आर्थिक शिथिलताका बाबजुद पनि बीमा कम्पनीको नाफामा चामत्कारिक बदलाव: कसले कति कमाए ?

काठमाडौँ । आर्थिक शिथिलताका बाबजुद पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरूको नाफा उच्च दोहोरो अङ्कले बढेको छ । सञ्चालनमा रहेका १४/१४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरूको नाफा तीन महिनामा २६.८३ प्रतिशतले बढाएका छन् ।
कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधिमा कम्पनीहरूले कुल २ अर्ब ६९ करोड ९२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको असोज मसान्तसम्मको तुलनामा भने ५७ करोड ११ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरूले कुल २ अर्ब १२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालु आवको पहिलो त्रैमास वाणिज्य बैङ्कहरूको नाफा भने गिरावट आएको छ । समीक्षा अवधिमा बैङ्कहरूको नाफा २८ प्रतिशतले घटेको छ । विशेष गरी आन्तरिक अर्थतन्त्र शिथिल बन्दा नै बैङ्क, अधिकांश विकास, फाइनान्स तथा वित्त कम्पनीहरूको व्यवसायमा नै गिरावट आएको छ । त्यसले कम्पनीहरूको नाफा पनि प्रभावित बनेको छ । तर, यस्तो अवस्थामा पनि बीमा कम्पनीहरूको नाफामा उच्च देखिन्छ । आर्थिक मन्दीकै कारण वित्तीय क्षेत्रहरू प्रभावित बनिरहेका छन् । बैङ्क, वित्त र फाइनान्स कम्पनीहरूको खराब कर्जा बढेकाले नै नाफा घटेको छ । अधिकांश कम्पनीहरू ऋणात्मक अवस्थामा छन् । तर, बीमा व्यवसायमा भने सुधार देखिएको छ । विशेषगरि बीमा कम्पनीहरूको व्यवसायमा आएका बढोत्तरीले नै नाफा वृद्धि भएको बीमा प्राधिकरण अधिकारीले बताए ।
चालु आवको तीन महिनामा बीमा कम्पनीहरूको व्यवसाय ९.९५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीहरूले कुल ५१ अर्ब २५ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १४.०५ प्रतिशतले बढेर ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ पुगेको छ । तर, निर्जीवन बीमा कम्पनीहरूको भने ३.५८ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । औसतमा भने भने बीमा कम्पनीहरूले ४ अर्ब ६४ करोड रुपैयाँले व्यवसाय वृद्धि गरेका छन् ।
बढ्दो विश्व व्यापी महंगहीका कारण उपभोक्क्ताहरुको जीवनयापनमा लागत बढ्दो छ । त्यसको फलस्वरूप बीमा व्यवसाय पनि घटिरहेको थियो । तर, पछिल्लो समय भने बिस्तारै बीमा व्यवसायमा भने सुधारको सङ्केत देखिएको प्राधिकरणले जनाएको छ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीहरूको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि वृद्धि भएको छ । त्यसको सकारात्मक प्रभाव नाफामा देखिएको हो । व्यवसाय र लगानीबाट हुने आम्दानी वृद्धिले नै नाफा बढ्न टेवा पुगेको हो ।
मुख्यत: बैङ्कको निक्षेप ब्याजदर उच्च नै हुँदा पनि बीमा कम्पनीहरूको नाफा बढेको हो । बीमा कम्पनीहरूको आम्दानीको मुख्य स्रोत निक्षेपको व्याज आम्दानी हो । कम्पनीहरूले आफूहरूसँग भएको लगानीयोग्य पैसामा ७० प्रतिशत भन्दा बढी बैङ्कको मुद्दती निक्षेपमा राखेका छन् । त्यसको व्याज मार्फत हुने आम्दानी नै बीमा कम्पनीको प्रमुख स्रोत हो । तरलता अभावलाई दृष्टिगत गर्दै बैङ्कहरूको गत आवदेखि बढाएको ब्याजदर अझै पनि उच्च छ । त्यसको असरले बीमा कम्पनीहरूले निक्षेपको व्याजबाट पाउने पैसा पनि बढेको छ । त्यसको प्रभावले गर्दा आर्थिक सङ्कटमा पनि बीमा कम्पनीहरूको नाफा बढेको हो ।
जीवन बीमा र निर्जीवन बीमाको नाफामा ७४ करोडको अन्तर
जीवन बीमा र निर्जीवन बीमाले कमाएको नाफामा ७४ करोडको अन्तर देखिएको छ । चालु आव तीन महिनामा जीवन बीमा कम्पनीहरूले १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । तर, निर्जीवन बीमा कम्पनीहरूले भने ९७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा ३२.८३ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीहरूले नाफा बढाएका छन् । गत आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले १ अर्ब २९ करोड ४८ लाख ५० लाख रुपैयाँ नाफा कमाएका थिए ।
यता, निर्जीवन बीमा कम्पनीहरूले तीन महिनामा १७.५२ प्रतिशतले नाफा वृद्धि गरेका हुन् । गत आवको पहिलो त्रैमासमा कम्पनीहरूले ८३ करोड ३३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । गत असोज मसान्तसम्ममा ओरियण्टल र नेशनल लाइफको नाफा भने घटेको छ ।
हिमालयन लाइफ र सिद्धार्थ प्रिमियर बने धेरै कमाउने कम्पनी, वृद्धिदरमा कुन कुन अगाडि ?
चालु आवको तीन महिनामा जीवन बीमा तर्फ हिमालयन लाइफ र निर्जीवन बीमा तर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएका छन् ।
तीन महिनामा हिमालयन लाइफले २४ करोड १३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । हिमालयन लाइफ साबिकको प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो । मर्जरपछि कम्पनीको व्यवसायमा सिनर्जी देखिएको छ । यता, सिद्धार्थ प्रिमियर पनि मर्जपछि आक्रामक रूपमै अघि बढेको छ । निर्जीवन तर्फ सिद्धार्थ प्रिमियरले सबैभन्दा धेरै नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको नाफा ७६.१४ प्रतिशतले बढेर १४ करोड माथि पुगेको छ ।
चालु आवको पहिलो त्रैमासमा जीवन बीमा तर्फ नाफा वृद्धिदरमा राष्ट्रिय बीमा संस्थान (१०४०.२२ प्रतिशत), सूर्यज्योति (२६३.३२ प्रतिशत), सानिमा रिलायन्स (१२८.३८ प्रतिशत), लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल (८८.५४ प्रतिशत) अगाडी छ ।
कसले कति कमाए नाफा ?

यता, निर्जीवन बीमामा भने मर्जरमा गएका कम्पनीहरू नै अगाडि देखिएका छन् । नाफा वृद्धिदरमा युनाईटेड अजोड (१८० प्रतिशत), राष्ट्रिय बीमा कम्पनी (१५५.६० प्रतिशत), नेको इन्स्योरेन्स (१४९.५१ प्रतिशत), नेपाल इन्स्योरेन्स (१३५ प्रतिशत) र सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडी छन् । गत वर्षको तुलनामा दुई वटा निर्जीवन बीमा कम्पनीको नाफा भने घटेको छ । समीक्षा अवधिमा ओरियण्टलको नाफा ७०.७३ प्रतिशत र नेशनल इन्स्योरेन्सको नाफा ९८.६२ प्रतिशतले घटेको छ ।
कसले कति कमाए नाफा ?
