बीमा व्यवसायको सङ्कुचन हट्दै, बिस्तारै देखिन थाल्यो सुधारको सङ्केत

काठमाडौँ । बीमा व्यवसाय उत्साहजनक रुपमा नबढेता पनि व्यापार वृद्धिदरमा भने बढोत्तरी देखिएको छ । बीमा व्यवसाय विस्तार चलायमान हन थालेको सङ्केत छ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण पनि बीमा व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय भने निरन्तर सुधारको सङ्केत देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना (साउन र भदौ) को विवरणले यस्तो देखाएको हो ।
चालु आवको दुई महिनामा बीमा कम्पनीहरूले ३६ अर्ब २१ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ६.७५ प्रतिशतले बढेको हो । गत वर्षको भदौ मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ३३ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
यद्यपि, अघिल्ला वर्षहरूमा भने बीमा व्यवसायको वृद्धिदर दोहोरो अङ्कमा हुने गरेको थियो । तर, कोभिड र आर्थिक सङ्कटले प्रभावित बनेको बीमा व्यवसायमा अझै रौनकता भने देखिएको छैन ।
भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीहरूले जारी गर्ने बीमालेखको सङ्ख्या भने घटेको छ । गत वर्षको सोही अवधिमा कम्पनीहरूले १ करोड ४० लाख ३९ हजार ५०७ वटा जीवन बीमालेख र ४ लाख ४५ हजार ३७१ वटा निर्जीवन बीमालेख बिक्री गरेका थिए । तर, चालु आवको भदौ मसान्तसम्म आइपुग्दा कम्पनीहरूको बीमालेख बिक्री क्रमशः ४.१८ प्रतिशत र ८.१५ प्रतिशतले घटेको छ ।
चालु आवको दुई महिनामा २० वटा जीवन बीमा कम्पनीहरूले १ करोड ३४ लाख ५३ हजार १६६ वटा बीमालेख बिक्री गरेको छन् । यता, निर्जीवन बीमा कम्पनीहरूले भने ४ लाख ९ हजार ८० वटा बीमालेख बिक्री गरेको हुन् । सो बराबरको बीमालेख बिक्रीबाट जीवन र निर्जीवन बीमा कम्पनीहरूले क्रमशः २९ अर्ब १३ करोड ११ लाख र ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन भने दोहोरो अङ्क अर्थात् ११.८६ प्रतिशतले वृद्धि भएको छ । तर, कुल निर्जीवन बीमा शुल्क सङ्कलन भने १०.१० प्रतिशतले घटेको छ । जीवन बीमा व्यवसाय वृद्धि भएकाले नै समग्र बीमा व्यापार बढाएको प्राधिकरणले जनाएको छ ।
बढ्दो विश्व व्यापी महंगहीका कारण उपभोक्क्ताहरुको जीवनयापनमा लागत बढ्दो छ, फलस्वरूप बीमा व्यवसाय पनि घटिरहेको थियो । तर, पछिल्लो समय भने बिस्तारै गति लिन थालेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । आर्थिक सूचक र गतिविधि बिस्तारै चलायमान हुँदै गएकाले यसको प्रभाव बीमा व्यवसायमा पनि देखिन थालेको उनको भनाई छ ।
उनले भने,–‘अहिले बीमा व्यवसायमा केही सुधार देखिएको छ । पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरू पनि बिस्तारै सबल बन्दै गएको पाइन्छ । आर्थिक गतिविधि पनि चलायमान हुँदै गएको छ । यसले बीमा व्यवसायमा पनि सकारात्मक प्रभाव परेको छ ।’
आर्थिक सङ्कटकै कारण आम मानिसहरूको बीमा पोलिसी खरिद गर्ने क्षमता घटेको छ । उल्टै आफ्नो आर्थिक अभाव पूर्ति गर्न पोलिसी सरेन्डर गर्नेको सङ्ख्या बढ्दै गएको थियो । तर, पछिल्लो समय यस्तो क्रियाकलाप र सङ्ख्या घट्दै गएको कार्यकारी निर्देशक पौडेलले बताए । बीमा व्यवसायमा खास रौनक नदेखिएता पनि बिस्तारै बढ्ने उनको भनाई छ ।
आगामी दिनमा भने बढ्ने अपेक्षा गरिएको पौडेले बताए । उनले भने,–‘पछिल्लो समय आर्थिक सूचकहरू पनि सबल बन्दै गएको छ । यसले आगामी दिनमा बीमा व्यवसायमा निकै सुधार हुनेछ । समग्रमा प्राधिकरणको नीतिगत निर्णयहरू, कम्पनीहरूले पनि नयाँ–नयाँ बीमा प्रडक्टहरू ल्याएका छन् । यसले आगामी दिन बीमा व्यवसाय बढाउने छ ।’