दसैँमा बीमा पोलिसी उपहार: दक्षिणाले नै बीमालेख खरिद गर्ने प्रचलनको विकास गर्ने कि ?

काठमाडौँ । विजयादशमी अर्थात् दसैँलाई हिन्दु नेपालीहरूको महान् पर्वको रूपमा मनाइन्छ । बिशेषगरि दसैँमा आफन्तहरूबिच भेटघाट गर्ने, टिका जमरा लगाउने प्रचलन छ । त्यसपछि टिका लगाएर दक्षिणा दिने प्रचलन पनि छ । दक्षिणासँगै उपहार दिने प्रचलन पनि छ ।
दसैँमा आफन्तहरूबिच एक आपसमा जिन्सी उपहार आदानप्रदान गर्ने प्रचलन बढेको छ । त्यसमा घडी, मोबाइल, पुस्तक, शृङ्गारका सामग्री, कपडा जस्ता लगायत विभिन्न जिन्सी उपहार आदान प्रदान गर्ने प्रचलन छ । तर, उक्त उपहारले सम्बन्धी व्यक्ति (उपहार पाउने व्यक्ति) को जीवनमा क्षणिकको खुसी बाहेक केही मिल्दैन । उपहार जीवनभर जीवनभर सम्झना हुने खालका हुँदा राम्रो हुन्छ । साथै, त्यसले महत्त्वपूर्ण फाइदा पुगेमा झन् राम्रो हुन्छ । तर, उपहारलाई अझै त्यसरी हेरिएको छैन । त्यो अवस्थामा अब दसैँमा दिइने उपहारलाई महत्त्वपूर्ण बनाउन आवश्यक छ । तर, त्यो कसरी त ? त्यसमध्ये एक विकल्प हुन सक्छ, बीमालेख उपहार ।
बढ्दो जोखिमसँगै पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । साथै, नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुर्याउने पनि देखिन्छ । तर, आम मानिस अझै पनि बीमाको दायरामा आवश्यकताअनुरूप आउन सकेका छैनन् ।
साढे ७ दशक लामो नेपाली बीमा बजारको इतिहास छ । तर, ४३ प्रतिशत नेपाली मात्रै बीमाको दायरामा छन् । अझै ५७ प्रतिशत नेपाली बीमाको दायरा भन्दा बाहिर छन् । उनीहरूलाई बीमाको दायरामा ल्याउनु अपरिहार्य छ । त्यो अवस्थामा चाडपर्वसहित जन्मदिन लगायतका अवसरमा बीमालेख उपहार दिने प्रचलनको विकास गर्नुपर्ने विज्ञहरू बताउँछन् । यसले आम मानिसको जीवनमा हुन सक्ने जोखिमलाई आर्थिक रूपमा न्यूनीकरण सँगै बीमाको विस्तारमा पनि ठुलो सहयोग पुग्ने उनीहरूको भनाइ छ । साथै, अप्रत्यक्ष रूपमा यसले धेरै फाइदा नै फाइदा हुने उनीहरू बताउँछन् ।
पछिल्लो समय विदेशतिर जन्मदिन र विभिन्न चाडपर्वमा सम्बन्धित व्यक्तिलाई कुनै पनि किसिमको बीमालेख उपहार दिने प्रचलन बढेको छ । नेपालमा पनि जन्म दिनमा बीमालेख उपहार दिने प्रचलित छ । तर, त्यसले अझै व्यापकता पाइसकेको छैन । अब त्यस प्रचलनलाई प्रवर्द्धन गर्नुपर्ने विज्ञहरू बताउँछन् । ठुलो रकम खर्च गरेर क्षणिक समय मात्रै टिक्ने उपहार दिनु भन्दा बीमालेख नै उपहार दिँदा धेरै राम्रो हुने उनीहरूको भनाइ छ । यसले सम्बन्धी व्यक्तिको भविष्यमा हुने क्षतिलाई आर्थिक रूपमा न्यूनीकरण गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।
तर, नेपालमा अझै पनि उपहारस्वरूप जिन्सी सामग्री नै दिने प्रचलन हाबी छ । प्रत्येक दसैँमा उपहारस्वरूप बीमालेख आदानप्रदान गर्दा बीमाशुल्क तिर्न पनि सहज हुने अभिकर्ताहरू बताउँछन् । साथै, उपहारस्वरूप जिन्सी सामानभन्दा पनि बीमालेख आदानप्रदान गरेमा नौलो र प्रभावकारी हुने उनीहरूको बुझाई छ । सम्पन्न र मध्यम वर्गले आफ्नो गच्छेअनुसारको बीमालेख उपहार प्रदान गर्न सक्ने अवस्था रहेको बीमा अभिकर्ताहरू बताउँछन् । निम्न वर्गका परिवारले पनि लघुबीमाअन्तर्गतका बीमालेख उपहारस्वरूप दिन सक्ने बीमा विज्ञहरू दाबी गर्छन् ।
दक्षिणाबाट बीमापोलिसी खरिद
दसैँमा टिका लगाएपछि बालबच्चाहरूले दक्षिणाबापत ठुलो पैसा प्राप्त गर्छन् । पछिल्लो समय धेरै दक्षिणा दिने प्रचलन आएपछि त्यस्तो रकम बढी नै जम्मा हुने गर्छ । तर, त्यो पैसाको सही सदुपयोग भएको भने पाइँदैन । कपडा किन्ने, घुम्ने लगायतका मामलामा त्यो पैसा खर्च भएको छ । कतिपयले बैङ्कमा बचत पनि गरेका हुन्छन् । तर, अब त्यस्तो पैसाले सम्बन्धित बच्चाको बीमा पनि गर्दा राम्रो हुने देखिन्छ । यसले बीमा अवधिभर बच्चाको जोखिम बहन त गर्ने नै भयो । साथै, बीमा अवधि सकिएपछि आउने पैसाले निजको उच्च शिक्षा लगायतका काममा लगानी गर्न सकिने अभिकर्ताहरू बताउँछन् ।