नेपाल र प्रभु इन्स्योरेन्सले कसरी पुर्‍याउँदै छन् चुक्ता पुँजी ? यस्तो छ प्राधिकरणमा बुझाएको ‘क्यापिटल प्लान’ « Arthapath.com
१९ भाद्र २०८०, मंगलवार

नेपाल र प्रभु इन्स्योरेन्सले कसरी पुर्‍याउँदै छन् चुक्ता पुँजी ? यस्तो छ प्राधिकरणमा बुझाएको ‘क्यापिटल प्लान’



काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले नेपाल पनुर्बीमा कम्पनी (नेपाल रि )मा भएको आफ्नो संस्थापक सेयर बिक्री गरेर चुक्ता पुँजी  पुर्‍याउने भएका छन् । 

नेपाल बीमा प्राधिकरणलाई नयाँ क्यापिटल प्लान पेस गर्दै उनीहरूले नेपाल रिमा भएको सेयर बिक्री गरेर पुँजी बढाउने बताएका हुन् । पुँजी बढाउने मामिलामा ठोस काम नगरेपछि नेपाल बीमा प्राधिकरणले गत साताको आइतबार उक्त दुई कम्पनीलाई क्यापिटल प्लान मागेको थियो । त्यसमा उनीहरूले नेपाल रि मा भएको सेयर बिक्री गरेर पुँजी बढाउने  उल्लेख गरेका छन् । 

उक्त कम्पनीमा दुवै कम्पनीको २०/२० लाख कित्ता  संस्थापक सेयर छ । त्यो सेयर बिक्री गरेर आउने पैसा पुँजीमा थप गर्ने उक्त दुवै कम्पनीको योजना छ । यसअघि प्रभु इन्स्योरेन्सले विदेशी लगानी ल्याउने योजना पेस गरेको थियो । तर, प्रभु इन्स्योरेन्सले विदेशी लगानी ल्याउन नसकेपछि यस्तो योजना पेस गरेको प्राधिकरणका एक अधिकारीले बताए । 

यस्तै, नेपाल इन्स्योरेन्सले पनि आफ्नो अचल सम्पत्ति बिक्री गरेर पुँजी बढाउने भनेको थियो । सोहीअनुसार अचल सम्पत्ति बिक्री गर्ने प्रक्रिया पनि अघि बढाएको छ । तर, त्यसबाट पनि पुँजी नपुग्ने भएपछि उसले पनि नेपाल रिको सेयर बिक्री गर्ने योजना पेस गरेको हो । 

पहिला जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो । तर, २०७८ चैतमा प्राधिकरणले त्यो बढाएर जीवन बीमाको ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड न्यूनतम चुक्ता पुँजी हुनुपर्ने निर्णय गरेको थियो । त्यसको लागि गत असारसम्मको म्याद थियो । यसबिचमा अधिकांश कम्पनीले मर्जर मार्फत पुँजी बढाएका छन् । अपुग रकम भने हकप्रद सेयर मार्फत पुर्‍याउने योजनामा छन् । तर, यी दुई कम्पनीले भने पुँजी बढाउने विषयमा खास काम गरेका थिएनन् । त्यसपछि प्राधिकरणले गत साता नयाँ क्यापिटल प्लान मागेको थियो । 

नयाँ नीतिअनुसार निर्जीवन बीमा व्यवसाय गर्ने यी कम्पनीले २ अर्ब ५० करोड बराबरको न्यूनतम पुँजी कायम गर्नुपर्नेछ । तर, अहिले नेपाल इन्स्योरेन्सको १ अर्ब ३७ करोड ८९ लाख र प्रभुको १ अर्ब ३७ करोड ६१ लाख चुक्ता पुँजी छ । त्योअनुसार नेपाल इन्स्योरेन्सले १ अर्ब १२ करोड १० लाख र प्रभुले १ अर्ब १२ करोड ३८ लाख रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । 

त्यो रकम नेपाल रिमा भएको संस्थापक शेयर बिक्री गरेर पूर्ति गर्ने योजना उनीहरूको छ । त्यसो गर्दा पनि पुँजी नपुगेको राइट सेयर जारी गर्न दिने प्राधिकरणको तयारी छ । 


प्रतिक्रिया दिनुहोस्