ध्यानाकर्षण गराउँदै एलआईसीले भन्यो-‘कम्पनीलाई जोडेर बीमितको रकम हिनामिना भन्दै भ्रामक प्रचार प्रसार गरियो’

काठमाडौं । कम्पनीलाई जोडेर बीमितको रकम हिनामिना गरेको भन्दै भ्रामक र गलत प्रचार प्रसार प्रति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ध्यानाकर्षण गरेको छ ।
कम्पनीको नाम जोडेर भ्रमपूर्ण सामग्रीहरु प्रकाशित भएको भन्दै एलआईसीले एक विज्ञप्ति निकाल्दै ध्यानाकर्षण गराएको हो ।
‘कम्पनीका कुनै एक बीमितको सहमति बेगर निजको बीमालेखबाट ऋण जारी भएको सूचना प्राप्त भएपछि सो तर्फ कम्पनीले अनुसन्धान गर्दा सन् २०२० मा एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई स्वयं आफ्नै बीमितको बीमाबाट योजनाबद्ध रुपमा वास्तविक बीमितको स्वीकृति बिना झुक्याई ऋण झिक्न लगाएका रहेछन्’– कम्पनीले विज्ञप्ति मार्फत स्पष्टीकरणे दिएको छ।
पुन:उक्त ऋण रकमबाट निज अभिकताले आफ्नै कोडमा नयाँ बीमालेखहरू जारी गरी सो वापत कमिशन लगायत अन्य घोषित पुरस्कार एवं इन्सेन्टिभ प्राप्त गरि दुरुपयोग गरेको कम्पनीले जनाएको छ । ‘करिब ३ वर्ष पछि आएर निज अभिकर्ताले आफू निर्दोष देखिन उक्त ऋण रकमबाट आफ्नै कोडमा खरिद गरेको नयाँ बीमाहरु र सो वापत प्राप्त कमिशन तथा अन्य सुविधा रकम उपभोग गरिसकेको तथ्यलाई लुकाई छिपाई केवल कम्पनीलाई बदनाम गर्ने उदेश्यले अपुरो एकोहोरो तथ्यलाई बारम्बार केही संचार माध्यममा प्रेषित गरेको देखिन आयो’–विज्ञप्तिमा भनिएको छ ।
तर, विस्तृत रुपमा अनुसन्धान गर्दा यस घटनाको मुख्य योजनाकार उनै अभिकर्ता रहेको कम्पनीले जनाएको छ । सो कार्यमा संलग्न सम्बन्धित कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही भइरहेको र हाल उक्त बीमालेखको ऋण चुक्ता भइ बीमा पुर्ण रूपमा चालू हालतमा रहेको कम्पनीले प्रष्ट पारेको छ ।
घटनाका मुख्य व्यक्ति निज अभिकतालाई सो बारेमा स्पष्टीकरण पेश गर्न निर्देशन दिईएकोमा हालसम्म पनि निजले सो बारेमा कुनै प्रष्टीकरण नदिई वेवास्ता गरेको कम्पनीले जनाएको छ।
यसका साथै अभिकर्ताको हैसियतमा कम्पनीबाट ऋण स्वरुप उपभोग गरेको कर्जा रकम चुक्ता भुक्तान गर्न बारम्बार अनुरोध गर्दा अटेर गरे विज्ञप्तिमा उल्लेख छ । उनले उपभोग गरेको ऋण चुक्ता नभएसम्म निजले प्राप्त गर्ने कमिशन एवं अन्य सुविधाको रकमलाई ऋणमा मिलान गर्ने तथा निजलाई नयाँ व्यवसायमा तथा समर्पण र ऋणमा साक्षीको हैसियतले हस्ताक्षर गर्न रोक लगाइएको कम्पनीले जनाएको छ।
