एक महिनामै साढे ८७ प्रतिशतले बढ्यो मोटर बीमा, २ लाख ३३ हजार बीमालेख बिक्री « Arthapath.com
१४ आश्विन २०८०, आईतवार

एक महिनामै साढे ८७ प्रतिशतले बढ्यो मोटर बीमा, २ लाख ३३ हजार बीमालेख बिक्री



काठमाडौं । एक महिनामै निर्जीवन बीमा कम्पनीहरुले २ लाख ३३ हजार बढी मोटर बीमालेख बिक्री गरेका छन् । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको सबैभन्दा धेरै हिस्सा छ ।

संचालनमा रहेको निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै थप १ लाख ९ हजार १८५ वटा मोटर बीमालेख बिक्री गरेका हुन् ।नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

भदौ मसान्तसम्ममा कम्पनीहरुले मोटर बीमा मार्फत १ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुले २ लाख ३३ हजार ८६० वटा बीमालेख बिक्री गरेका छन् ।भदौ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ रहेको छ । तर, यसमा मोटर बीमाको हिस्सा नै धेरै छ ।

गत साउनमा मोटर बीमा मार्फत कम्पनीहरुले १ अर्ब ९ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । सो महिनामा कम्पनीहरुले १ लाख २४ हजार ६७५ वटा मोटर बीमालेख बिक्री गरेका थिए ।

सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्प लगायतका कारणले मोटरमा क्षति हुनेगर्दछन् । क्षतिबाट बच्न र सुरक्षाका लागि नै मानिसहरुले मोटर बीमा अपनाउछन् । सरकारले पनि मोटर बीमालाई अनिवार्य गरेको छ । सरकारले मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमालाई समेत अनिवार्य गरेको छ ।

सातमध्ये सबैभन्दा धेरै मोटर बीमा बागमती प्रदेशमा हुने गरेको छ । यद्यपि, कम्पनीहरुको सम्पूर्ण व्यवसाय नै बागमती केन्द्रित छन् । भदौमा पनि सबैभन्दा बढी मोटर बीमा बागमती प्रदेशमा भएको छ । सो प्रदेशमा कम्पनीहरुले १ लाख १५ हजार ६१ वटा मोटर बीमालेख बिक्री गरेका छन् । बगामतीबाट कम्पनीहरुले १ अर्ब १२ करोड ३३ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

दोस्रो स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । सो प्रदेशमा कम्पनीहरुले ३३ हजार ८१८ वटा मोटर बीमा बिक्री गरेका छन् । सो बीमालेख बिक्री गरेर कम्पनीले ५ करोड २३ लाख १७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस्तै, तेस्रो नम्वरमा गण्डकी प्रदेश रहेको छ । गण्डकीबाट २४ हजार ५५६ वटा बीमालेख जारी गरेर १८ करोड ५७ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरि कम्पनीहरुले कोशी प्रदेशमा २६ हजार २२३ वटा मोटर बीमा बीमालेख जारी गरेका छन् । सो प्रदेशबाट १८ करोड ३९ लाख ७ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

यता, मधेश प्रदेशमा १९ हजार ३९७ वटा मोटर बीमालेख जारी गरि १४ करोड ४९ लाख ४३ हजार रुपैयाँ, सुदूरपश्चिम प्रदेशमा ११ हजार ८६८ वटा बीमालेख जारी गरि ७ करोड २६ लाख ५४ हजार रुपैयाँ र कर्णाली प्रदेशमा २ हजार ९४३ वटा बीमालेख बिक्री गरि २ करोड ५१ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क उठेको छ ।


प्रतिक्रिया दिनुहोस्