नियमाकीय कडाइले घट्दै बीमा पोलिसी सरेन्डर: आइएमई र हिमालयनको सर्वाधिक सुधार, कुनको कति ? « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

नियमाकीय कडाइले घट्दै बीमा पोलिसी सरेन्डर: आइएमई र हिमालयनको सर्वाधिक सुधार, कुनको कति ?



काठमाडौँ । भदौमा जीवन बीमा पोलिसी सरेन्डर अर्थात् समर्पण गर्ने (त्याग्ने) को सङ्ख्या घटेको छ । गत साउनको तुलनामा बीमालेख सरेन्डर गर्नेको सङ्ख्या घटेको छ ।

पछिल्लो अवधि (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ । तर, नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनाको तथ्याङ्कले भने घटेको देखिएको छ । गत साउनको तुलनामा बीमा पोलिसी सरेन्डर ७.८९ प्रतिशतले सुधारिएको हो । 

गत साउनमा १ अर्ब २८ करोड ३३ लाख बराबरको ९ हजार ७९८ वटा पोलिसी सरेन्डर भएको थियो । तर, भदौ महिनामा भने घटेर १ अर्ब १८ करोड २० लाख रुपैयाँ कायम भएको छ । भदौमा ० हजार ३८६ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेकाले नै सरेन्डर दर घट्न पुगेको प्राधिकरण कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ वर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ । यसअघि बीमा गरेको २ वर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । सोही व्यवस्थाको प्रभावले पनि सरेन्डरमा सुधार आएको कार्यकारी निर्देशक पौडेलले बताए ।  उनले भने,–‘बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक वर्षदेखि त्यसको न्यूनतम सीमा तीन वर्ष पुर्‍याइएको थियो । त्यसकै प्रभावले पछिल्लो समय सुधार हुँदै गएको देखिन्छ ।’

कानुनी व्यवस्थामै प्राधिकरणले कडाइ गरेपछि सरेन्डर दर घट्न थालेको उनको भनाई छ । ‘बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको सङ्ख्या बढ्ने गरेको छ । कति बीमितले आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको पनि देखिन्छ । तर, नियामकले गरेको कानुनी प्रावधानले बिस्तारै सुधार हुँदै गएको छ’– कार्यकारी निर्देशक पौडेले भने । 

बीमा सरेन्डर कम गराउनका लागि प्राधिकरणले निर्देशिका मार्फत नयाँ व्यवस्था समेत जारी गरेको पौडेलले बताए । उनले भने,–‘नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न नपाउने उल्लेख छ । यस्तो व्यवस्थाले बीमालेख सरेन्डर दर घट्दै जानेछ ।’

विशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण अवधि (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिस) को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको थियो । तर, भदौमा भने सुधार आएको प्राधिकरणले जनाएको छ ।  

गत साउनको तुलनामामा सरेन्डर दर घटाउन आइएमई लाइफ अघि देखिएको छ । कम्पनीले साउनको तुलनामा ५२.०९ प्रतिशतले सरेन्डर दर घटाएको छ । भदौमा कम्पनी बीमितले ४७ लाख ८७ हजार रुपैयाँ बराबरको ४१ वटा मात्रै पोलिसी बन्द गराएका छन् । तर, गत साउनमा भने कम्पनीको सरेन्डर रकम ९९ लाख ९३ हजार रुपैयाँ रहेको थियो । साउनमा कम्पनीको १३३ वटा पोलिसी बन्द भएको थियो । 

यस्तै, हिमालयन लाइफको सरेन्डर दर पनि ३०.९६ प्रतिशतले घटेको छ । गत साउनमा कम्पनीका बीमितले १२ करोड २२ लाख रुपैयाँ बराबरको ९८८ वटा पोलिसी बन्द गराएका थिए । तर, भदौमा भने ८ करोड ४३ लाख रुपैयाँ बराबरको ९५९ वटा पोलिसी मात्रै सरेन्डर भएको छ । 

गत साउनको तुलनामा रिलायवल लाइफको सरेन्डर दर १९.९४ प्रतिशत, सानिमा रिलायन्सको १८.१३ प्रतिशत,  एशियनको १७.१७, मेट लाइफको १६.०५ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लाइफको ११.७५ प्रतिशतले घटेको छ । 

भदौमा रिलायवल नेपालका बीमितले ७२ लाख रुपैयाँ बराबरको १४२ वटा पोलिसी, सानिमा रिलायन्सको १ करोड २३ लाख रुपैयाँ बराबरको १५९ वटा, एशियनको ४ करोड ८४ लाख रुपैयाँ बराबरको ७५८, मेट लाइफको ३ करोड ६९ लाख बराबरको ३९१ वटा र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २७ करोड ५८ लाख रुपैयाँ बराबरको १ हजार ८२३ वटा पोलिसी सरेन्डर भएको छ । 

भदौमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सरेन्डर रकम धेरै देखिएको छ । कम्पनीका बीमितले ४० करोड ५८ लाख रुपैयाँ बराबरको २ हजार ५४२ वटा पोलिसी त्यागेका छन् । यद्यपि, गत साउनको तुलनामा भने १४.६८ प्रतिशतले घटाएको हो । यता, नेशनल लाइफका बीमितले पनि १० करोड ५९ लाख रुपैयाँ बराबरको ६९९ वटा पोलिसी त्यागेका छन् । कम्पनीको सरेन्डर दर भने साउनको तुलनामा बढेको हो । 

गत साउनको तुलनामा सरेन्डर वृद्धि दर भने सन नेपाल लाइफ अघि देखिएको छ । रकमका आधारमा  कम (४० लाख रुपैयाँ ) भएता पनि साउनको तुलनामा भने २४१.४४ प्रतिशतले सरेन्डर बढेको छ । गत साउनमा कम्पनीका बीमितले ११ लाख रुपैयाँ बराबरको मात्रै पोलिसी त्यागेका थिए । 

यस्तै, प्रभु महालक्ष्मीको पनि भदौमा सरेन्डर रकम बढेको छ । कम्पनीका बीमितले १ करोड १४ लाख रुपैयाँ बराबरको ८४ वटा पोलिसी त्यागेका छन् । गत साउनमा भने कम्पनीको यस्तो रकम ३५ लाख रुपैयाँ मात्रै रहेको थियो । 

त्यसैगरि भदौमा सूर्य ज्योति लाइफका बीमितले ७ करोड ३१ लाख रुपैयाँ बराबरको ४११ वटा पोलिसी र राष्ट्रिय बीमा संस्थानको ९ करोड ८१ लाख बराबरको १ हजार १३४ वटा पोलिसी सरेन्डर गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्