जीवन बीमा बजार: नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल खप्पिस, सूर्यज्योति र हिमालयनबीच प्रतिस्पर्धा « Arthapath.com
१८ आश्विन २०८०, बिहीबार

जीवन बीमा बजार: नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल खप्पिस, सूर्यज्योति र हिमालयनबीच प्रतिस्पर्धा



काठमाडौँ । जीवन बीमा कम्पनीहरूले दुई महिनामै ४ अर्ब बढीको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क आर्जन) भित्राएका छन् । 

सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँको नयाँ व्यापार गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आवको दुई महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । दुई महिनामा कम्पनीहरूले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यसमा नवीकरणबाट २४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको छ । भदौ मसान्तसम्ममा कम्पनीहरूको कुल १ करोड ३४  लाख ५१ हजार ८२२ वटा बीमालेख सक्रिय देखिएको छ । 

भदौमा मात्रै कम्पनीहरूले ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । सोमध्ये २ अर्ब ३ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ७ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ नवीकरणबाट बीमा शुल्क आर्जन गरेको हो ।  

नयाँ व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स नै अघि देखिएको छ । कम्पनीले दुई महिनामा १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौमा मात्रै ५२ करोड १७ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएको थियो । तर, साउनको तुलनामा भने केही गिरावट आएको छ । गत साउनमा कम्पनीले ५६ करोड ३१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएको थियो । 

नयाँ व्यवसायमा नेशनल लाइफ पनि शीर्षस्थानमै छ । साउन र भदौमा सबैभन्दा धेरै नयाँ व्यवसाय गर्नेको दोस्रो सूचीमा नेशनल लाइफ देखिएको हो । समीक्षा अवधिमा कम्पनीले ५५ करोड ६३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।  भदौमा मात्रै कम्पनीले ३१ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । साउनको तुलनामा भदौमा अधिकांश कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । तर, नेशनल लाइफको मात्रै उच्च दरमा वृद्धि भएको हो । गत साउनमा कम्पनीले नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क २४ करोड ३६ लाख रुपैयाँ मात्रै सङ्कलन गरेको  थियो । 

धेरै नयाँ व्यवसाय गर्नेको तेस्रो सूचीमा सूर्यज्योति लाइफ कम्पनी देखिएको छ । कम्पनीले साउन र भदौमा कुल ३३ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएको छ । गत साउनमा कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ र भदौमा १४ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

चौथो स्थानमा रहेको हिमालयन लाइफले पनि दुई महिनामा ३३ करोड ५५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । साउनको तुलनामा भदौमा भने कम्पनीको नयाँ व्यवसाय घटेको देखिन्छ । गत साउनमा २० करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । तर, भदौमा १२ करोड ९५ लाख मात्रै नयाँ व्यवसाय गरेको छ । 

छैटौँ नम्बरको सूचीमा भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ३१ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौमा १४ करोड ९९ लाख र गत साउनमा १६ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । 

यस्तै, समीक्षा अवधिमा सिटिजन लाइफले २७ करोड ३३ लाख, रिलायव नेपालले २१ करोड ४६ लाख, आइएमई लाइफले २१ करोड ४६ लाख, मेट लाइफले २० करोड २३ लाख, सन नेपाल लाइफले २० करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

त्यसैगरि  एशियन लाइफले १९ करोड ८७ लाख, सानिमा रिलायन्सले १९ करोड ५४ लाख, प्रभु महालक्ष्मीले १२ करोड ५० लाख र राष्ट्रिय बीमा संस्थानले ७ करोड ६८ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएका छन् ।


प्रतिक्रिया दिनुहोस्