कर्मचारीलाई १ अर्ब ३३ करोड बढी बोनस बाँड्दै बीमा कम्पनी: जीवनभन्दा निर्जीवनको धेरै, कसले कति बढाए ?

काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरूले पाउने बोनसमा उच्च वृद्धि भएको छ । कम्पनीहरूले आफ्ना कर्मचारी दिने बोनस ४४.५५ प्रतिशतले वृद्धि गरेका हुन् ।
सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना कर्मचारीहरूलाई १ अर्ब ३३ करोड ८३ लाख रुपैयाँ बोनस बाँड्ने भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड २४ लाख रुपैयाँले बढी हो ।
बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुटाउने पर्ने व्यवस्था छ । बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही बमोजिम बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था बापत सो रकम छुट्ट्याएका हुन् ।
हाल १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । ती कम्पनीहरूले गत वर्ष कमाएको मुनाफाबाट सो बराबरको बोनस बाँड्न लागेका हुन् । गत वर्ष जीवन बीमा कम्पनीहरूले नाफा ५४.०९ प्रतिशतले वृद्धि गरी ४ अर्ब ६४ करोड ९ लाख पुर्याएका छन् । यता, निर्जीवन बीमा कम्पनीहरूले भने ४४.६९ प्रतिशतले बढाएर ५ अर्ब १७ करोड ९० लाख रुपैयाँ पुर्याएका छन्।
कर्मचारीलाई बोनस मार्फत खुसी पार्न वृद्धिदरका आधारमा भने जीवन बीमा कम्पनी अघि देखिएका छन् । अघिल्लो वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको कर्मचारीले पाउने बोनस ४५.७४ प्रतिशतले वृद्धि भएको छ । तर, रकमका आधारमा भने निर्जीवन बीमा कम्पनी नै अघि छन् । गत वर्षको मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरूले आफ्ना कर्मचारीलाई साढे ७७ करोड बढी बोनस बाँड्ने भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ४३.७० प्रतिशतले बढी हो । समग्रमा बीमा कम्पनीहरूले कर्मचारीलाई बोनस बापत दिने रकम बढाएका छन् । यसले कर्मचारी प्रोत्साहनका लागि कम्पनीहरू अग्रसर नै मान्न सकिन्छ ।
जीवन बीमाका कर्मचारीले ५६ करोड २४ लाख बोनस पाउने, बोनस वृद्धिमा सन नेपाल, सिटिजन, आइएमई अगाडि
गत वर्षको नाफाबाट जीवन बीमा कम्पनीका कर्मचारीहरूले ५६ करोड २४ लाख रुपैयाँ बोनस पाउने भएका छन् । जुन, अघिल्लो वर्षको तुलनामा ४५.७४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भने कम्पनीहरूले ३८ करोड ५९ लाख रुपैयाँ बोनस कर्मचारीका लागि वितरण गरेका थिए ।
सबैभन्दा धेरै बोनस बाँड्नेमा नेपाल लाइफ छ । यद्यपि, कम्पनीमा कर्मचारी पनि धेरै छन् । गत वर्षको नाफाबाट नेपाल लाइफले आफ्ना कर्मचारीलाई ९ करोड २९ लाख रुपैयाँ बोनस दिने भएको छ । अघिल्लो वर्ष भने कम्पनीले कर्मचारीलाई निराश बनाएको थियो ।
यस्तै, अघिल्लो वर्ष कर्मचारी बोनस नबाँडेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका कर्मचारीले पनि यस वर्ष भने २ करोड ३९ लाख रुपैयाँ पाउने भएका छन् ।
कर्मचारीको बोनस वृद्धिमा भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस्तो बोनस २११.७२ प्रतिशतले बढाएको छ । कम्पनीले ७ करोड ४३ लाख रुपैयाँ कर्मचारीहरुलाई बाँड्ने भएका हो ।
यस्तै, आइएमई लाइफले पनि कर्मचारीहरुको बोनस ७८.२३ प्रतिशत, सिटिजन लाइफले ६५.८८ प्रतिशत, रिलायवल नेपालले ५७.२७ प्रतिशत, हिमालयन लाइफले ४९.३८ प्रतिशतले वृद्धि गरेका छन् ।
तुलनात्मक रूपमा चार वटा बीमा कम्पनीका कर्मचारी भने निराश बन्ने देखिएको छ । अघिल्लो वर्षको तुलनामा नेशनल लाइफ, मेट लाइफ, एशियन र राष्ट्रिय बीमा कम्पनीका कर्मचारी निराश हुने देखिएको हो । अघिल्लो वर्षको तुलनामा यी कम्पनीहरूले कर्मचारीका लागि छुट्टाउने बोनस घटेको छ ।

कर्मचारीलाई साढे ७७ करोड बढी बोनस बाँड्दै निर्जीवन बीमा कम्पनी, हिमालयन एभरेष्टले सबैभन्दा धेरै बढायो
गत वर्षको नाफाबाट निर्जीवन बीमा कम्पनीहरूले भने ७७ करोड ५८ करोड ८८ हजार रुपैयाँ बोनस बाँड्ने भएका छन् । एक वर्षमा कम्पनीहरूले कर्मचारीहरूको बोनस ४३.७० प्रतिशतले बढाएका हुन् ।
निर्जीवन तर्फ भने सबैभन्दा धेरै बोनस बढाउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स देखिएको छ । कम्पनीले आफ्ना कर्मचारीहरूको बोनस १८७.५४ प्रतिशतले बढाएर ६ करोड ३६ लाख पुर्याएको छ । दोस्रोमा भने सानिमा जिआईसीले पनि ९३.०७ प्रतिशत कर्मचारीहरूको बोनस बढाएको छ ।
यस्तै, राष्ट्रिय बीमा कम्पनीले ६० प्रतिशत, शिखर इन्स्योरेन्सले ५३.३३, आइजीआई प्रुडेन्सियलले ५१.३६ प्रतिशतले कर्मचारी बोनस बढाएका छन् । अघिल्लो वर्ष कर्मचारी निराश बनाएको नेशनल इन्स्योरेन्से पनि गत वर्षको मुनाफाबाट २ करोड ८६ लाख रुपैयाँ बोनस बाँड्ने भएको हो ।
रकमका आधारमा भने सबैभन्दा धेरै बोनस नेको इन्स्योरेन्सले वितरण गर्ने भएको छ । कम्पनीले ९ करोड ९ लाख रुपैयाँ बोनस कर्मचारी दिने भएको हो ।
यस्तै, सगरमाथा लुम्बिनीले ७ करोड २७ लाख, सिद्धार्थ प्रिमियरले ५ करोड ८२ लाख, एनएलजीले ४ करोड २७ लाख नेपाल इन्स्योरेन्स ६ करोड ३५ लाख रुपैयाँ बोनस कर्मचारीलाई वितरण गर्ने भएको छ ।
