ठगी गर्ने अब ‘बीमा सूचना केन्द्र’को कालो सूचीमा: अघि बढ्यो केन्द्र स्थापनाको प्रक्रिया, कसरी हुन्छ काम ? « Arthapath.com
८ असार २०८०, शुक्रबार

ठगी गर्ने अब ‘बीमा सूचना केन्द्र’को कालो सूचीमा: अघि बढ्यो केन्द्र स्थापनाको प्रक्रिया, कसरी हुन्छ काम ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । बीमा क्षेत्रमा हुने ठगीका क्रियाकलापलाई नियन्त्रण गर्ने गरि बीमा सुचना केन्द्र स्थापना गरिने भएको हो । केन्द्र स्थापनाका लागि प्राधिकरणले यसको प्रक्रिया अघि बढाएको हो ।

गत कात्तिकदेखि कार्यान्वयनमा आएको नयाँ बीमा ऐन, २०७९ मा भने बीमा सुचना केन्द्रको परिकल्पना गरिएको छ । बीमा ऐनको दफा १४३ को उपदफा ४ मा बीमा सम्बन्धी सूचना संकलन गरी अभिलेख राख्ने, बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको छ । सोही बमोजिम नै प्राधिकरणले बीमा सुचना केन्द्र स्थापना गर्न लागेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

यसबारे प्राधिकरणले अर्थ मन्त्रालयमा पेश गरेको गरेको बीमा विनियमावली, २०८० मा अझ स्पष्ट व्यवस्था गरिएको छ । अब मन्त्रीपरिषद्बाट त्यो विनियमावली स्वीकृति भएपछि यसको थप प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ । बैंकिङ क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले पहिलेदेखि नै कर्जा सुचना केन्द्र सञ्चालन गरिरहेको छ । अहिले आएर बीमा क्षेत्रमा हुने ठगीलाई पनि नियन्त्रण गर्ने गरि बीमा सुचना केन्द्र स्थापना गर्न लागिएको कार्यकारी निर्देशक पौडेलको भनाई छ । त्यसपछि यसको सञ्चालनको लागि छुट्टै कार्यविधि पनि जारी गरिने पौडेलले बताए । त्यस अन्तर्गत रहेर छुट्टै कम्पनी स्थापना गरि बीमा सुचना केन्द्र स्थापना गरिनेछ । जुन सुचना केन्द्रले बीमा क्षेत्रमा हुने गठी लगायतका सुचना संकलन गरि सार्वजनिक गर्नेछ ।

अहिले ऋणीहरुले समयमा ऋण नतिरेमा, बैंक सम्बन्धी ठगी गरेमा कर्जा सुचना केन्द्रले कालो सुचीमा राख्ने गर्छ । र, त्यस्ता व्यक्ति तथा कम्पनीलाई बैंकहरुले थप ऋण दिन पाउँदैनन् । त्यसले बैंकिङ क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न सहयोग पुगेको छ । अब स्थापना हुने बीमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ । ‘सुचना केन्द्रले बीमा क्षेत्रमा फैलिएको ठगी, जालसाजी, किर्ते लगायतका अपराध, अस्वभाविक वा शंकास्पद बीमा गतिविधि गर्ने बीमित तथा व्यक्तिलाई कालो सुचीमा राख्नेछ । त्यसपछि बीमा कम्पनीहरुले त्यस्ता व्यक्तिलाई थप बीमा सेवा उपलब्ध नगराउने नीति ल्याइने छ’–निर्देशक पौडेलले भने ।

बीमाक्षेत्रमा पहिलेदेखि नै विभिन्न प्रकारका ठगी तथा अपराधका गतिविधि हुँदै आएका थिए, जुन पछिल्लो समय बढ्दै पनि गएको छ । दोहोरो दाबी भुक्तानी लिने, किर्ते कागज बनाई झुक्काएर भुक्तानी लिने, बीमा गराएर बीमितको हत्या गरि भुक्तानी लिने प्रवृत्ति देखिन थालेको छ । बीमा रकम दाबी गर्न छोरीको हत्या गर्ने तथा औद्योगिक क्षेत्रमा आपैm आगलागी गर्ने जस्ता गतिविधि भएको पाइन्छ । अनावश्यक रुपमा पोलिसी सरेन्डर गर्ने गरेको पनि पाइन्छ । साथै, अन्य प्रकृतिका ठगी तथा अपराध हुन सक्ने सम्भावना पनि हुन्छ । बीमा सूचना केन्द्रले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने पौडेलले बताए ।

पहिले बीमामा ठगी गर्ने व्यक्ति वा संस्थालाई बीमा प्राधिकरण वा सम्वद्ध कम्पनीले मात्र चिन्थे । अन्य कम्पनीहरुलाई भने त्यसबारे जानकारी हुने थिएन । त्यसपछि उनीहरूले अर्काे कम्पनीमा गएर पुन: ठगी गर्न सक्थे । तर, बीमा सूचना केन्द्र आएपछि त्यस्ताले व्यक्ति वा संस्थाले पुन: ठगी गर्ने अवसर नपाउने बताइएको छ । किनकी, कुनै एक कम्पनीमा ठगी गर्ने व्यक्तिलाई केन्द्रले सार्वजनिक रुपमै कालोसुचीमा राख्नेछ । साथै, बीमा सेवा लिन चाहाने व्यक्तिलाई कम्पनीले केन्द्रको कालो सुचीमा भए नभएको पनि क्रस चेक गर्नुपर्छ । त्यसपछि मात्रै बीमा सेवा दिने नदिने भन्ने विषयमा निर्णय गर्नुपर्छ ।

केन्द्रले त्यस्तो ठगी तथा अपराध गर्ने व्यक्तिलाई बीमा सुचना केन्द्रको कालो सुचीमा राखिने छ । त्यसले बीमा क्षेत्रमा हुने गठीको नियन्त्रण सहयोग पुग्ने छ । कुनै पनि व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने विषय सामान्य होइन । त्यसको डरले बीमा हुने ठगी नियन्त्रण हुने अपेक्षा गरिएको छ । यद्यपि, कालोसुचीमा पर्ने सम्बन्धी व्यक्ति तथा संस्था त्यसबाट हट्न मिल्ने व्यवस्था पनि गरिनेछ । त्यसपछि भने त्यस्ता व्यक्ति तथा संस्थाले बीमा सेवा पाउन सक्नेछन् ।

प्राधिकरणले बीमा कम्पनीहरूसँगको सहकार्यमा बीमा सूचना केन्द्रको स्थापना गर्ने प्रक्रिया अगाडि हो । उनीहरुको समेत सेयर स्वामित्व हुने गरि पब्लीक कम्पनीको रुपमा बीमा सुचना केन्द्र स्थापना गरिनेछ । हाल नेपालमा १५ जीवन, १४ निर्जीवन र २ पनुर्बीमा कम्पनी सञ्चालनमा छन् । त्यो बाहेक ७ लघबीमा कम्पनी पनि सञ्चालनमा आउँदैछन् । उनीहरु सबैलाई यसमा संलग्न गराइने छ । प्रारम्भिक चरणमा बीमा सूचना केन्द्रको व्यवस्थापन पक्षको जिम्मेवारी प्राधिकरणले नै लिनेछ ।

विदेशी मुलुकका बीमा बजारमा पहिलादेखि नै यस्ता प्रकृतिका सूचना केन्द्र सञ्चालन छन् । तर, साढे ७ दशक इतिहास भएको नेपाली बीमा क्षेत्रमा अहिलेसम्म यस्तो प्रकृतिको सुचना केन्द्र स्थापना भएको छैन । तर, पनि बैंक तथा वित्तीय संस्थामा हुने ठगीलाई नियन्त्रण गर्न पनि १९८९ मा नै कर्जा सूचना केन्द्र स्थापना गरिएको थियो । सन् २००५ पछि स्वायत्त संस्थाको रूपमा त्यसलाई अघि बढाइएको छ ।

सुचना केन्द्रले कसरी गर्छ काम ?

यसमा बीमा कम्पनीहरुले सुचनाको मुख्य तथा ठुलो स्रोत हुन् । बीमा कम्पनीहरूले आफ्ना ग्राहकको जानकारी सूचना केन्द्रमा पठाउनुपर्ने हुन्छ । प्राप्त जानकारीको आधारमा सूचना केन्द्रले ठगी गर्ने व्यक्ति वा संस्थाको पहिचान गरेर कालोसूचीमा राख्न सक्नेछ ।

बीमा कम्पनीहरु आफैले तोकेर पनि व्यक्ति तथा संस्थालाई कालो सुचीमा राख्ने गरि सिफारिस गर्न सक्नेछन् । त्यसपछि केन्द्रले उनीहरुलाई कालोसुचीमा राख्नेछ । त्यसपछि तोकिएको शर्त पुरा गरेपछि उनीहरुलाई कालोसुचीबाट हटाइने छ । केन्द्रको कामलाई कार्यविधिमार्फत अझ स्पष्ट व्यवस्था गरिने प्राधिकरणको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्