जीवन बीमा व्यापार बढ्यो: २९ अर्बको व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा, हिमालयन र नेशनलबीच प्रतिस्पर्धा « Arthapath.com
१७ आश्विन २०८०, बुधबार

जीवन बीमा व्यापार बढ्यो: २९ अर्बको व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा, हिमालयन र नेशनलबीच प्रतिस्पर्धा



काठमाडौँ । दुई महिनामै जीवन बीमा कम्पनीहरूले २९ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को साउन–भदौको तथ्याङ्कले यस्तो देखाएको हो । 

समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले २९ अर्ब १२ करोड ९८ लाख ३८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । गत साउनमा १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका कम्पनीहरूले एक महिनामै ४८.५७ प्रतिशतले व्यवसाय बढाएका हुन् ।

भदौमा मात्रै कम्पनीहरूले ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । त्यसमध्ये नयाँ व्यवसाय मात्रै २ अर्ब ३ करोड ७९ लाख रुपैयाँ रहेको छ । भदौमा मात्रै कम्पनीहरूले नवीकरण बीमा शुल्क ७ अर्ब ४८ करोड ५५६ लाख रुपैयाँ सङ्कलन गरेका हुन् । भदौमा कम्पनीहरूले कुल ८१५ वटा बीमालेख जारी गरेका छन् । कुल सक्रिय रहेको बीमालेखको सङ्ख्या भने १ करोड ३४ लाख ५१ हजार ८२२ छ ।

व्यवसायमा  नेपाल लाइफकै अग्रता, दुई महिनामा ८ अर्बको व्यापार 

नेपाली जीवन बीमा क्षेत्रमा नेपाल लाइफको व्यावसायिक अग्रता कायमै छ । दुई महिनामा कम्पनीले ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । कम्पनीले एक महिनामै ५३.३७ प्रतिशतले व्यवसाय बढाएको हो । गत साउनमा ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । भदौमा मात्रै कम्पनीले २ अर्ब ७८ करोड ८० लाख रुपैयाँ बराबर बीमा शुल्क उठाएको छ । यसमा ५२ करोड १७ लाख रुपैयाँ नयाँ व्यवसाय र नवीकरणबाट २ अर्ब २६ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौमा कम्पनीले १६ हजार ३८२ वटा बीमालेख जारी गरेको छ । कम्पनीको सक्रिय कुल बीमालेखको सङ्ख्या भने ११ लाख ४५ हजार ९४५ रहेको छ । 

दोस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान, साढे ३ अर्बको व्यवसाय भित्रायो 

भदौ मसान्तसम्मको व्यवसायको आधारमा दोस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यद्यपि, व्यवसाय वृद्धिदरका आधारमा भने अलि कम छ । गत साउनको तुलनामा कम्पनीले आफ्नो व्यवसाय ६.७३ प्रतिशतले वृद्धि भएको हो । गत साउनमा कम्पनीले ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । भदौमा कम्पनीको जारी बीमालेखको सङ्ख्या ७०३ वटा रहेको छ । समीक्षा अवधिमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । 

हिमालयन र नेशनल लाइफबिच प्रतिस्पर्धा, वृद्धिदर पनि उस्तै–उस्तै 

हिमालयन र नेशनल लाइफ इन्स्योरेन्स बिच प्रतिस्पर्धा देखिएको छ । भदौ मसान्तसम्म हिमालयन लाइफले २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, नेशनलले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बराबरको व्यवसाय भित्राएको छ । गत  साउनको तुलनामा हिमालयन र नेशनल लाइफको व्यवसाय क्रमशः ५२.६५ प्रतिशत र ६०.९३ प्रतिशतले बढेको हो । गत साउन यी दुई कम्पनीले क्रमशः १ अर्ब ९२ करोड ५५ लाख र १ अर्ब ८० करोड ६८ लाख रुपैयाँ व्यवसाय गरेका थिए । हिमालयन लाइफले भदौमा मात्रै १ अर्ब २ करोड २ लाख रुपैयाँको व्यवसाय गरेको छ । सो महिनामा कम्पनीको नयाँ व्यवसाय मात्रै १२ करोड ९५ लाख रुपैयाँ गरेको छ । यता, नेशनल लाइफले भने ३१ करोड २६ लाखको नयाँ व्यवसाय, ७८ करोड ८२ लाख नवीकरण गरी कुल १ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  

चार कम्पनीको व्यवसाय १ अर्बमाथि, सूर्य ज्योति अगाडि 

समीक्षा अवधिमा चार कम्पनीको व्यवसाय १ अर्ब माथि छ । भदौसम्ममा सूर्य ज्योति लाइफले १ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत साउनको तुलनामा ५४.२९ प्रतिशतले बढी हो । 

यस्तै, एशियन लाइफले पनि १ अर्ब २२ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत साउनको तुलनामा ४८.८९ प्रतिशतले बढी हो । 

त्यसैगरि सानिमा लाइफले पनि १ अर्ब १ करोड ५९ लाख र सिटिजन लाइफले पनि १ अर्ब १ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी दुवै कम्पनीले गत साउनको तुलनामा भने क्रमशः ५२.०६ प्रतिशत र ७४.४९ प्रतिशतले व्यवसाय बढाएका हुन् । 

समीक्षा अवधिमा प्रभु महालक्ष्मीले पनि ८२ करोड ४९ करोड, आइएमई लाइफले ७६ करोड ३१ लाख, मेट लाइफले ९२ करोड १२ लाख, रिलायवल नेपालले ६७ करोड ५५ लाख र सन नेपाल लाइफले ६३करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

कुन कम्पनीको कति ?

स्रोत: नेपाल बीमा प्राधिकरण, रकम रु. लाखमा


प्रतिक्रिया दिनुहोस्