आर्थिक मन्दीको प्रभाव: १ महिनामै ९ हजार बढी बीमा पोलेसी बन्द, १ अर्ब १८ करोडको सरेन्डर

काठमाडौं । एक महिनामा बीमा पोलेसी त्याग (सरेन्डर) सवा खर्ब नाघेको छ । जीवन बीमा गर्ने बीमितहरुले गत चैत महिनामा १ खर्ब १८ करोड ६ लाख रुपैयाँ बढीको बीमा पोलेसी सरेन्डर गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चैत महिनामा ९ हजार ३५८ जना बीमितले बीमा पोलेसी सरेन्डर गरेका हुन् ।
विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिस) को संख्या र सरेन्डर रकम बढ्दै गएको छ । बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।
पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ । यसअघि बीमा गरेको २ बर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक बर्षदेखि त्यसको न्यूनतम सिमा तीन बर्ष पुर्याइएको बीमा प्राधिकरणले जनाएको छ ।
चैत महिनामा सबैभन्दा धेरै बीमा पोलेसी नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । सो महिनामा कम्पनीको ४२ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । कम्पनीका २ हजार ६९८ बीमितले सो रकम बराबरको पोलेसी सरेन्डर गरेका हुन् ।
दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)का १ हजार ५५५ बीमितले १८ करोड ३७ लाख ९६ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका छन् ।
यस्तै, राष्ट्रिय बीमा संस्थानको १० करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । कम्पनीका १ हजार ४२३ बीमितले सो रकम बराबरको पोलेसी सरेन्डर गरेका हुन् ।
यता, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५२१ बीमितले पोलेसी सरेन्डर गरेका छन् । चैतमा कम्पनीको १० करोड ४८ लाख ५८ हजार रुपृयाँ बराबरको पोलेसी सरेन्डर भएको हो ।
त्यसैगरि साविकको गुराँस लाइफका २७० बीमितले ७ करोड ८५ लाख १० हजार रुपैयाँ र नेशनल लाइफका ६६२ बीमितले ७ करोड ७३ लाख १९ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका छन् ।
चैत महिनामा मेट लाइफको ५ करोड ५८ लाख ४१ हजार, एशियन लाइफको ४ करोड २२ लाख ८८ हजार, प्राइमको २ करोड ८३ लाख ६० हजार, सिटिजन लाइफको १ करोड ३४ लाख र आइएमई लाइफको १ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका छन् ।
यस्तै, सानिमा रिलायन्स ९१ लाख ३२ हजार, रिलायवल नेपाल ७५ लाख ९ हजार, महालक्ष्मीको ७१ लाख ३९ हजार, प्रभुको ५४ लाख र सन नेपाल लाइफका भने ३२ लाख ३३ हजार रुपैयाँ बराबरको पोलेसी सरेन्डर भएको छ । यी कम्पनीहरुका क्रमश: ८६, ११४, ३१, ३८, र ३१ जन बीमितले सो रकम बराबरको बीमा पोलेसी सरेन्डर गरेका हुन् ।