मर्जरमा गएर पनि चुक्तापुँजी नपुगेका कम्पनीले राइट सेयर (हकप्रद सेयर) मार्फत चुक्तापुँजी पुर्याउदैछन् । प्राधिकरणले उनीहरुलाई आवश्यकता अनुसार राइट सेयर जारी गर्न दिने भनिसकेको छ । तर, मर्जरमा नगएका कम्पनीहरु आफ्नै आफ्नै ढंगले चुक्तापुँजी पुर्याउने योजनामा छन् । प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले आगामी असारसम्म पुँजी बढाउने आश्वसन दिएका छन् । प्राधिकरणको स्रोतका अनुसार प्रभु इन्स्योरेन्सले पार्टनर खोजी रहेको छ । नेपाल इन्स्योरेन्सले भने आफ्नो अचल सम्पत्ति बिक्री गरी पुँजी बढाउने योजना बनाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले पनि आफै पुँजी थप्ने योजनामा छ । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ । त्योअनुसार उक्त कम्पनीले ४९ करोड रुपैयाँ पुँजी थप गरे पुग्ने देखिएको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्समा मुख्य लगानीकर्ता अर्थात् माउ कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले नै पुँजी थप गर्ने योजना बनाएको छ । साथै, सोही माउ कम्पनी नेशनल लाइफ आफ्नैको पनि पुँजी पुगेको छैन । हाल उसको चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १४.५ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, त्यसपछि भने कम्पनीको चुक्तापुँजी पुग्नेछ ।

यस्तै, नयाँ ४ जीवन बिमा कम्पनीहरूले संस्थापक सेयर थप गरेर तथा आइपीओबाट चुक्ता पुँजी पुर्याउने योजनामा छन । सिटिजन्स लाइफ, सन नेपाल, रिलायबल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले हालसम्म आईपीओ जारी गरेका छैनन् । यी कम्पनीहरूले पहिला संस्थापक सेयर थप गर्ने योजनामा छन् । त्यसपछि आईपीओ जारी गर्ने उनीहरुको तयारी छ । यसमा कतिपय कम्पनीहरु प्रिमियम मुल्यमै आईपीओ जारी गर्दैछन् ।

यसपछि नपुगेको चुक्तापुँजी भने हकप्रद मार्फत उठाउने उनीहरूको योजना छ । हालसम्म सिटिजन लाइफको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । सन नेपाल लाइफको २ अर्ब २४ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८० करोड र आइएमई लाइफको २ अर्ब ८० करोड छ ।

के छ विदेशी कम्पनीको तयारी ?

विदेशी कम्पनी मेटलाइफ नेपाल, नेसनल र दी ओरियन्टल इन्स्योरेन्समा विदेशकै प्रवद्र्धक कम्पनीले लगानी थप गर्दैछन् । एलआईसी नेपालमा एलआईसी इन्डीयाले पुँजी थप गर्दैछ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ ।

यसबाहेक अन्य कम्पनीहरुको चुक्तापुँजी भने छैन । हालसम्म उनीहरु चुक्तापुँजी बराबरको छुट्टै कोष बनाएर सञ्चालन छन् । त्यो अवस्थामा उनीहरुले उक्त कोषमा तोकिएकै चुक्तापुँजी बराबरको रकम थप्नुपर्ने व्यवस्था छ । उक्त कोषमा तोकिएको पुँजी नपुगेसम्म कम्पनीहरुले मुनाफा लैजान नपाउने व्यवस्था पनि गरिएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थान र एसियन लाइफले भने अझै पुँजी वृद्धिको योजना प्राधिकरणमा बुझाएका छैनन्  । यद्यपि, राष्ट्रिय बीमा संस्थान भने गत कात्तिकमा नयाँ बीमा ऐन २०७९ आएपछि मात्रै प्राधिकरणको नियमनमा आएको हो । उसलाई १ बर्ष भित्र पब्लीक कम्पनीमा रुपान्तरण हुनुपर्नेछ । त्यसअनुसार राष्ट्रिय बीमा संस्थानलाइ भने तत्काल पुँजी बढाउने दवाव छैन ।


प्रतिक्रिया दिनुहोस्