दोहोरो अङ्कले बढ्यो जीवन बीमा व्यापार, कस्तो चल्दै छ नयाँ व्यवसाय ?

काठमाडौं । जीवन बीमा व्यवसाय दोहोरो अङ्कले वृद्धि भएको छ । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले तीन महिनामै ४० अर्ब ८० करोड माथिको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा कम्पनीहरूले आफ्नो व्यापार औसतमा १४.०४ प्रतिशतले बढाएका छन् । गत वर्षको असोज मसान्तसम्ममा कम्पनीहरूले ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, चालु आवको पहिलो त्रैमासमा आइपुग्दा भने कम्पनीहरूले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बढी बीमा शुल्क उठाएका छन् । गत वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा कम्पनीहरूले थप ५ अर्ब २ करोड ४७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
आर्थिक मन्दी, बढ्दो महंगहीका कारण उपभोक्क्ताहरुको जीवनयापनमा लागत बढ्दो छ, फलस्वरूप बीमा व्यवसाय पनि घटिरहेको थियो । तर, पछिल्लो समय भने जीवन बीमा व्यवसायले बिस्तारै गति लिन थालेको तथ्याङ्कले देखाउँछ । आन्तरिक रूपमा आर्थिक गतिविधि बिस्तारै चलायमान हुँदै गएकाले यसको प्रभाव बीमा व्यवसायमा पनि देखिन थालेको जानकारवालाहरु बताउँछन् ।
कुन कम्पनीको व्यापार कति ?

गत भदौ मसान्तसम्ममा कम्पनीहरूले कुल २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा पनि कुल १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।
चालु आवको तीन महिनामा कम्पनीहरूको नयाँ बिजनेस अर्थात् प्रथम बीमा शुल्क अन्तर्गत ६ अर्ब ७१ करोड ९६ हजार रुपैयाँ भित्राएका छन् । यो गत आवको सोही अवधिमा तुलनामा केही कमी हो । गत वर्षमा कम्पनीहरूले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएका थिए ।
यद्यपि, चालु आवको असोजमा मात्रै जीवन कम्पनीहरूले ११ अर्ब ६७ करोड १७ लाख रुपैयाँ बराबरको कुल व्यापार गरेका छन् । असोजको व्यवसायमा नवीकरण मार्फत ९ अर्ब २८ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस वर्षको असोजमा मात्रै कम्पनीहरूले २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएका छन् । जुन गत वर्षको असोज महिनाको तुलनामा ४.५८ प्रतिशतले मात्रै बढी हो । गत वर्षको असोज महिनामा कम्पनीहरूले २ अर्ब २७ करोड ९६ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।
नयाँ व्यवसायमा राष्ट्रिय बीमा संस्थान र आइएमई लाइफ खप्पिस
असोज महिनाको तथ्याङ्क अनुसार नयाँ व्यवसायमा राष्ट्रिय बीमा संस्थान र आइएमई लाइफ अगाडि देखिएका छन् । गत वर्षको असोजमा ३ करोड १२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको राष्ट्रिय बीमा संस्थानले यस वर्षको सोही महिनामा भने ५५.ं५७ प्रतिशत बढाएको छ । यस वर्षको असोज कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, नयाँ व्यवसाय बढाउन आइएमई लाइफ अगाडि छ । कम्पनीले गत वर्षको असोजको तुलनामा ३५.६५ प्रतिशत नयाँ व्यवसाय बढाएको हो । यस वर्षको असोज महिनामा कम्पनीले १२ करोड ४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
रकमको आधारमा भने नयाँ व्यवसायमा पनि नेपाल लाइफ नै अघि देखिएको छ । असोजमा कम्पनीले कुल ५० करोड ७९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएको छ ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफले ३५ करोड ८ लाख रुपैयाँ, तेस्रो स्थानमा रहेको हिमालयन लाइफले १९ करोड ३१ लाख, चौथो सूचीमा रहेको एलआइसी नेपालले १८ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
कुन कम्पनीले कति भित्राए नयाँ बिजनेस ?
