कर्मचारी खुसी पार्दै सिटिजन, आइएमई र रिलायवल लाइफ, ओरालाे लाग्दै एशियन र मेट लाइफ !

काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीहरूले पाउने बोनस ४५.७४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको नाफाबाट कम्पनीहरूले आफ्ना कम्पनीहरूलाई ५६ करोड बढी बोनस दिने भएका हुन् ।
सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना कर्मचारीहरूलाई ५६ करोड २४ लाख ३८ हजार रुपैयाँ बोनस दिने भएका हुन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
जीवन बीमा कम्पनीहरूले कर्मचारी बोनसका लागि छुट्टाउने रकम अघिल्लो वर्षको तुलनामा ४५.७४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीहरूले ३८ करोड ३९ लाख रुपैयाँ बोनसका लागि छुट्टाएका थिए ।
अघिल्लो वर्ष बोनस नदिएको नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि गत वर्षको मुनाफाबाट कर्मचारीका लागि बोनस छुट्टाएको छन् । नेपाल लाइफका कर्मचारीले ९ करोड २९ लाख २१ हजार रुपैयाँ बोनस पाउने भएका छन् । यता, एलआईसीका कर्मचारीले भने २ करोड ३९ लाख २३ हजार रुपैयाँ बोनस पाउने भएका हुन् ।
समीक्षा अवधिमा अधिकांश कम्पनीहरूको कर्मचारी बोनस उच्च दरमा नै वृद्धि भएको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै कर्मचारी बोनस वृद्धिमा सन नेपाल लाइफ अगाडि देखिएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीले कर्मचारीलाई दिने बोनस २११.७२ प्रतिशतले बढाएर ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ ।
यता, सिटिजन लाइफ र आइएमई लाइफ पनि कर्मचारीको बोनस वृद्धिमा शीर्ष स्थानमा नै छन् । गत वर्ष सिटिजनले आफ्ना कर्मचारीका लागि छुट्टाउने बोनस ६५.८८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको मुनाफाबाट सिटिजनका कर्मचारीले २ करोड २३ लाख ४८ हजार रुपैयाँ बोनस पाउनेछन् । यस्तै, आइएमई लाइफका कर्मचारीले भने २ करोड ६८ लाख २१ हजार रुपैयाँ बोनस पाउने भएका छन् । कम्पनीको बोनस अघिल्लो आवको तुलनामा भने ७८.२३ प्रतिशतले वृद्धि भएको हो ।
गत वर्षको मुनाफाबाट प्रत्येक कम्पनीका कर्मचारीहरूले औसतमा ४ करोड रुपैयाँ बोनस पाउने देखिएको छ । तर, कम्पनीको नाफा र वित्तीय अवस्था अनुसार फरक फरक हैसियतमा छन् । समग्रमा जीवन बीमा कम्पनीहरूले कर्मचारीलाई बोनस बापत दिने रकम बढाएका छन् । यसले कर्मचारी प्रोत्साहनका लागि कम्पनीहरू अग्रसर नै मान्न सकिन्छ ।
यद्यपि, तुलनात्मक रूपमा चार वटा बीमा कम्पनीका कर्मचारी भने निराश बन्ने देखिएको छ । अघिल्लो वर्षको तुलनामा नेशनल लाइफ, मेट लाइफ, एशियन र राष्ट्रिय बीमा कम्पनीका कर्मचारी निराश हुने देखिएको हो । अघिल्लो वर्षको तुलनामा यी कम्पनीहरूले कर्मचारीका लागि छुट्टाउने बोनस घटेको छ ।
नेशनल लाइफका कर्मचारीले अघिल्लो वर्ष ८ करोड ५३ लाख रुपैयाँ बोनस पाएका थिए । तर, गत वर्ष भने कम्पनीले ४ करोड ८३ लाख रुपैयाँ मात्रै छुट्टाएको देखिन्छ ।
कर्मचारी निराश बनाउनेको सूचीमा रहेको एशियन लाइफको बोनस रकम पनि ७.१९ प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले कर्मचारी बोनसका लागि ३ करोड २६ लाख रुपैयाँ छुट्टाएको छ। यस्तै, मेट लाइफका कर्मचारीले पाउने बोनस पनि ३५.२० प्रतिशतले घटेको छ। गत वर्षको नाफाबाट कम्पनीले कर्मचारी बोनसका लागि ४ करोड ४८ लाख रुपैयाँ छुट्टाएको छ ।
यस्तै, हिमालयन लाइफका कर्मचारीले पनि ६ करोड ४५ लाख रुपैयाँ बोनस पाउने भएका छन् । कम्पनीले आफ्ना कर्मचारीका बोनसका लागि छुट्टाउने रकम अघिल्लो वर्षको तुलनामा ४९.३८ प्रतिशतले बढेको हो । कर्मचारी बोनसमा सानिमा रिलायन्सको ३७.८८ प्रतिशत, प्रभु महालक्ष्मीको ४४.६८ प्रतिशत, सूर्य ज्योतिको १२.६७ प्रतिशत, रिलायवल नेपालको ५७.२७ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षको मुनाफाबाट सानिमाका कर्मचारीले २ करोड ४३ लाख रुपैयाँ, प्रभु महालक्ष्मीकाले १ करोड १६ लाख, सुर्य ज्योतिकाले ४ करोड ६७ लाख र रिलायवलकाले ४ करोड ८३ लाख रुपैयाँ पाउनेछन् ।
कर्मचारी बोनसका लागि कुन कम्पनीले कति छुट्याए ?
