बीमा अभिकर्ता कर्जा रोकेको दुई वर्ष बित्यो: तर, अझै साढे ९० करोड उठ्न बाँकी, नेपाल लाइफको सबैभन्दा धेरै « Arthapath.com
७ आश्विन २०८०, आईतवार

बीमा अभिकर्ता कर्जा रोकेको दुई वर्ष बित्यो: तर, अझै साढे ९० करोड उठ्न बाँकी, नेपाल लाइफको सबैभन्दा धेरै



काठमाडौं । जीवन बीमा अभिकर्ताबाट अझै साढे ९० करोड कर्जा असुल हुन बाँकी देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

जीवन बीमा अभिकर्ताबाट ९० करोड ५७ लाख रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी छ । विगत दुई वर्षदेखि बीमा अभिकर्तालाई दिइने कर्जा प्राधिकरणले रोकेको छ । तर, अझै साढे ९० करोड बढी कर्जा उठ्न बाँकी देखिएको हो ।

विशेषगरि अभिकर्तालाई दिइने कर्जा बीमा व्यवसायमा अनुत्पादक हुने भन्दै प्राधिकरणले यस्तो कर्जामा रोक लगाएको हो । विशेषगरि जीवन बीमा कम्पनीले आफ्ना अभिकर्तालाई प्रोत्साहन स्वरूप नै यस्तो कर्जा प्रवाह गर्ने गरेका थिए । सो नगदसहित घर जग्गा खरिदका लागि कर्जा दिने व्यवस्था रहेको थियो । तर, तत्कालीन बीमा समिति अर्थात् हालको बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७६ लाई संशोधित गरी अभिकर्तालाई दिइने कर्जामा रोक लगाएको हो । २०७८ पुसबाट सो व्यवस्था हटाए पनि अझै साढे ९० करोड बढी कर्जा भुक्तान हुन् बाँकी देखिएको छ । .प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूबाट ठुला रकममा कर्जा लिने अभिकर्ताबाट नै भुक्तान हुन बाँकी रहेको हो । 

सञ्चालनमा रहेका मध्ये १५ वटा कम्पनीहरूको यस्तो कर्जा उठ्न बाँकी छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीको अधिकर्ता कर्जा शीर्षकमा ३१ करोड ६१ लाख रुपैयाँ उठ्न बाँकी छ । 

दोस्रो स्थानमा रहेको हिमालयन लाइफको पनि १४ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कर्जा उठ्न बाँकी देखिएको छ। तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफको पनि १२ करोड ३४ लाख रुपैयाँ अभिकर्ता कर्जा उठ्न बाँकी देखिएको छ । यस्तै, गत वर्षसम्म नेशनल लाइफको पनि ११ करोड २९ लाख, लाइफ इन्स्योरेनस कर्पोरेशन नेपालको ७ करोड ६ लाख रुपैयाँ बाँकी देखिएको छ । 

यता, सिटिजन लाइफको २ करोड ८८ लाख, एशियन लाइफको २ करोड ५४ लाख, सानिमा रिलायन्सको १ करोड ७३ लाख, रिलायवल नेपालको १ करोड ७१ लाख रुपैयाँ  अभिकर्ता कर्जा भुक्तानी हुन् बाँकी छ। 

त्यसैसरि साबिकको प्रभु लाइफको १ करोड २१ लाख, साबिकको महालक्ष्मी लाइफको ८२ लाख, सन नेपाल लाइफको ३८ करोड, राष्ट्रिय बीमा संस्थानको ६५ लाख र मेट लाइफको ३ लाख रुपैयाँ अभिकर्ता कर्जा उठ्न बाँकी देखिएको हो । 


प्रतिक्रिया दिनुहोस्