कहाँ पुग्यो ‘बीमा सूचना केन्द्र’ स्थापनाको प्रक्रिया ? « Arthapath.com
४ आश्विन २०८०, बिहीबार

कहाँ पुग्यो ‘बीमा सूचना केन्द्र’ स्थापनाको प्रक्रिया ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना प्रक्रिया बढाएको छ । बीमा क्षेत्रमा हुने ठगीका क्रियाकलापलाई नियन्त्रण गर्नेगरि बीमा सूचना केन्द्र स्थापना गरिन लागेको हो । सोही केन्द्र स्थापनाका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । 

गत कात्तिकदेखि कार्यान्वयनमा आएको नयाँ बीमा ऐन, २०७९ मा भने बीमा सूचना केन्द्रको परिकल्पना गरिएको छ । बीमा ऐनको दफा १४३ को उपदफा ४ मा बीमा सम्बन्धी सूचना सङ्कलन गरी अभिलेख राख्ने, बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको छ । सोही बमोजिम नै प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्न लागेको हो । यसको आवश्यक अवधारणको बारेमा छलफल पनि भइरहेको छ । बीमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रियामा अध्ययन भइरहेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

प्राधिकरणले बीमा कम्पनीहरूसँगको सहकार्यमा बीमा सूचना केन्द्रको स्थापना गर्ने प्रक्रिया अगाडि हो । उनीहरूको समेत सेयर स्वामित्व हुने गरी पब्लिक कम्पनीको रूपमा बीमा सूचना केन्द्र स्थापना गरिनेछ । सोही अनुरूप नै प्राधिकरणले बीमा कम्पनीहरुसंग केन्द्र स्थापनाका विषयमा लिखित राय माग गरिएको निर्देशक पौडेलले बताए । उनका अनुसार प्राधिकरणले केन्द्रको सङ्गठनात्मक संरचना, स्वामित्व तथा कार्यविधि र आवश्यक निर्देशिकामा अध्ययन भइरहेको छ ।

उनले भने,–‘बीमा सूचना केन्द्र स्थापनाको कार्य अघि बढेको छ । यसका लागि आवश्यक काम कारबाही र प्रक्रियाका बारेमा परामर्श भईरहेको छ । बीमा कम्पनीहरुसंग लिखित राय पेस गर्न भनेका छौँ । लिखित सुझाव आएपछि केन्द्र स्थापनाका बारेमा थप प्रक्रिया अघि बढ्नेछ ।’

बीमा क्षेत्रमा हुने ठगीलाई पनि नियन्त्रण गर्ने गरी बीमा सूचना केन्द्र स्थापना गर्न लागिएको हो । यसको सञ्चालनको लागि छुट्टै कार्यविधि पनि जारी गरिने प्राधिकरणले जनाएको छ । त्यस अन्तर्गत रहेर छुट्टै कम्पनी स्थापना गरी बीमा सूचना केन्द्र स्थापना गरिनेछ । जुन सूचना केन्द्रले बीमा क्षेत्रमा हुने ठगी लगायतका सूचना सङ्कलन गरी सार्वजनिक गर्नेछ ।

केन्द्र स्थापनाले बीमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ । निर्देशक पौडेलले भने,–‘सूचना केन्द्रले बीमा क्षेत्रमा फैलिएको ठगी, जालसाजी, किर्ते लगायतका अपराध, अस्वाभाविक वा शङ्कास्पद बीमा गतिविधि गर्ने सीमित तथा व्यक्तिलाई कालो सुचीमा राख्नेछ । त्यसपछि बीमा कम्पनीहरूले त्यस्ता व्यक्तिलाई थप बीमा सेवा उपलब्ध नगराउने नीति ल्याइने छ ।’

बीमाक्षेत्रमा पहिलेदेखि नै विभिन्न प्रकारका ठगी तथा अपराधका गतिविधि हुँदै आएका थिए, जुन पछिल्लो समय बढ्दै पनि गएको छ । दोहोरो दाबी भुक्तानी लिने, किर्ते कागज बनाई झुक्काएर भुक्तानी लिने, बीमा गराएर बीमितको हत्या गरी भुक्तानी लिने प्रवृत्ति पनि देखिन्छ । बीमा रकम दाबी गर्न छोरीको हत्या गर्ने तथा औद्योगिक क्षेत्रमा आफै आगलागी गर्ने जस्ता गतिविधि भएको पाइन्छ । अनावश्यक रूपमा पोलिसी सरेन्डर गर्ने गरेको पनि पाइन्छ । साथै, अन्य प्रकृतिका ठगी तथा अपराध हुन सक्ने सम्भावना पनि हुन्छ । बीमा सूचना केन्द्रले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हाल सञ्चालनमा रहेका जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा लघुबीमा कम्पनीहरू सबैलाई यसमा संलग्न गराइ केन्द्र स्थापना गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्